संक्रमणकाल दृश्यावलोकन

विष्णु पन्थी

याँगौं म्यान्मार

यो आजको ताजा दृश्य हो

भो नसोध कहाँको ? के को ? कस्को ?

विस्मित नभई हेर, निरीक्षण गर, दृश्यावलोकन गर

दृश्यमान छ यहाँको, त्यहाँको, वहाँको,

जहाँतहींको , जताततैको, सर्वत्रको

पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशाको

ती माझमा जोडिने चारै रेखा र चतुष्कोणको

प्रत्येक व्यक्तिको, हर-एक परिवारको

टोल-टोलको, गाँवै नछाडि नगरै पछिको

भौगोलिक मानचित्रमा समावेश प्रत्येक राष्ट्रको

सकल जगतको, सारा संसारको, सम्पूर्ण विश्वको

 

एउटै कथा, त्यस्तै व्यथा, मिल्दो पीडा, जुल्दो वेदना

हेर प्रलयंकारी दृश्य, मानवजातिको विनाशकाल

दुर्भाग्यपूर्ण संहार, दुःखद अन्त, निस्सहाय अवस्था

स्वावलम्बी, स्वाभिमानी र सार्वभौम सत्ताधारी भनिने

असंख्य रणभूमिमा आफ्नो शौर्यले विजयी हुन सफल

भूलोकबाट चन्द्र, मङ्गल सूर्यलोकसम्मलाई हाँक्न तर्खर

बौद्धिकतामा प्रवीण, चातुर्यतामा कुशल मानिने मान्छे

आज चारै चित् धराशायी भएको अद्भूत घटना घटेको छ

मान्छे आज त्रसित छ,आतंकित छ,भयभीत छ, लज्जित छ।

आफ्नै शस्त्रले आफूलाई आफै प्रहार गर्ने मूर्खता गरेकोछ

विनाशकाले विपरित बुद्धि कथन सत्य सिद्ध हुनआएको छ।

मान्छेको यो दुर्गति, यो दुष्परिणामको कथा गाथा

हिजोआजको कौतूहलपूर्ण दैनिक समाचार बनेको छ

प्रलयकालको गणना उल्टो चल्न आरम्भ गरेको छ

मानव जनक्षतिको गणना द्रुतगतिले अगाडि बढेको छ

मानव इतिहासका ति स्वतन्त्रता संग्रामहरू

उपनिवेशवाद र निरङ्कुशता विरुद्ध लडेका ति युद्वहरू

महत्वहीन र तुच्छ घटना बनेर खुम्चिनपुगेका छन् पानामा

आजको युद्ध हो बुद्धिविवेकले लोकमान्यताप्राप्त मानवसित

उसैले रचेको सूक्ष्म, अतुलनीय बलशाली उपज जीवाणुको

कसैको तुलना हुन्नआजको आणविक युद्धको दाँजोमा

 

सृष्टिको आदिकालबाट नै मान्छे हो युद्धप्रेमी जीव

मान्छे, हात्ती, घोडा सबै प्रयोग गरिए उसको सेनामा

जीवजन्तुको प्रयोग घटेर गयो वैज्ञानिक युगमा

रथ र यानहरू भए स्वचालित यन्त्रले संचालित

तलवार र भाला भए विष्फोटक बारूद र तोपमा परिणत

तेजी आयो नवीनतम आविष्कार र अनुसन्धानको गतिमा

बन्नपुगे अकाल्पनिक विध्वंशकारी बम र अणुबम

वैमनस्य जन्मायो तिनको व्यावसायिक प्रतिस्पर्धाले

विश्व सम्राट बन्नेतर्फ लम्किए शक्तिशाली योद्धाहरू

करुणामूर्ति मानवले रूप धारण गर्यो क्रूर दानवको

धर्म- अधर्म, पुण्य-पाप, कर्म-अकर्मको रोकियो चिन्तन

वैज्ञानिक आविष्कारले निम्त्यायो रहस्यपूर्ण जीवाणु

शक्तिप्रदर्शनको होडबाजीमा हरायो धैर्य र सन्तुलन

नाघ्यो लक्ष्मण रेखा नकारात्मक मानसिकताले

प्रयोग गरिए आणविक बम आधुनिक कुरुक्षेत्रमा

 

मुढो ताकेर प्रहार गर्दा घुँडो प्रताडित भएको अवस्था छ

एउटाको गल्तिको परिणाम सबैले भोग्न परेकोछ

रोगको संक्रमण वनको आगो सरह गतिशील देखिएको छ

शासन व्यवस्थाले नगरबन्दको आदेश जाहेर गरेको छ

चिकित्सा, वैद्य र औषधीको विकल्प शून्य बराबर छ

हे दैव ! यस महामारीको निरपेक्ष निराकरण होस्

परिस्थिति शीघ्रातिशीघ्र स्वस्थ र सामान्य बनोस्

सबै मानिस पूर्ववत् आआफ्ना दैनिकीमा लाग्न सकून्

नकारात्मक सोच र अमानवीय धारणालाई आमूल त्याग्न सकून्।

प्रकाशित मिति: : 2020-04-11 15:44:57

प्रतिकृया दिनुहोस्