कोरोना संक्रमित युवतीको परिवारका सदस्यको ‘थ्रोट स्वाब’ संकलन

बिएल संवाददाता

काठमाडाै‌ं

बागलुङ नगरपालिका ४, कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवारका सदस्यहरुको पनि ‘थ्रोट स्वाब’ लिइएको छ।संक्रमितका बुवा, हजुरबुवा, हजुरआमा, वहिनी, भान्जा र भान्जीको पनि स्वाब लिइएको हो।

धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्यको ‘थ्रोट स्वाब’ संकलन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए। बागलुङमा लिइएको स्बावको सबै नमुना परीक्षणको लागि सोमबार नै पोखरा पठाउने छ। पोखराबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ।

पारिवारिक भेटघाटका लागि दुई महिना अघि बेल्जियम पुगेकी उनी ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन्। कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएकाे हाे।

त्यसयता संक्रमित युवतीको धौलागिरि अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको र पुनः परीक्षणका लागि स्वाब लिइएको मेसु डा. विकले जानकारी दिए।

त्यस्तै दोस्रो संक्रमित चढेकै विमानबाट काठमाडौं आएका अर्का युवकको पनि थ्रोट स्बाव लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरुङले जानकारी दिए। उनले भने, ‘जिल्लाबाट हाम्रो टिम गएर उहाँको स्बाव लिइसकेका छौँ।’
 

प्रकाशित मिति: : 2020-03-30 15:32:28

प्रतिकृया दिनुहोस्