तीन कोरोना संक्रमित भेटिएपछि छपकैया क्षेत्र शील, शंकास्पद व्यक्तिको खोजी सुरु

वीरगञ्जको छपकैयामा ३ जना कोरोना संक्रमित भारतीय नागरिक भेटिएपछि सो क्षेत्रलाई स्थानीय प्रशासनले शील गरेर शंकास्पद व्यक्तिको खोजी  सुरु गरेको छ। 

जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार साँझ सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित जमाती बस्दै आएको मस्जिद रहेको वडा २ छपकैया क्षेत्रलाई शील गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘बैठकको निर्णयलगत्तै सुरक्षकर्मी परिचालन गरेर छपकैया क्षेत्रलाइ शील गरिएको छ,‘ बस्नेतले भने ‘ वीरगञ्ज छुटटै कोरोना भाइरस संक्रमण उपचार सम्बन्धि विशेष अस्पताल संचालन गर्ने निर्णय समेत गरेकाले एक निजी अस्पताल भाडामा लिएर छुट्टै विशेष अस्पताल संचालन गर्ने निर्णय गरिएको छ।’

जामे मस्जिदमा दुई साता अगाडिदेखि बस्दै आएका तीनजना भारतीयमा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो। भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौँडास्थित प्रयोगशाला पठाइएको थियो।

जसमध्ये तीनजनाको शुक्रबार आएको प्रारम्भिक रिपोर्ट पोजेटिभ देखिएपछि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण गरिएको थियो। कोरोना संक्रमण पुष्टि भएका तीनजना ३७, ४४ र ५५ वर्षका पुरुष हुन्। उनीहरूमध्ये दुईजना उत्तरप्रदेश र एकजना दिल्लीमा बस्दै आएका थिए।

उनीहरुलाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको र यसले अन्य विरामी चिकित्सक र स्वास्थ्यकर्मीमा समेत जोखिम बढेको भन्दै चिकित्सकहरुले तत्काल कोरोना विशेष अस्पताल संचालन गर्न माग गरेका छन्। 

यता नारायणी अस्पतालका चिकित्सकको आकस्मिक बैठकले अरु रोगका बिरामी र कोरोनाका संक्रमितलाई एउटै अस्पतालमा राखेर उपचार गर्दा त्यसले झन जोखिम थपिने भएकाले छुटटै स्पताल संचालन गर्न संघ र प्रदेश सरकारसँग माग गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

पर्सामा कोरोना संक्रमण भेटिएपछि बारामा सतर्कता अपनाइयो

उच्च सतर्कता अपनाइयो

बारा जिल्लाको सबै स्थानीय तहमा प्रहरी प्रशासनले उच्च सतर्कता अपनाएको छ।

बिना काम बाहिरको ब्यक्ति गाउँटोलमा आउन जान नदिन महागढीमाई नगरपालिकाको वडा नम्बर ३ र १० गंजभवानीपुरमा मुल बाटो बन्द गरिएको छ। 

साताको दुई दिन सो ठाउँमा लाग्ने हाट बजार पनि पूर्ण रुपमा बन्द गरिएको वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रप्रसाद जैसवालले बताए। 

छिमेकी जिल्ला पर्सामा देखिएको कोरोना पोजेटिभलाई मध्य नजर गर्दै गाउँको यूवाहरुको सहभागितामा एम्बुलेन्स, दमकल, खाद्यान्न, दुध लगायत अतिआवश्यक गाडी छोडेर मोटरसाईकल तथा अन्य सवारी साधनलाई गाउँ भएर बाहिर जाने र आउनेलाई पूर्ण रुपमा बाटो बन्दगरि प्रवेश निषेध गरिएको वडा नम्बर १० का वडा अध्यक्ष चन्दन कुमारले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-12 19:53:50

प्रतिकृया दिनुहोस्