जनप्रतिनिधिको एक महिनाको सुविधा कोरोना कोषमा

रासस

खोटाङ

विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम सामना गर्न साकेला गाउँपालिकाका जनप्रतिनिधिले आफ्नोे एक महिनाको पारिश्रमिक सरकारको कोरोना रोकथाम कोषमा जम्मा गर्ने भएका छन्। 

गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित पाँच वटै वडाका वडाध्यक्षले गाउँपालिकामा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा आफूले पाउने सेवासुविधा जम्मा गर्ने भएका हुन्।
 
गाउँपालिकाका २९ जना कार्यपालिका सदस्यको चैत महिनाको सेवासुविधा कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए। 

'विपद् व्यवस्थापन गर्न सबैको एकता अपरिहार्य छ', उनले भने, 'गाउँपालिकामा कार्यरत निजामती कर्मचारी तथा शिक्षकलाई पनि पाँच÷पाँच दिनको सेवासुविधा कोषमा जम्मा गर्न आग्रह गरिएको छ।'

साकेला गाउँपालिकामा शिक्षक सेवाअन्तर्गत २०० तथा निजामती कर्मचारीतर्फ ४० कार्यरत रहेको प्रशासन प्रमुख सुवास राईले जानकारी दिए।

त्यसैगरी तावाताल निर्माणको लागि छुट्टिएको रु ७० लाख बजेटबाट २० प्रतिशत रकमसमेत रकमान्तर गरी सोही कोषमा राखिने भएको छ। 

आपतकालीन अवस्थामा खर्च गर्ने गरी उक्त कोषमा रकम रकमान्तर गरिने भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईले बताए। 

गाउँपालिकाको कार्यालयमा भएको बैठकमा गाउँपालिका प्रमुख खड्काले घर गएका र कार्यालयमा अनुपस्थित भएका सबै कर्मचारीलाई आगामी दिनमा अनिवार्यरूपमा कार्यालयमै तैनाथ रहन निर्देशनसमेत दिएका छन्।

प्रकाशित मिति: : 2020-03-28 00:37:24

प्रतिकृया दिनुहोस्