सन्दिप भण्डारी मृत्यु प्रकरण :

नेकपा नेता बास्कोटालाई उन्मुक्ति दिन खोजेको भन्दै पीडित परिवार आन्दोलित 

फाइल तस्वीर
फाइल तस्वीर

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का १९ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृत्यु प्रकरणका दोषीलाई प्रहरी प्रशासनले उन्मुक्ति दिन खोजेको भन्दै पीडित परिवार आन्दोलिन बनेका छन्।

पीडित परिवारले नेकपा (ओली समूह) का केन्द्रीय सदस्य युवराज वास्कोटालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै इलाका प्रहरी कार्यालय पथरीमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले दोषीलाई पक्राउ गरी कानुनी कार्वाहीमा नल्याएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने जनाएका छन्।

सन्दिपका बुवा गोपाल भण्डारीले नेता बास्कोटाको घरमा छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथी छानविन गर्न माग गरेका छन्।

नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनको आरोप छ। उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए।

केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ।

बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए।

घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए।

बास्कोटाविरुद्ध किटानी जाहेरी दिँदासमेत छानविन नगरेपछि आन्दोलनमा उत्रन बाध्य भएको पीडित परिवारले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-25 15:57:00

प्रतिकृया दिनुहोस्