कोभिड– १९ : प्रदेशसभा सदस्य साहद्वारा रु एक करोड सहयोगको घोषणा

रासस

लहान

कोरोना भाइरस ९कोभिड–१९ं को सम्भावित जोखिम रोकथाम र नियन्त्रण गर्न  नेकपाका नेता तथा प्रदेश २ का प्रदेशसभा सदस्य दिलीप साहले रु एक करोड रकम प्रदान गर्ने जानकारी दिएका छन्। 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा स्थापित राहत कोषमा उहाँले निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त हुने सो रकम  प्रदान गर्ने बताए।  
        
 यस्तै सिरहाको लहानका व्यापारीका केशव महतोले आफ्नो घरमा भाडा लिएर बसेका १० परिवारसँग चैत महिनाभरिको घर भाडा नलिने जानकारी दिएका छन्। 

लहान नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनलाई लहान नगरपालिका–४ स्थित विवेक इन्जिनीयरिङले दुईवटा फलामे जस्ताको श्यया उपलब्ध गराएको छ। 
 
सो नगरपालिका–११ पड्रिया विद्यालयमा नगरपालिकाले स्थापना गरेको १५ श्ययाको क्वारेन्टाइनका लागि  सञ्चालक अभिषेक कर्णले नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत खेमनन्द भुसाल र लहान नगरपालिका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवलाई उक्त श्यया प्रदान गरे। 

यसैबीच लहान नगरपालिका–५ नयाँ बजारस्थित गुद्री हटियामा आज बिहान आगलागी हँुदा करीब रु २५ लाखभन्दा बढीको क्षति भएको छ।

 अचानक आगलागी स्थानीय लखन सहनीको चामल र किराना पसल गरी दुई पसल, रामचन्द्र गुप्ताको मसला तथा किराना पसल गरी दुईवटा पसल, मनोज गुप्ताको एउटा किराना पसल र लालबाबु दासको हार्डवेयर पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। 

लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरीको टोली र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको लहान नगरपालिका–५ का वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले जानकारी दिए। आगलागीको कारण खुल्न सकेको छैन। 

प्रकाशित मिति: : 2020-03-31 17:16:42

प्रतिकृया दिनुहोस्