पुस्तक–संवाद

अध्ययन र अनुभवको सँगालो– ‘बत्तीमुनि उज्यालो: नयाँ नेपाल डक्ट्रिन’ (भिडियो अन्तर्वार्ता)

लेखक अश्विनकुमार पुडासैनी। उनको ‘बत्तीमुनि उज्यालो: नयाँ नेपाल डक्ट्रिन’ नामक कृत्ति प्रकाशित छ। उक्त पुस्तक ‘क्रियटिभ ननफिक्सन निबन्ध’ संग्रह भएको उनले बताए।

आममान्छेको जनजीब्रोमा भिजेको उक्ति हो– बत्तीमुनि अँध्यारो। तर, लेखक पुडासैनीले उक्त भनाइलाई उल्टाएर हेरेका छन्। अनि ‘बत्तीमुनि उज्यालो’ शीर्षक दिएका छन्– पुस्तकको। शीर्षकबारे उनले भने, ‘बत्तीमुनि अँध्यारो भनिदै आएको छ तर मेरो विचारमा बत्तीमुनि पनि उज्यालो हुन्छ। अनि उज्यालो पुर्याउनुपर्छ। त्यसैले मैले ‘नयाँ नेपाल डक्ट्रिन’ बत्तीमुनि उज्यालो हुनुपर्छ भन्नेमा विश्वास गर्छु।’

जीवनको पाँच दशक पूरा गर्नै लागेका लेखक पुडासैनी हाल नेपाल बैंक लिमिटेड, प्रधान कार्यालयमा ‘तालिम तथा विकास डिभिजन’ का प्रमुखका रुपमा कार्यरत छन्। विगतमा पत्रकारिता गरेका उनले विगत २५ वर्षदेखि अर्थ, व्यवस्थापन, राजनीति, कूटनीति, विकासजस्ता विषयहरुमा अध्ययन/अध्यापन गर्दै आएका छन्।

पहिले उनी पत्रकार थिए। त्यसपछि विगत १७ वर्षदेखि उनी नेपाल बैंकमा आबद्ध भएर काम गरिरहेका छन्। बीचमा उनी परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेका सल्लाहकार भएर पनि काम गरे। त्यसबाहेक उनी शिक्षण/प्रशिक्षण कार्यमा पनि संलग्न छन्। त्यसैले पुस्तक अध्ययन र अनुभवको सँगालो हो।

०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि नेपाली राजनीतिको ‘प्याराडाइम’ सिफ्ट भएको उनको मत छ। उनी नयाँ संविधानलाई युग परिवर्तनको कोशेढुङ्गा भएको बताउँछन्।

त्यसपछि भारतले नेपालमाथि एक सय ३४ दिनसम्म लगाएको अघोषित नाकाबन्दीको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डटेर समना गर्याे। अनि ओली सरकारले नै उत्तरको छिमेकी चीनसँग ‘व्यापार तथा पारवाहन सन्धि’ गर्याे। अनि नेपाल ‘ल्याण्ड लक’ (भू–परिवेष्ठित) देशबाट ‘ल्याण्ड लिङ्कड’ (भू–जडित) देशमा रुपान्तरण भयो। यसको नेतृत्व गर्ने अवसर तत्कालीन प्रधानमन्त्री ओलीले पाए। उनी सरकारले ‘नयाँ नेपाल डक्ट्रिन’ लाई ओली डक्ट्रिनका रुपमा परिभाषित गर्छन्।

‘म केपी शर्मा ओलीबाट अत्यन्त प्रभावित भएको होइन, प्रधानमन्त्री ओलीले गरेका कामलाई सिद्धान्तको कसीमा घोटेको हुँ। त्यसलाई सैद्धान्तिक दृष्टिकोणले हेरेको मात्र हुँ’, उनले भने। पुस्तकमा पुडासैनीले आफ्ना हजुरबाको प्रसङ्ग र उहाँबाट सिकेका भोगाइलाई राम्ररी प्रस्तुत गरेका छन्– ‘हजुरबाको सिसिटीभी’ मार्फत्।

६५ शीर्षकमा लेखिएका लेखहरुको सँगालो हो– ‘बत्तीमुनि उज्यालो’। यसमा तीन खण्ड छन्। पहिलो खण्डमा ‘समाज/संस्कृति’ का प्रबन्धहरु सङ्कलित छन् भने दोस्रो खण्डमा ‘अर्थ/व्यवस्थापन’। तेस्रो खण्डमा ‘राजनीति/कूटनीति’सँग सम्बन्धित प्रबन्ध (निबन्ध)हरुलाई समेटेका छन्।

उनको पुस्तक ‘बत्तीमुनि उज्यालो: नयाँ नेपाल डक्ट्रिन’ मा केन्द्रित भएर बिएल नेपाली सेवाले उनीसँग भिडियो संवाद गरेको छ। प्रस्तुत छ– उक्त पुस्तकबारे उनको भिडियो:

प्रकाशित मिति: : 2021-08-09 13:37:00

प्रतिकृया दिनुहोस्