कोरोना कहर : राजधानीका अधिकांश बजार बन्द, व्यापारिक मल सुनसान (भिडियो) 

डिल्ली पाण्डे

काठमाडाैं

चीनको वुहानबाट सुरु भएको कारोना भाइसरको महामारी संसारभरि फैलिएको छ। संसारका प्रमुख शहरहरु लगभग ठप्प छन्। 

नेपालको राजधानी काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्र न्यूरोड बन्दप्रायः छ। उपत्यकाभरिका व्यापारीक मलहरु बन्द भएका छन्। 

दैनिक हजारौँ मानिसको आवतजावत हुने स्थानहरु सुनसान भएका छन्। काठमाडौंको सुनधारामा रहेको सिभिल मल, न्यूरोड क्षेत्रको पिपुल्स प्लाजा, ताम्राकार कम्पलेक्सका सबै पसल बन्द छन्। सबैभन्दा पुरानो सुपरमार्केट बिशालबजार पनि बन्द छन्। सिटी सेन्टर पनि बन्द छ।  दरबार मार्गका सटर पनि खुलेका छैनन्।  पुरानो बजार भोटाहिटी, असन–इन्द्रचोक, मखन क्षेत्र पनि बन्द छ। 

न्यूरोड तथा असन–इन्द्रचोक क्षेत्रमा प्रहरी माइकिङ गर्दै अत्यावश्यकबाहेक पसलहरु बन्द गर्न अनुरोध गरेको छ। 

बन्द सिभिल मलमा भेटिएका सुरक्षा गार्ड राजेन्द्र चौधरीले दैनिक १० हजार बढी मानिस आउने–जाने मल अहिले बन्दजस्तै भएको बताए। मलका केही पसल खुले पनि कोही ग्राहक नआउने उनले बताए। कोही आइहाले पनि बाहिरका पसल बन्द भएकाले बाहिरैबाटै बन्द देखेर फर्कने गरेको चौधरीले जानकारी दिए। 

त्यसै गरी, सिभिल मलको आँगन रेष्टुरेन्टमा यसअघि औषत दैनिक ३ लाख व्यापार हुन्थ्यो। अहिले दैनिक तीन सयको  मात्र व्यापार हुने गरेको जानकारी दिए।  

त्यस्तै, दैनिक लाखौँ मान्छे किनमेलका लागि आवतजावत गर्ने न्यूरोड क्षेत्रका पसलहरु बन्द छन्। मान्छेको चहलपहल पनि कम छ। 

 

प्रकाशित मिति: : 2020-03-24 02:28:09

प्रतिकृया दिनुहोस्