सुकुम्बासी बस्तीका ४१ परिवारलाई खाद्यान्न वितरण

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका –१८ ले सुकुम्बासी बस्तीका परिवारलाई खाद्यान्न वितरण गरेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको ‘लक डाउन’का कारण दैनिक कष्टकर जीवनयापन गरिरहेका नेपालगञ्ज–१८ नयाँगाउँ सुकुम्बासी बस्तीमै पुगेर वडा कार्यालयले खाद्यान्न वितरण गरेको हो। 

वडाअध्यक्ष दीपक बर्माले आर्थिक रुपमा विपन्न सुकुम्बासी परिवारलाई ‘लक डाउन’को समयमा राहात होस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। ‘प्रत्येक परिवारलाई ५ किलो चामल एक किलो दाल, प्याज र दुई किलो आलु सहयोग गरिएको छ,’ उनले भने, ‘दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सुकुम्बासीहरुलाई ‘लकडाउन’का कारण समस्यामा परेको जानकारी प्राप्त भएपनि खाद्यान्न सहयोग गरिएको हो।’ 

यस्तो बेला वडाबासीलाई समस्या नहोस् भनेर वडा कार्यालयले सम्पूर्ण व्यवस्था गरेको समेत उनको भनाई छ। उनका अनुसार त्यहाँका नागरिकलाई सरसफाइमा ध्यान दिन तथा अत्यावश्यक बाहेक अन्य काममा घर बाहिर ननिस्कन आग्रह गरिएको छ। 

वडा अध्यक्ष सहित टोली खाद्यन्न बोकेर गाउँमै पुगेपछि सुकुम्बासी बस्तीका नागरिकहरुले खुसी व्यक्त गरेका छन् । यस अघि उनकै अगुवाईमा उक्त बस्तीमा मास्क र साबुन वितरण गरिएको थियो।

कोहलपुरमा होम डेलीभरीको व्यवस्था

बाँके जिल्लाकै कोहलपुर नगरपालिकामा सर्वसाधारणको सहजताका लागि घरघरमा तरकारी पुर्‍याइने व्यवस्था गरिएको छ। कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि विगत एक हप्तादेखि गरिएको ‘लकडाउन’को मारमा परेका स्थानीयबासीको सहजताका लागि होम डेलीभरी गरिने भएको हो। 

कोहलपुर कृषि हाट बजार समितिले कोहलपुरमा दैनिक चाहिने तरकारी तथा फलफूलको अर्डर आएमा घरमै पुर्‍याउने व्यवस्था मिलाएको जनाएको छ। कृषि हाट बजार कोहलपुरका अध्यक्ष छविलाल भट्टराईका अनुसार आफ्नै सवारी साधन प्रयोग गरी नगरबासीलाई तरकारी होम डेलेभरीको व्यवस्था गरिएको हो। 

‘खुद्रा व्यापारीलाई पसलमै तरकारी पुर्‍याउने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘व्यपारीको अर्डर अनुसार  पसलमै तरकारी उपलब्ध गराइने छ। सर्वसाधारणको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।’

साथै यहाँको स्थानीय सरकारले विपन्नहरुको तथ्यांक संकलन समेत सुरु गरेको छ।
 

प्रकाशित मिति: : 2020-03-30 16:19:41

प्रतिकृया दिनुहोस्