अमेरिकामा स्याण्डर्सले त्यागे उम्मेद्वारी, बाइडन हुने भए डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार

अन्तत: सिनेटर बर्नी स्याण्डर्सले अमेरिकाको २०२० को राष्ट्रपतिय निर्वाचनमा डेमोक्रटिक उम्मेद्वारीको मैदान खालि गरिदिएका छन्। बुधबार विहान निबासबाटै लाइभस्ट्रिममार्फत् उनले यस्तो घोषणा गरेका हुन्। यो घोषणासँगै पूर्वउपराष्ट्रपति जो बाइडन स्वत: डेमोक्रेटिक उम्मेद्वार भएका छन्। 

आफू तीनसय डेलिगेट्सले पछि परेको अवस्थामा उम्मेद्वारी जित्ने सम्भावना नभएको भन्दै उनले क्याम्पेन स्थगित गर्ने घोषणा गरे। सार्वजनिक रूपमा घोषणा गर्नुपहिले उनले आफ्ना सहयोगीहरूलाई भने, ' म योभन्दा राम्रो समाचार तपाईहरूलाई सुनाउन चाहन्थें। तर, यो सम्भव भएन।'

बर्नीले उम्मेद्वारी त्यागे पनि सामाजिक न्यायका लागि प्रगतिशील एजेण्डा नछोड्ने बताए। उनले त्यसका लागि पार्टीका हरेक तहमा लडिरहन सबैलाई आग्रह गरे। उनले धेरैभन्दा धेरै संख्यामा प्रोग्रसिभ डेलिगेट्स डेमोक्रेटिक नेशनल कन्भेन्सनमा पुगेर आफ्नो एजेण्डाको वहस पैरवी र रक्षा गर्न आग्रह गरे। 

उनले सबै डेमोक्रेटलाई एकीकृत भएर राष्ट्रपति ट्रम्पलाई पराजित गर्न आग्रह गरे। तर, प्रत्यक्ष रूपमा जो बाइनलाई भने इन्डोर्स गरेनन् ।

भर्मन्टका इन्डिपेन्डेन्ट सिनेटर बर्नीले राष्ट्रपतिका लागि सन् २०१६ र यसपटक गरेर दुई पटक प्रयास गरे। डेमोक्रेटिक पार्टीको संस्थापनका लागि आउटसाइडर मानिएका उनी दुबैपटक असफल रहे। यसअघि २०१६ मा उनले आफ्नो क्याम्पेनलाई स्थगित नगरी डेमोक्रेटिक नेशनल कन्भेन्सनसम्मै पुर्याएका थिए। तर, डेमोक्रेटिक सुपर डेलिगेट्स बर्नीको विपक्षमा गएपछि हिलारीको पक्षमा उम्मेद्वारीको पासा पल्टिएको थियो।

यसपटक भने उनले 'गुडवाइ ट्वान्टी ट्वान्टी' भन्दै उम्मेद्वारी नै त्यागिदिए। सुरूका तीन प्राइमरी र ककसमा अघि रहेका उनलाई साउथ क्यारोलाइना प्राइमरीपछि जो बाइडनले पछाडि पार्दै लगे। यो क्रम बढ्दै विस्कन्सिन प्राइमरीसम्म आइपुग्दा उनी तीनसय भन्दा बढी डेलिगेट्सले पछि परे।

७९ वर्षीय बर्नी बढ्दो उमेरका कारणले सम्भवत: अब राष्ट्रपतिको उम्मेद्वार हुने छैनन्। ह्वाइट हाउस पुगेर सामाजिक न्यायसहितका प्रगतिशील एजेण्डा लागु गर्ने उनको सपना अब कहिल्यै विपना नहुने भयो । तर, उनले अमेरिकामा प्रगतिशील एजेण्डालाई स्थापित गर्न महत्वपूर्ण योगदान दिए। डेमोक्रेटिक पार्टीमा मात्र हैन, सिंगो अमेरिकामै मानिसहरू उनका एजेण्डालाई अस्विकार गर्न नसकिने सत्यका रूपमा बु्झ्न थाले। 

बर्नी खासगरी अमेरिकी युवामाझ लोकप्रिय छन्। यसले उनको विचारको भविष्य उज्यालो रहेको देखाउँछ। यस अर्थमा पनि बर्नीले हारेका छैनन्, जितेका छन् भन्न सकिन्छ। भलै उनले राष्ट्रपति उम्मेद्वारीका लागि गरेको दुई दुइपटकको प्रयास सफल भएन। अब यो इतिहासको विषय भयो।

प्रकाशित मिति: : 2020-04-08 22:35:07

प्रतिकृया दिनुहोस्