विद्यालय कर्मचारीका दु:ख

३ सयबाट सुरु गरेकाे जागिरकाे तलब ३८ वर्ष पुग्दा पनि ८ हजारमै सिमित

मिनु गोले

काठमाडौं
BreaknLinks
BreaknLinks

सिन्धुपाल्चाेकको सदरमुकाम चौताराका ५९ वर्षीय टङ्क कार्की ललितपुरको श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन्। उक्त विद्यालयमा उनले सरसफाइदेखि बालबालिकाको स्याहारसुसारसम्मको काम गर्छन्।

सामान्य पढाइ लेखाइ भएका कार्कीले उक्त विद्यालयमा काम गर्न थालेको ३८ वर्ष पुग्यो। यस अवधिमा उनले स्याहारसुसार गरेका बालबालिकाहरु अहिले देशका उच्च निकायहरुमा पुगिसकेका छन्।

उनै कार्कीले विद्यालयमा स्याहारसुसार गरेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको नेतृत्व गरिरहेकी छन्। उनले प्रधानमन्त्रीका छोरा प्रकाश दाहाललाई पनि स्याहारसुसार गरेका थिए।

२१ वर्षकाे उमेरमा विद्यालयकाे कार्यलय सहयोगीको काम सुरु गरेका कार्कीले यो अवधिमा रेणु र प्रकाशजस्ता धेरैलाई स्याहारसुसार गरे। आफूले देखदेख गरेका बालबालिका अनेकौँ क्षेत्रमा सफल भइरहँदा टंकले भने आफ्नो जागिरे जीवनलाई असफल मान्छन्।

कार्कीले ३ सय रुपैयाँबाट आफ्नो जागिरे जीवन सुरु गरेका थिए। जीवनको यति लामो समय सोही जागिरमा बिताएका कार्कीको तलब अहिलेसम्म पनि मात्रै ८ हजार छ, जुन राज्यले तोकिदिएको हो। कार्कीको एउटै सपना छ, स्थायी कर्मचारी बनेर अवकाश लिने। कार्कीले जागिरबाट अवकाश पाउन एक वर्ष मात्रै बाँकी छ। त्यसैले उनी जेठ २० गतेबाट सुरु भएको विद्यालय कर्मचारीहरुको आन्दोलनमा सामेल छन्।

३८ वर्ष लामो जागिरे जीवन बिताएर पनि सडक आन्दोलनमा उत्रिन बाध्य उनी भन्छन्,‘मैले स्याहार गरेकी रेणु भरतपुरकी मेयर छिन्, प्रचण्डका छोरा स्वर्गमा पुगे तर हामी नर्कमै छौँ।’ हुन पनि उनले स्थायी जागिरे बन्ने रहरमा कठिन जीवन ब्यतित गरिरहेका छन्। अहिलेसम्म पनि ८ हजार तलबमा काम गरेका उनले जीवनमा अनेकौँ अभाव भोगे।

कार्कीजस्तै देशभरका ३५ हजार बढी विद्यालय कर्मचारीले यस्तै समस्या भोगिरहेका छन्। त्यसैले अहिले देशभरका कर्मचारीहरुले काठमाडौँमा निरन्तर आन्दोलन गरिरहेका छन्। आफ्नो काम र जिम्मेवारी अनुसारको सेवा सुविधा नपाएको उनीहरुको गुनासो छ।

आफूहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने, तलब सुविधामा वृद्धि गर्नु पर्ने र ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई शिक्षकसरह सेवा दिएर स–सम्मान अवकाश दिनुपर्ने उनीहरुको माग छ।

विद्यालय कर्मचारीहरुले गत वर्ष पनि आन्दोलन गरेका थिए। तर, सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा मागहरु समावेश गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरेका थिए। तर, यस पटकको बजेटमा ती मागहरु समावेश नभएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

सरकारले आफ्ना माग पूरा नगरे आन्दोलन कायम राख्ने कार्की बताउँछन्। ‘हामी यहीँ पानीले भिजेर, घामले डढेर मर्छाैँ बरु तर सरकारले माग पूरा नगरिदिएसम्म यहाँ छाड्ने वाला छैनौँ,’ कार्कीले भने।

भिडियाे :

प्रकाशित मिति: : 2023-07-01 14:56:00

प्रतिकृया दिनुहोस्