६ दिनदेखि घर फर्किन नपाएका सुदूरका नेपालीको प्रधानमन्त्रीलाई सन्देश–‘तपाईं प्रधानमन्त्री हुनुकाे के औचित्य’(भिडियाे)

श्याम भट्ट

दार्चुला

सुदूरपश्चिमको अन्तिम नाका दार्चुलाबाट ६ दिनदेखि घर फर्किन नपाएको नेपालीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्ट रूपमा एउटा सन्देश दिन चाहेका छन्। त्यो के भन्दा–विपतको अवस्थामा आफ्नो देशको गरिब जनतालाई देशमै प्रवेश गर्न नदिने अविभावकको औचित्य के हो?

यति बेला आफ्नै देशका नागरिकलाई भारतीय नाकामै रोकेर राखेपछि नेपालीहरूको धैर्यको बाँध फुट्न थालेको छ। कोरोना भाइरसको संक्रमणको डरले भारतबाट २–३ दिनको पैदलयात्रा तय गरेर घर फर्किएका उनीहरू वर्तमान सरकारको रवैया देखेर चकित मात्र होइन, दुःखी पनि छन्। 

विदेशी नागरिकलाई प्लेन चार्टर गरेर उनीहरूको देश पठाउन सक्ने सरकारले आफ्नो नागरिकलाई नाकामा रोक्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको उनीहरूको भनाई छ। 

घर फर्किएका नेपालीलाई दार्चुला नाकामा रोकेपछि विगत ६ दिनदेखि उनीहरू भारतीय सरकारको शरणमा छन्। पिथौरागढका डिस्ट्रिक मेजिस्ट्रेट बिजयकुमार जाेगदण्डेको निगरानीमा नेपालीहरूलाई ५ ठाउँमा क्वारेन्टाइन बनाएर छुट्टाछुट्टै राखिएको छ भने खानपिनको व्यवस्था पनि भारतीय सरकारले नै गरिरहेको छ। 

नयाँ दिल्लीमा भएको दूतावास पनि यो कुरामा लापरवाह देखिएको छ। धार्चुलामा हाल एक हजारभन्दा बढी नेपाली अलपत्र छन्। रोजगारीका लागि भारत गएका नेपालीलाई भारतीय साहुहरूले फर्किने बेला पैसा नदिएको र परिवारको बिचल्ली भएको बताए। 

‘घरमा पनि रुँने कराउने भइरहेको छ। खानेलगाउने केही छैन,’ धार्चुलामा फसेका बैतडीका उत्तमबहादुर बोहराले भने। उनले नेपाल सरकारले सीमा बन्द गरेर आफूहरूलाई निकै दुःख दिएको बताए। सरकारले आफ्नो खोजीखबर केही नगरेको पनि उनले बताए। 

हाल भारतीय प्रहरीको रेखदेखमा रहेका उनी अविलम्ब घर फर्किन पाउनुपर्ने माग राख्छन्। ‘नेपाल सरकारले बेलायतीहरूलाई प्लेनबाट पठाउने। हामीलाई घाटमा पुग्दा पनि फर्काउने। यो सरकारको औचित्य के रह्यो?’ उनी सरकारलाई प्रतिप्रश्न गरे। 
 

प्रकाशित मिति: : 2020-04-03 14:13:15

प्रतिकृया दिनुहोस्