स्थानीय प्रशासनको अघि ज्यान जोखिममा राखेर कालीनदी तर्दै नेपाली 

श्याम भट्ट

कञ्चनपुर

तीन दिनदेखि पश्चिमोत्तर सीमाको अन्तिम सदरमुकाम दार्चुला खलंगाको ठिकपारि भारतीय भूमिमा मुलुक पस्न पाउनुपर्ने भन्दै बसेका ५ सय ५७ नेपालीमध्ये सोमबार तीन जनाले ज्यान जोखिममा राख्दै महाकाली तरेर नेपाल भित्रिँदा प्रहरीले नियन्त्रणमा लिएको छ।  

अति बहाबमा बग्ने नदी तर्नेमा दार्चुला मार्माका रमेशसिंह बिष्ट, दिलाशैली बैतडीका धनसिंह धामी र इन्द्रसिंह खत्री थिए। पछिल्लो तीन दिनयता खलंगापारीको भारतीय भूमिमा भइरहेको गतिविधिका कारण प्रशासनलगायत स्थानीय पनि तनावमा छन्। सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपछि सदरमुकामलाई सेनाको सहयोगमा सेनिटाइजेशन गरिएको छ भने एकै पल्ट यति धेरै मानिस सदरमुकाम प्रवेश गर्ने अवस्था छैन। स्थानीय पनि कोरोनाबाट त्रसित छन्। 

‘विपद् व्यवस्थापन समितिले गृहको आदेशपछि मात्र सीमा पुल खोल्ने र आएकालाई कभर्ड हल मैदानमा चेकजाँच गरी गन्तब्यतिर पठाउने निर्णय गरे पनि ‘लकडाउन’ का कारण सवारी साधनको समेत अभाव छ,’ स्थानीय भोजराज जोशीले भने। 

नदी पारीको अवस्था दिनहुँ तनावग्रस्त बन्दै गएको छ। नेपालीहरू आफ्नो देशमा प्रवेश गर्न पाउनु पर्छ भन्दै नाराबाजी गरिरहेका छन्। सोमबार नदी तरेकालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरूले ढुँगामुडा समेत गरे। नेपालीहरूले बगरको उखरमाउलो गर्मी र कालीको चिसो सिरेटोमा दिन कटाउनु परेको छ। खानेकुराको उस्तै अभावबीच सोमबार भारतीय सुरक्षाकर्मीले खाना बाँडेका थिए। 

बिएल नेपाली सेवालाई प्राप्त जानकारीअनुसार धार्चुलामा फसेका ५ सय ५७ जना मध्ये दार्चुलाका ९४, बैतडीका २ सय, बझाङका १ सय ५८, कैलालीका ७७, डडेल्धुराका २७ र बैतडीका १ जना छन्। यो संख्यामा एक सयजना थपिन सक्ने प्रशासनको भनाई छ। दार्चुला प्रशासनका अनुसार जो नागरिक जुन ठाउँका हुन, उनीहरूलाई क्वारेन्टाइनको व्यवस्था गरेर मात्र भित्र्याउने आदेश गृह मन्त्रालयको रहेकोले अहिलेसम्म सीमा खोल्ने विषयमा निर्णय हुन सकेको छैन। ‘गृहको आदेश पर्खेर बसेका छौं र भारतीय समकक्षी, सुरक्षा र प्रशासनको सम्पर्कमा छौं’, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने।                                                    
 

प्रकाशित मिति: : 2020-03-30 19:45:16

प्रतिकृया दिनुहोस्