कविता

अन्धाधुन्ध (बर्मा) वर्षिरहेको गोली !

सुधा अत्रि

रंगुन, म्यान्मार
Breaknlinks
AFP

त्याे पर क्षितिजमा देखिएको धुँवाको कालो मुस्लो,
वसन्तको सूर्यतापले 
वनमा लाग्ने डढेलाे हैन 

म्यान्मालीहरूका लागि
खुन पसिनाले मूल्य चुकाएर 
स्थापित भएका साना–ठूला घरहरू
रङ्गिन सपनाहरू खरानी भएका छन्।
त्यसैले पर देखिएको 
रातो क्षितिज सुन्दर छैन आज


क्रान्तिकारी केटी: कलम थन्काएर बन्दुक पड्काउँदै


बरू माथि–माथि उठ्दै गरेका 
मुस्लो र राखहरूले
मुटुभित्र असह्य वेदना दिएको छ ।
हाे ! 
एक–एक बाल्टी पानी 
गाउँले सबैले हातमा लिएर  
कुदेर निभाइ दिन सक्छन्। 

तर! अन्धाधुन्ध वर्षिरहेको गोलीले 
कस्को छाती फोर्ने हो थाहा छैन।
नाजुक र भयावह स्थिति 
वरिपरी घेरिएकोले
घर, टोल र सिङ्गो वस्ती 
राख भएको 
मौन दर्शक बन्नुपर्ने बाध्यता छ।


सैन्य क्रूरता खपेर बाँचेका बर्मेलीहरू


आफ्नै आँखा समक्ष 
आफ्नो विगत, वतर्मानको साक्षी भएको
एउटा घरको कुना कुनाका ती अमूल्य सम्झनाहरू 
खरानी सङ्गै माथि–माथि आकाश छुन लम्किदै छन्।

विश्वमा मानवता नभएका एक हुल मानिस यथावत रहेको प्रमाण 
सिङ्गो गाउँ डढाइरहेका छन् 
क्रूर सेनाहरू...

घरहरू फेरि बनाउन हुन्छ
गाउँ फेरि बसाल्न सकिन्छ
तर! यी निर्ममताका प्रमाणहरू 
मृत्युका ताण्डपहरू 
इतिहासको पानामा 
कालो दाग बनिरहने छ,  सँधै–सँधै...

प्रकाशित मिति: : 2022-04-16 07:14:00

प्रतिकृया दिनुहोस्