कालो रात

राम अर्याल

याङ्गुन म्यान्मार

बेकारको कालो रात
यति रमाइला दिनहरूसँग
किन जोडिन्छ घरि-घरि
दीर्घ समय खुम्चिन्न
विशाल संसार साँगुरिन्न
यहाँ सबैलाई बाँच्नुपर्छ ।
जीवन भर नाच्नुपर्छ
स्वतन्त्रतासँग
किन जोडिन्छ घरि-घरि
बेकारको कालो रात

आकाशको छानो छ
सुमेरु पर्वतको गारो छ
मरु भूमिसम्म बिछ्याइएको
फराकिलो र न्यानो काख  छ ।
निःस्वार्थ बाँचेको इतिहास
रित्तै बनाउँने चाहनामा
किन दोहोरिन्छ घरि-घरि
बेकारको कालो रात

प्रेममा मख्ख पर्नेलाई
प्रीतिका नाता जोड्नेलाई
भावनाको पैँचो चाहिँदैन।
प्रकृतिले उमारेको छ
भरिपूर्ण छाती
छातीभरिको मुटु
मुटुभरिको स्नेह 
जहाँ झकमक्क फक्रिरहेको बेला ।
त्यहीँ लोकाचार पार्दै
किन जोडिन्छ घरि-घरि
बेकारको कालो रात
यो महामारीको
कालो रात... ।।

प्रकाशित मिति: : 2020-04-09 15:24:37

प्रतिकृया दिनुहोस्