धार्चुला नाकामा राेकिएका नेपालीले भने– कि देशभित्र छिर्न देउ, कि गाेली ठाेक! (भिडियो)

श्याम भट्ट

कञ्चनपुर

कोरोना भाइरस संक्रमणको त्रासका कारण भारतबाट लामो दुरी पार गर्दै सुदूरपश्चिमको दार्चुला जिल्लाको नाकामा आइपुगेका नेपालीहरूले देशभित्र प्रवेश नपाएपछि सरकारविरूद्ध नाराबाजी गरेका छन्। 

उनीहरूले ‘कि देशभित्र प्रवेश गर्न देऊ कि गोली ठोकेर मार’ भन्दै सरकारको आलोचना गरेका छन्। 

सुदूरपश्चिमबाट भारतमा रोजगारीका लागि जाने नेपालीहरू विगत सातादेखि नेपाल फर्किने क्रम बढ्दो छ। भारत सरकारले कोरोना भाइरसविरूद्ध लड्न २१ दिनको ‘लकडाउन’ घोषणा गरेपछि नेपालीहरू २–३ दिन हिडेर नेपाल–भारत नाकामा आइपुग्ने क्रम जारी छ। 

शनिबार प्रशासनको रोहवरमा नेपालीहरूलाई छोडेपनि आइतबार भारतमा सार्वजनिक छुट्टी भएको हुनाले भारततर्फ धार्चुला नाका बन्द थियो। 

हाल भारतीय नाकामा ५ सयको हाराहारीमा नेपालीहरू जम्मा भइसकेको स्थानीयले बताए। 

‘सबै नेपालीहरू हत्तोत्साही छन्। उनीहरू नेपाल सरकारविरूद्ध नाराबाजी गरिरहेका छन्,’ उनले भने। आइतबार मात्र बुदिबाट ८८ जना, डिडिहाटबाट १ सय ५६ जना धार्चुला पुगेका थिए। यस्तै, बझाङ नगरपालिका छत्तिसपाथीभराका ३८ जना भारत कोधा, चुलाबुदीबाट आएको, बझाङ बुङल कफलशेरी गाउँपालिकाका ३० जना डिडिहाटबाट आएको बताइएको छ। 

नेपालतर्फ फर्किएका थुप्रै नेपाली अनिदाे र राम्राेसँग खान पनि पाएका छैनन्। उनीहरुले यति ठुलाे माहामारीमा भारतस्थित नेपाली दूतावासले पनि सहयाेग नगरेकाे भन्दै गुनासाे गरेका थिए। आक्राेसित भीडले सरकारविरुद्ध चर्काे नारावाजी गरेका हुन्। 

प्रकाशित मिति: : 2020-03-29 22:31:22

प्रतिकृया दिनुहोस्