स्वास्थ्यको सूचना लिन बूढानीलकण्ठमा हटलाइन

रासस

काठमाडौँ

कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन स्वास्थ्य अवस्था, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका बारेमा सूचना लिन बूढानीलकण्ठ नगरपालिकाले सातवटा हटलाइनको व्यवस्था गरेको छ।

नगरपालिकाको कार्यालय र साविकका छ गाउँ विकास समितिमा एक/एक गरी सात हटलाइन सेवा शुरु गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए। 

हटलाइनबाट दिउँसो सूचना लिने गरिएको छ। सूचना लिएर आवश्यक सेवा दिन सजिलो हुने भएकाले यस्तो व्यवस्था गरिएको हो। 

विदेशबाट आएका ३५ जना नगर क्षेत्रमा आफ्नै घरमा एकान्तवासमा छन्। विदेशबाट आई घरमै एकान्तवास बसेकाका बारेमा नगरपालिकाले नजिकबाट निगरानी गरिरहेको छ। 

नगरपालिकाको वडा नं। ७ हात्तीगौँडामा रहेको छहारी भवन भनिने महिला अधिकारका लागि एकल महिलाको भवनमा ५० श्ययाको क्वारेन्टाइन बनाउन सकिने गरी तयारी गरिएको नगर प्रमुख खरेलले बताए।

मौसमी ज्वरो रुघाखोकी भएकालाई नगर क्षेत्रका छ वटा स्वास्थ्य चौकी र चार निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। निजी क्षेत्रबाट खुलेका अस्पताल ह्याम्स, न्यूरो, करुणा र कपनले आइसोलेसन श्ययाको व्यवस्था गरेका छन्। 
    
नगरपालिकाको कपन क्षेत्रमा खाद्यान्न नपाइने समस्या हुन थालेको छ। खुलेका खाद्यान्न पसललाई प्रहरीले नै बन्द गराउँदै हिँडेकाले अत्यावश्यक सामग्री पाउन नसकिएको उपभोक्ता रेणुका दवाडीले गुनासो गरे। कपन क्षेत्रमा धेरै मानिस खाद्यान्न पसलमा जम्मा भएकाले प्रहरीले बन्द गराएका हुनसक्ने नगरपालिकाले जनाएको छ।

नगर प्रहरीसमेत खटाएर बिहान बेलुका भीड नगराई तीन फिटको दूरी कायम गरेर खाद्यान्न बिक्री वितरणको व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ। 

ठूला पसलमा कति खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको मौज्दात छ भन्ने पहिचान गर्न नगरपालिकाले काम शुरु गरेको नगर प्रमुख खरेलले बताए।

प्रकाशित मिति: : 2020-03-30 09:42:38

प्रतिकृया दिनुहोस्