कोरोना आयो

गाउँशहरमा कोरोना आयो ,पृथ्वीभरी सबैलाई चलायो

झुपडीदेखि  महलसम्म, हेर्दाहेर्दै सबै बगायो।

 

चीनको वुहानदेखि, इटली, बेल्जियम, ईरानसम्म

सुन्दर पेरिस, टोकियोदेखि न्युयोर्कसम्म पार्‍यो भस्म

औषधि, खोप, प्रविधि पनि कसैले सकेन खोज्न झिक्न

बाल वृद्ध बनिता सबै, यसको अगाडि सकेनन् टिक्न

 

गाउँशहरमा--------

निरीह जीवजन्तु सबैमा, उसले आफ्नो अधिकार जमायो

आफ्नो जातिमा पनि उसले ,शक्ति धनको घमण्ड देखायो

जसको शक्ति उसको भक्ति, बम बारूद लिँदै करायो

कोरोना जब अघि आयो, बुद्धि विवेक सबै हरायो

 

गाउँशहरमा- -----

शिक्षा स्वास्थ्य भन्दा पनि, सैनिक खर्च अति बढायो

आफ्नो स्वार्थ पूरा गर्न, जैविक हतियार निहुँ बनायो

देशलाई कंगाल पारिकन, सातपुस्तालाई कुम्लो बनायो

जब कोरोना अघि बढ्यो, अनि डरले टाउको समायो

 

गाउँशहरमा ----

आफ्नैलाई लात हानी , रगत मासु खान्छस् भने

सृष्टिको सुन्दर रचना होस त, दम्भ राखी कुद्छ्स भने

मैले तलाई किन छोडनु ,छोड्दैनस् तैले कोही भने

आकाश धर्ती सबैबाट, कोरोना जब गर्जन थाल्यो

पृथ्वी साझा फूलबारी हामी यसको माली भनी, मानिसको अब बुद्धि पलायो

गाउँशहरमा-----

प्रकाशित मिति: : 2020-04-07 10:21:57

प्रतिकृया दिनुहोस्