अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे

एजेन्सी

काठमाडाै‌ं

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। शुक्रबार झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख नाघेको हो।

पछिल्लो २४ घण्टामा कम्तिमा १६ हजार ९६१ जनामा नयाँ संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक लाख दुई हजार ३९६ पुगेको हो। यस्तै मृत्यु हुनेको संख्या १६ सय ७ पुगेको छ।

अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या विश्वमै सबैभन्दा धेरै पुगेको छ। इटालीमा संक्रमितको संख्या ८६ हजार ४९८ तथा चीनमा ८१ हजार ३४० रहेको छ।

यस्तै स्पेनमा ६५ हजार ७१९, जर्मनीमा ५० हजार ८७१, फ्रान्समा ३२ हजार ९६४ र इरानमा ३२ हजार ३३२ जनामा संक्रमण पुष्टि भएको छ।

मृत्यु हुनेको संख्या इटालीमा सबैभन्दा धेरै छ। इटालीमा अहिलेसम्म ९ हजार १३४ जनाको मृत्यु भएको छ। स्पेनमा पाँच हजार १३८, चीनमा तीन हजार २९२, इरानमा दुई हजार ३७८ तथा फ्रान्समा १९ सय ९५ जनाको मृत्यु भएको छ।

विश्वभर अहिलेसम्म पाँच लाख ९४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये २७ हजार २५१ जनाको मृत्यु भएको छ। यसैगरी अहिलेसम्म एक लाख ३२ हजार ६२२ जना निको भएर घर फर्किएका छन्।
 

प्रकाशित मिति: : 2020-03-28 19:39:27

प्रतिकृया दिनुहोस्