घरमा सामान सकिए प्रहरीलाई सम्झनू, तर आफैँ बाहिर ननिस्कनू : डीआईजी पोखरेल

डिल्ली पाण्डे

काठमाडाै‌ं

सरकारले मंगलबारदेखि सुरु गरेको एक साता लामो 'लकडाउन'लाई उपत्यकाबासीले सहयोग गरेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारले ‘लकडाउन’ गर्नुपर्ने परिस्थितिबारे उपत्यकाबासीले जानकार भएका कारण कुनै अप्ठेरो स्थिति नआएको बताए। 

बिएल नेपाली सेवासँग कुरा गर्दै डीआईजी पोखरेलले भने, ‘कोरोना भाइरससँग लड्न सरकारले थालेको अभियानलाई नागरिकले बुझेर सहयोग गर्नुभयो। यो एकदमै राम्रो हो।’

हरेक नागकरिकले आफ्नो भूमिका पूरा गरेको भन्दै उनले कुनै कुराको कमी भएमा प्रहरीले सामान घरमा पुर्‍याइदिने पनि बताए। 

‘आमनागरिकले लकडाउनलाई समर्थन गर्नुभएको छ, यो कुरादेखि राज्य अत्यन्तै खुशी छ। सबैले कुरा बुझेर परिस्थितिको सामना गरिदिनुभएको छ। यस्तो बेलामा जस्तोसुकै समस्या आइपरे पनि राज्यले सहयोग गर्छ,’ डीआईजी पोखरेलले भने। 

उनले बजारमा दैनिक उपभोग्यवस्तुको कुनै कमी नआएकाे समेत जानकारी दिए।  ‘कोही आत्तिनु पर्दैन। आवश्यक परेको खण्डमा प्रहरीले टोल टोलमा सामान पुर्याउन समेत तयार छ,’उनले भने।
 
कोरोना भाइरससँग लड्न राज्यले थालेको अभियानलाई अझै बुझेर सबै एकजुट हुनुपर्ने बताउँदै डीआईजी पोखरेलले भने, ‘जरुरी कामबाहेक घरबाहिर  ननिस्किनुस्।’ 

प्रकाशित मिति: : 2020-03-25 08:05:00

प्रतिकृया दिनुहोस्