लकडाउन : मानसिक अस्पतालले घर पठाएन भर्ना भएका बिरामी

रासस

काठमाडौँ

लगनखेलस्थित मानसिक अस्पतालले बिरामीलाई घर फर्कन कठिन नहोस् भन्दै यहाँ भर्ना भएका बिरामीलाई घर पठाएको छैन। 

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गत मङ्गलबारदेखि ‘लकडाउन’ गरेसँगै अस्पतालले निको भइसकेका बिरामीलाई समेत घर नफर्काएको हो। 

काठमाडौँ उपत्यकाको पनि नजिकै घर भएका थोरै सङ्ख्यामा बिरामीलाई ‘लकडाउन’ शुरु हुनु पहिले नै पठाइसकिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्स डा अनन्तप्रसाद अधिकारीले बताए। 

अहिले यातायातका साधन नपाउने हुँदा अस्पतालमा रहेका बिरामीलाई यहीँ राखिएको हो। उनले भने, 'उहाँहरुलाई हामी लकडाउन सकिएपछि नै डिस्चार्ज गर्नेछौँ।' अस्पतालमा भर्ना हुने बिरामीका लागि ५० श्यया रहेकामा हाल झण्डै ३५ बिरामी रहेका छन्। 

अस्पतालले कुनै पनि बिरामी अस्पताल आएपछि जटिल समस्या भएमा भर्ना गरेर केही समय राखेर उपचार गरिँदै आएको छ। अस्पतालले नियमित औषधि सेवन गरिरहेका बिरामीलाई अहिले अति आवश्यक नभई नआउन भनेको छ।

 आवश्यक पर्दा फोनबाट समेत परामर्श दिइरहेको डा अधिकारीले बताए। उनले भने, 'औषधि सेवन गरिरहेका वा निको भएका बिरामी र अरु नागरिकले पनि आवश्यक पर्दा परामर्श लिइरहनुभएको छ।'

प्रकाशित मिति: : 2020-03-28 02:43:48

प्रतिकृया दिनुहोस्