प्रकोप व्यवस्थापन कोष मजबुत बनाउँदै तिलोत्तमा

रासस

रुपन्देही

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगरप्रमुख वासुदेव घिमिरेले रु ५० हजार र उपप्रमुख जगेश्वरदेवी चौधरीले रु १० हजार प्रदान गरेका छन्।
      
नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए। 

प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै रु ८० लाख रहेकामा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तीमा रु एक करोड पु¥याउने लक्ष्य राखिएको छ।
 
नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले रकम दिन थालेका छन्। होराइजन जिबिएस स्कूलले रु एक लाख एक हजार  र प्रदीपनगर निवासी समाजसेवी चिन्तामणि चालिसेले कोषमा रु पाँच हजार ५०० दिने घोषणा गरेका छन्। गरपालिकाले एनआईसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ।
 
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगरप्रमुख घिमिरेले बताए।

कोरोना सङ्क्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं १ स्थित शङ्करनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ। जहाँ अहिले १९ जना बसेका छन्। 

त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भइरहेको छ। यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, दुई किलो दाल र एक किलो नुन दिने घोषणा गरेको छ। 

प्रकाशित मिति: : 2020-03-28 01:21:26

प्रतिकृया दिनुहोस्