निर्वाचन विशेष

दाङ-३ : माओवादीको साथ दिपक गिरीलाई कति फलिफाप? 

BreaknLinks
BreaknLinks

दाङ निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका सदस्यका लागि १६ जना चुनावी मैदानमा छन्। जसमा ६ जना स्वतन्त्र र १० जना पार्टीबाट उम्मेदवार भएका छन्।

क्षेत्र नम्बर– ३ मा प्रतिनिधिसभाका लागि १६ जना चुनावी मैदानमा भए पनि एमालेबाट उम्मेदवारी भएकी पार्टीकी केन्द्रीय सदस्य कोमल वली र गठबन्धनबाट उम्मेदवार भएका कांग्रेस पार्टीका केन्द्रीय सदस्य दिपक गिरीबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

अझ रोचक त के देखिन्छ भने २०७४ को निर्वाचनमा काँग्रेसको बलियो क्षेत्र मानिने क्षेत्र नम्बर ३ बाटै नराम्रोसँग हार बेहोरेका दिपक गिरीले जित्लान् कि हार्लान् भन्ने छ। ०७४ को निर्वाचनमा माओवादी र एमालेबीच चुनावी तालमेल हुँदा दिपकले काँग्रेसको बलियो क्षेत्र मानिने ठाउँमा नै नराम्रोसँग हार बेहोर्नु परेको थियो।

गिरीले माओवादीको साथ पाएका एमालेका हिराचन्द्र केसीसँग ६ हजार मतान्तरले हार बेहोरेका थिए। गिरीले ३३ हजार ७ सय ३० मत प्राप्त गर्दा केसीले ४० हजार २ सय ८७ मत प्राप्त गरी निर्वाचित भएका थिए।

०७४ को निर्वाचनमा एमालेसँग हार बेहोरेका उनै गिरी अहिले भने माओवादीको साथ लिएर चुनावी मैदानमा छन्। ०७४ मा एमालेलाई माओवादीको मात्र साथ थियो। तर अहिले गिरीलाई माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत ५ दलको साथ रहेको छ। जसले गर्दा गिरीलाई मंसिर ४ फलिफाप हुन देखिन्छ।

क्षेत्र नम्बर–३ यसै पनि कांग्रेस बलियो मानिने क्षेत्र हो र अन्य दलको पनि साथ हुँदा गिरीलाई निर्वाचन जित्न सहज हुने कांग्रेस नेताहरु बताउँछन्।

यता एमालेबाट उम्मेदवार भएकी कोमल वली पनि कमजोर भने देखिँदिनन्। पहिले क्षेत्र नम्बर–३ कांग्रेसको बलियो क्षेत्रका रुपमा हेरिए पनि पछिल्लो समय कमजोर भने देखिँदै गएको छ। एमालेको प्रभाव यस क्षेत्रमा राम्रै देखिन्छ।

पाँच दलीय गठबन्धन हुँदासमेत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा एमालेले सहज जित निकालेको थियो। यसैगरी दंगीशरण र बबई गाउँपालिकामा पनि आफ्नो प्रभाव राम्रो रहेको दाबी गर्दै एमाले पनि चुनाव जित्नेमा ढुक्क देखिन्छ।

अघिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा बबई र दंगीरणमा एमाले एक्लैले जितेको पनि थियो। तर अहिले यी पालिका एमालेले गुमाएको भए पनि आफ्नो जनमत कायमै रहेको भन्दै वलीले मंसिर ४ को प्रतिनिधिसभा निर्वाचन जित्ने कुरामा कुनै शंका नरहेको एमालेका एक जिल्ला नेताले बताए।

यस्तै वली कलाकारिता क्षेत्र हुँदै सञ्चारकर्मीका रुपमा काम गरिसकेको र पपुलर उम्मेदवार भएकाले पनि उनलाई चुनाव जित्नमा केही सहज देखिन्छ। अर्कोतर्फ कांग्रेसभित्रको गुटबन्दीको फाइदा वलीलाई हुने सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन्।

