कोरोनाले थिलथिलो अमेरिकी नेपाली समुदाय

गत नोभेम्बर १७ मा चाईनाको वुहानमा देखिएको थियो कोभिड १९ अर्थात कोरोना भाइरस। तर जव नयाँ वर्षको पहिलो महिनाको बीचमा अर्थात जनवरीको १५ मा एक जना विरामीको रुपमा उक्त ठाउँबाट अमेरिको सियाटल राज्यमा प्रवेश गरेको यो रोगले अमेरिकीहरूलाई तर्साउन थाल्यो। यो रोग यसरी फैलियो कि अमेरिकी सरकार यसको नजरअन्दाज गरिरहेको थियो। स्वयं राष्ट्रपति डोनाल्ड जे टम्प भनिरहेका थिए, ‘यो भाईरस होइन।’ तर भाईसरको रु"पमा स्वीकार्दा नस्वीकार्दै यसले अमेरिकी समुदायमा डेरा जमाईसकेको थियो।

यो सामाग्रि तयार पार्दासम्म अर्थात अप्रिल ३ तारिखसम्ममा अमेरिकामा २ लाख ९१ हजारभन्दा बढी यो भाईरसबाट संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या ७ हजार ८ सय ४४ पुगेको छ।

जब यो रोगबाट साउथ एशियन समुदाय जहाँ नेपालीको पनि बाक्लै उपस्थिति छ। त्यहाँ एक जना नेपालीकै मृत्यु भयो। यसले नेपाली समुदायमा भुइँचालोनै त्याईदियो। गत मार्च २३ तारिखमा न्युयोर्कवासी अनिल सुब्बा (लिम्वु)को मृत्यु भएसँगै नेपाली समुदायका खबरहरु सामाजिक सन्जालदेखि मिडियासम्म छरपस्ट हुनथाले।

नेपाली समुदायका अगुवाहरू आ-आफ्ना संघसंस्थाका विज्ञप्तिमार्फत सार्वजनिक हुन थाले। उनीहरूका विज्ञप्तिदेखि घटनास्थलमै पुगेर नेपालीमुलका सञ्चारकर्मीहरू र मिडियाले बोल्न र लेख्न थाले। यसरी लेख्ने क्रममा पछिल्लोपटक यो रोगबाट निको भएकाहरू सार्वजनिक हुन थाले, कोरोनोले नेपाली समुदायलाई पनि नराम्रैसँग गाँजिसकेको यत्रतत्र थाहा हुन थाल्यो।

न्युयोर्क निवासी शम्भु मोक्तान, विवन बम र निमा शेर्पा गत हप्ता कोरोनालाई पराजित गर्दै घर फर्केपछि नेपाली समुदायमा कालो बादलबीच चाँदीको घेरा देखिएको महसुस गरेका छन्। निको भएर फर्केपछि उनीहरुले कोरोनाको सक्रमण भएका र यो रोगको डरमा बाँचेकालाई नआत्तिन प्रेरणा दिइरहेका छन्।

न्यूयोर्कमा कार्यरत पत्रकार आङछिरिड शेर्पाले उनीहरु तीनै जनाको कोरोना अनुभव आफ्नो एभरेष्ट टाइम्समार्फत सार्वजनिक गरे। कोरोनाले थिलथिलो भइसकेको नेपाली समुदायमा यसले सकारात्मक सन्देश पुगोस् भन्ने उनको विश्वास स्तम्भकारलाई सुनाए।

म्यानहाटनस्थित माउण्ट सेनाई अस्पतालमा नर्सको रूपमा कार्यरत नीमा शेर्पामा देखिएको कोरोना संक्रमण लगत्तै उनका श्रीमान र छोरामा पनि देखिएको थियो। तर, सवैले कोरोनालाई पराजित गरे। यो सन्देशका साथ नीमा अहिले समुदायमा सचेतना दिईरहेकी छिन्।

पेशाले चिकित्सक एनआरएन अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेल कोरोना रोग लागेर मरिहालिन्छ कि भन्ने डरबाट मुक्त हुनुपर्नेमा जोड दिन्छन्। हुनत एकसे एक यो रोगको उपचार विधिको कुरा गरिरहेका छन्। तर, तपाई पेशाले चिकित्सक भएकै नाताले तपाईँको सल्लाह आधिकारिक र विश्वासिलो बन्न सक्छ भनेर मागेको सल्लाहमा उनले भने, ‘धेरैलाई यो रोगको संक्रमणबाट मृत्यु हुन्छ भन्ने त्रास छ त्यो होइन  बरु यसबाट बच्ने उपायको बारेमा सचेत हुन जरूरी छ।’

