जनताका समस्या समाधान गर्न व्यवसायीको प्रतिबद्धताः समिति गठन हुने

रासस

काठमाडौँ

लकडाउनका समयमा राष्ट्र र सरकारलाई सहयोग गर्न तथा आपूर्तिलगायत विषयमा जनताका समस्या समाधान गर्न उद्योगव्यवसायीले प्रतिबद्धता जनाएका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड र विभिन्न उद्योग व्यवसायीबीच राज्यमन्त्रीकै कार्यकक्षमा बुधबार र आज भएको छलफलमा उनीहरुले लकडाउनका समयमा गरीब, विपन्न तथा मजदूर आदिका समस्या समाधान गर्न आफूहरु दृढ भएको प्रतिबद्धता व्यक्त गरे।

देशमा आवश्यक औषधिलगायत उपचारका उपकरण व्यवस्थापन गर्ने, गरीब, निमुखा तथा सङ्कटमा परेका जनतालाई खाद्यान्न र अन्य सामग्री सुलभ व्यवस्थापन गर्ने, खाद्यान्न तथा अत्यावश्यक वस्तुको उत्पादन, आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने विषयमा उनीहरुबीच छलफल भएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ। 

आर्थिक क्षेत्रमा पर्न सक्ने सम्भावित असरबारे अध्ययन गरी त्यसको निराकरण गर्न सम्बन्धित निकायसँग छलफल गरी सल्लाहसुझाव दिने तथा नेपाल सरकारको अधीनमा रही सरकारको निर्देशनानुसार समन्वयकारी र सहयोगी भूमिका निर्वाह गर्ने विषयमा पनि उनीहरुबीच छलफल भएको थियो।

उद्योगव्यवसायीले यस समयमा सरकारलाई सहयोग र सल्लाह दिन  बुद्धिजीवी, मिडिया, नागरिक समाज र जनतालाई आह्वान पनि गरेका छन्। 

कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सरकारले गरेको लकडाउनका समयलाई सम्बोधन गर्नका लागि उद्योग व्यवसायीहरुको एक समिति शुक्रबार गठन हुने पनि थाहा भएको छ। 

छलफलमा उद्योगव्यवसायी पवनकुमार गोलियान, सतीशकुमार मोर, शेखर गोल्छा, निर्वाण चौधरी, सुलभ अग्रवाल, प्रदीपकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2020-03-27 07:28:39

प्रतिकृया दिनुहोस्