कोरोनाबारे जानकारी दिन आजदेखि नयाँ वेब पोर्टल एप्लिकेशन

सरकारले कोरोना नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा ल्याउने भएको छ। कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचना उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 

स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा खेमबहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आउने बताए। उनले भने, ‘सूचना र ज्ञानसीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौं । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउनेछ।’ 

डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्यक्षेत्रमा आबद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समाधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए। 

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारीहरु ल्याइरहेको छ। यसैगरी यस वेबसाइटमार्फत् कोभिड नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सीप आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’ उनले भने। 

आइमार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याउन लागिएको लर्निङ पोर्टलमार्फत् सरकारले डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई अनलाइन तालिमको व्यवस्थासमेत गर्ने जनाएको छ।

डाँफे हेल्थ डट कम लग इन गरेपछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमाफ्रत् युजर आईडी तथा पासवर्ड बिना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए। 

उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वास्थ्यकर्मीहरुले प्रमाणित सूचना तथा जानकारी पाउने बताए। 

प्रकाशित मिति: : 2020-03-28 22:40:41

प्रतिकृया दिनुहोस्