झापाका सबै छापा बन्द, कारवाहीमा २०० सवारी साधन

रासस

सुरुङ्गा

कोरोना भाइरस सङ्क्रमणका कारण झापाबाट प्रकाशित पत्रपत्रिका आजबाट बन्द भएका छन्।

पत्रिका प्रकाशन तथा वितरणमा समस्या भएको भन्दै झापाका दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिए। 

झापाका सम्पादक/प्रकाशकले असहज परिस्थितिमा पत्रिका प्रकाशन गर्न कठिनाइ भएकाले बन्द गर्नुपरेको भन्दै विज्ञप्तिसमेत निकालेका छन्। 

विज्ञप्तिमा बन्द भएका पत्रिकाको सूचना विभाग र प्रेस काउन्सिलको वर्गीकरण मूल्याङ्कनमा सहजीकरण गर्न नेपाल पत्रकार महासङ्घलाई आग्रह गरिएको छ। 

झापाका दैनिक तथा साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई अलग अलग ध्यानाकर्षण पत्र दिएका छन्।

 झापामा नौ वटा दैनिक पत्रिका छन् भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए।

कारवाहीमा २०० सवारी 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले गरेको लकडाउन अवज्ञा गर्ने १९५ सवारीसाधन कारवाहीमा परेका छन्।

 एक सय मोटरसाइकल चालक, ६५ वटा तीन पाङ्ग्रे टेम्पो र चार पाङ्ग्रे साना ठूला सवारी ३० वटाभन्दा बढीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगूले नियन्त्रणका लिएका सबै सवारीलाई कारवाही गर्दै कोरोनाका विषयमा सम्झाइबुझाइ गरेर छाडिएको बताए।

झापाका १८ वटा ट्राफिक पोस्टबाट लकडाउन व्यवस्थित बनाउन ट्राफिक प्रहरीले काम गरिरहेको प्रहरी निरीक्षक जबेगूले बताए। सरकारको निर्णय कार्यान्वयन गराउन मानिसको भीडभाड हुने स्थानमा प्रहरीको बाक्लो उपस्थिति छ।

प्रकाशित मिति: : 2020-03-25 07:33:53

प्रतिकृया दिनुहोस्