क्षेत्र नम्बर–३ मा दुई भाइ दिपक गिरी र गेहेन्द्र गिरीबीच सधैं प्रतिस्पर्धा रहँदै आएको छ। गठबन्धन हुँदासमेत गएको वैशाखमा भएका स्थानीय तहको निर्वाचनमा गेहेन्द्र गिरीले तुलसीपुरको मेयरमा हार बेहोरेका थिए। हार बेहोर्नुका पछाडि दिपक पक्षको हात रहेको गेहेन्द्र पक्षले आरोप लगाउँदै आएको छ।

फेरि पनि मंसिर ४ को निर्वाचनमा यी दुईबीचमा अन्तरघात हुन सक्ने कतिपयको आँकलन छ। यदि त्यसो भएमा एमालेबाट उम्मेदवार भएकी वलीलालाई निर्वाचन जित्नमा सहज हुने देखिने राजनीतिक वृत्तमा चर्चा हुने गर्छ।

यस्तो छ अंक गणित

निर्वाचन क्षेत्र नम्बर–३ मा ४ वाटा स्थानीय तहहरु रहेका छन्। जससमध्ये गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाबाहेक अन्यमा काँग्रेसले एकल जित निकालेको थियो।

पाँच दलीय गठबन्धन हुँदासमेत तुलसीपुरमा हार बेहोरेको कांग्रेसले बबई, शान्तिनगर र दंगिशरण गाउँपालिकामा प्रमुख, उपप्रमुख दुबैमा एकल जित निकालेको थियो। बबई गाउँपालिकामा कांग्रेसले जितेको भए पनि कार्यपालिकामा एमालेको बहुमत रहेको छ। यस पालिकामा एमालेले ३ वडा जित्दै बहुमत कायम गरेको हो।

यद्यपि बबई गाउँपालिकामा एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा एकल जित निकालेको थियो। यस पटक पार्टीभित्रको अन्तरघातका कारण यहाँ आफ्नो पार्टीको प्रभाव राम्रो हुँदा पनि हार बेहोर्नु परेको एमाले नेताहरु बताउँछन्।

यस्तै शान्तिनगरमा एमाले कमजोर पालिकाका रूपमा हेरिन्छ। यहाँ कांग्रेसको राम्रै प्रभाव भएको क्षेत्र हो। स्थानीय तहको निर्वाचनमा कांग्रेसले यहाँ एकल जित निकाले छ। शान्तिनगरमा एमालेले मात्र २ वटा वडामा जितेको छ। शान्तिनगरमा एक वटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए।

यस्तै दंगीशरण गाउँपालिकामा पनि कांग्रेसले नै जितेको छ। यसमा एमालेले ९ वटामा ४ वटा वडामा जितेको छ। अन्य वडाहरु गठबन्धनकै दलहरुले जितेका छन्।

अघिल्लो ०७४को निर्वाचनमा यस पालिकामा एमालेले जितेको थियो। यहाँ पनि पार्टी अन्तरघात भएकाले गएको वैशाखको स्थानीय तहको निर्वाचनमा हार बेहार्नु परेको एमाले नेताहरुले बताउँछन्।

तुलसीपुर उपमहानगरपालिकामा क्षेत्र नम्बर–३ अन्तरगत पर्ने १५ वटा वडाहरूमध्ये एमालेले ८ वटा र गठबन्धनले ७ वटा जितेका छन्। एमालेका नेताहरू तुलसीपुर जितेको र बबई, दंगीशरणमा आफ्नो प्रभाव रहेको आँकलनसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जित्नेमा दाबी गर्छन्। यसरी स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने गठबन्धन र एमालेका बीचमा प्रतिस्पर्धा देखिन्छ।

प्रकाशित मिति: : 2022-10-14 10:33:00

प्रतिकृया दिनुहोस्