कोभिड–१९ः टोखामा ३८ श्ययाको क्वारेन्टाइन निर्माण

रासस

काठमाडौँ

विश्वमा फैलँदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर टोखा नगरपालिकाले ३८ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ। 

टोखा नगरपालिकाले तिलिङ्गाटार माध्यमिक विद्यालयमा २५, टोखा प्राथमिक स्वास्थ्य केन्द्र टोखा बजारमा १० श्यया र झोर स्वास्थ्य चौकीमा तीन श्ययाको क्वारेन्टाइन निर्माण गरेको हो। 

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ बाट हुने सम्भावित सङ्क्रमणलाई रोक्न टोखा नगरपालिकाले आवश्यक तयारी पूरा गरिरहेको बताए। 

'टोखा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेसन वार्डसमेत स्थापना गर्नका लागि नगरपालिकाले आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ' उनले भने। 

आवश्यकताअनुसार सामुदायिक तथा निजी विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरी टोखा नगरपालिकाले काम गरिरहेको नगरप्रमख अधिकारीको भनाइ छ। 

टोखाले नगरपालिकाभित्रका २० स्थानमा हात धुनका लागि पानीका धारासमेत जडान गरिसकेको छ। नगरपालिकाका सबै चोकमा पानीका धारा पुग्नेगरी नगरपालिकाले काम शुरु गरेको हो। 

यस्तै, टोखाले नगरपालिकाभित्र भर्खरै विदेशबाट आएका व्यक्तिको लगत सङ्कलन कार्यसमेत अगाडि बढाएको छ। टोखाका नगरप्रुमख अधिकारीले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनका लागि सबै वडालाई पत्राचार गरिएको जानकारी दिए। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन्। 

टोखा नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण देखिए तत्काल अस्पताल लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ। 

यस्तै, टोखा नगरपालिकाभित्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसमेत सञ्चालनमा रहेको छ । उक्त अस्पतालले ३० वेडको क्वारेन्टाइन निर्माण गरिसकेको अस्पतालका अध्यक्ष दीपक कुँवरले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-29 01:13:25

प्रतिकृया दिनुहोस्