मुख्य गरि स्वासप्रस्वासमा समस्या देखिएपछि शुरुमै उपचार गर्नुपर्ने उनले सल्लाह दिएका छन्। यसबाहेक घरमै बस्ने कोशिश गर्ने, सावुन पानीले हात धुने, सररफाईमा हेल्चेक्र्याइ नगर्ने सामान्य नियन्त्रण विधि अपनाउन उनले सवैलाई आग्रह गरे।

स्वयं सुरक्षा नै यो रोगबाट बच्ने उपाय हो भन्दै कसैलाई मेडिकल सल्लाह जरूरी भए आफूलाई सम्पर्क गर्नसमेत उनको अनुरोध छ। रोगको उपचारबाट निको भएका फाट्टफुट्ट खबर आए पनि यो रोगबाट संक्रमण भएकाको यकिन तथ्याङ्क छैन।

पत्रकार दिनेशजंग शाह २ देखि ३ सयमा यो रोगको संक्रमण रहेको खबर आफूले पाए पनि यसको आधार नभएको बताउँछन्। यहाँस्थित दूतावास र नियोग या अन्य संघ संस्था कोहीसँग पनि यसबारे तथ्याङ्क छैन।

सबैले अनुमानको भरमा बताईरहेका छन्। तथ्याङ्क स्थापित गर्ने कुटनीतिमा सरकारी निकायहरु गोप्य फारामको योजना अघि सारेका छन्। तर पनि यसबारे खास विरामीले नै चासो नदिएको बुझिएको छ।

एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठीले यो रोगको संक्रमण भएकाको संख्या १ हजारसम्म हुनसक्ने अनुमान गरे। कन्सुलेट सेवा र अन्य सेवाको लागि आफ्नो सम्पर्कमा आएकालाई सम्वन्धित सेवाकर्तासँग सम्पर्क गराउने काम गरिरहको बताउने संयोजक त्रिपाठीले बस्न समस्या भएका केहीलाई होटेलकोसमेत व्यवस्था गरेको बताए।

एनआरएनको सञ्जालबाटै आर्थिक संकलनको कामलाई अगाडि बढाउने उनको भनाई छ। संक्रमितको सहयोगका लागि नेपाली समुदायका विभिन्न संघ संस्था र स्वयं स्वतन्त्र रुपमा केही व्यक्ति लागिपरेका छन्। मृतक अनिल सुव्वाको लागि भनेर २० हजार डलरभन्दा बढी सहयोग संकलन भएको छ भने एनआरएन, जनसम्पर्कसमिति लगायतका संघसंस्थाहरू आर्थिक संकलनदेखि सहयोगसम्म जुटिरहेका छन्।

एनआरएन अमेरिकाले कोरोनालाई लक्षित गरेर ९ हजार अमेरिकी डलर संकलन गरिसकेको बताएको अध्यक्ष सुनिल साहले जानकारी दिए। यसबाहेक विभिन्न कमिटि गठन गरि कन्फरेन्स कलहरुमार्फत स्वास्थ्य सेवा सल्लाह दिईरहेको अध्यक्ष साहले बताए।

यता ढिलोगरि डिसीस्थित दूतावासले समुदायबीच कन्फरेन्स सञ्चालन गरिरहेको छ। राजदूत अर्जुन कार्कीको पहलमा सञ्चालित उक्त कन्फरेन्स कलमा स्वयं राजदूत दूतावासले आर्थिक समस्या गर्न नसक्ने जनाउँदै आफ्नै समुदायका स्थानीय संघसंस्थासँग समन्वय गर्ने कुरामा पहल गर्न सक्ने बताउँदै आएका छन्।

यो रोगले चाईनापछि इटलीलाई तहस नहस बनाइसकेको छ भने पछिल्लो समयमा अमेरिकालाई समेत हल्लाईदिएको छ। संक्रमणको संख्या जति रफ्तारमा बढिरहेको छ यसमा निको हुनेहरुको संख्या ज्यादै न्यून छ।

यो सामाग्री तयार पार्दासम्म १४ हजार ३ सय भन्दा बढी उपचारपछि निको भएका छन्। यद्यपी अमेरिकी सरकारले लकडाउन गर्ने छाँटकाँट देखिएको छैन। हालसम्म होमस्टे अर्डरसम्म जारी गरेको अमेरिकी सरकारको तुलनामा नेपाल, भारत जस्ता देशहरूले नै लकडाउनकै घोषणा गरेर सचेत भएको पुष्टि गरेका छन्।

उपचारविधिहरू पत्ता लगाउने विश्वव्यापी अभ्यास भइरहेको बेला यो रोगको असर कतिसम्म फैलिने भन्ने कुरा अझै भन्न सक्ने अवस्था छैन।

प्रकाशित मिति: : 2020-04-04 21:28:37

प्रतिकृया दिनुहोस्