सावधान ! भारतको कोरोनाले घेरियो नेपाली सीमा

देशको पश्चिमी सीमा कञ्चनपूर पारी भारतको बनबासाबाट त्यहाँको राजधानी दिल्लीको दूरी मात्र ३ सय १८ किलोमिटर छ।

यस्तै सुदूरको व्यवसायिक नगरी धनगढीबाट उत्तर प्रदेशको राजधानी लखनउ ३ सय ५० किलोमिटरमा पर्छ। वीरगञ्ज र बिहारको राजधानी पटनाको दूरी २ सय ७४ र पूर्वी सीमा काकडभित्ताबाट पश्चिम बंगालको राजधानी कोलकाता ५ सय ३९ किलोमिटरकाे दूरीमा छ।

यी नेपाल नजिकका यस्ता शहर हुन, जहाँ कोरोनाका हरेकदिन नयाँ संक्रमित थपिदै गइरहेका छन्। जबसम्म भारतमा कोरोना नियन्त्रणमा आउदैन तबसम्म नेपालले म सुरक्षित छु भन्नु दिवास्वप्न मात्र हो। आज तीनतिरबाट भारतले नेपाली सीमा मात्र घेरेको छैन, त्यहाँको कोरोना समेतले घेरेको अवस्था छ।

खुल्लारुप रहेको यो नेपाली सीमा कति खतरनाक रहेछ भन्ने मुलुकका नीति निर्मातालाई बुझाउन कोरोना नै आउनु पर्ने रहेछ शायद। भविष्यमा सीमाको बैज्ञानिक र अभेद्य व्यवस्थापन गर्न यो देशका शासक लाग्लान र? यो पनि अभागी नेपालीका लागि शंकाकै विषय हो।

अधिकांश भारतमा भरपर्ने नेपाली अर्थतन्त्र तबसम्म सुदृढ हुने छैन, जबसम्म भारतले कोरोनामाथि विजय प्राप्त गर्नेछैन। तीनतिरबाट  भौगोलिक रुपमा नेपाललाई घेरेको भारतीय सीमाका यी महानगरमा करोडौं जनसंख्याको बसोबास छ। एक्लो कोलकातामा मात्रै नेपालको सम्पूर्ण जनसंख्या भन्दा १ करोड बढी मानिस बसोबास गर्छन्।

काेलकाता मात्र हाेइन, सम्पूर्ण भारत लगायत यी सीमावर्ती शहरमा पनि नेपालीको बाक्लो बसोबास र निर्भरता छ। योग गुरु स्वामी रामदेवकाे सुरु गरेकाे नेपालभाषी लक्षित अभियान ‘हाम्रो स्वाभिमान’ का अनुसार भारतमा प्रत्यक्ष र अप्रत्यक्ष १९ करोड नेपालभाषी छन्। 

सोमबारसम्म भारतमा कोरोनाबाट ३ सय ८ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ९ हजार १ सय ५२ संक्रमित भेटिएका छन्। आइतबार मात्र भारतमा संक्रमितको संख्या ८ हजार ३ सय ५६ थियो। प्रतिदिन नयाँ कोरोना संक्रमित भेटिने संख्या डरलाग्दो रुपमा बढदैछ। भारतका सम्पुर्ण राज्यमा ६ हजार ६ सय ३४ कोरोना पिडितको उपचार भइरहेको छ भने ५ सय ५३ जना कोरोनाविरुद्ध युद्ध जितेर घर फर्केका छन्।

आफूलाई विश्वको चौथो ठूलो अर्थतन्त्र दावी गर्ने भारत कोरोनाको जालोमा नराम्ररी जकडिए पनि हार मान्ने मुडमा छैन। १४ अप्रिलमा सकिने २१ दिने भारतिय लकडाउनलाई अझैं बढाउने मुडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छन्। आइतबारसम्म ५ वटा राज्यले लकडाउन बढाइसक्दा सोमबारसम्म मोदीको घोषणा आउने अनुमान गरिएको छ।

आफ्नो अर्थतन्त्रको कुनै पर्वाह नगरी विश्वसामु भारतले यो युद्ध जितेर देखाउन आवश्यक ठानिसकेको छ, उनीहरु माझ आफ्नो प्रभाव जमाईराख्न पनि।

राजधानी दिल्ली अहिले कोरोनाको उच्च जोखिममा छ। अढाई करोडभन्दा बढीको बसोबास रहेको दिल्लीका प्रमुख ६ स्थानलाई पूर्णतया बन्द गरेर कोरोनाविरुद्धको युद्धमा अरविन्द केजरीवाल सरकार लागेको छ। निजामुद्दीन मरकजमा जम्मा भएका तीन हजारभन्दा बढी तबलिगी जमातका अनुयायीलाई दिल्ली लगायत सम्पूर्ण भारतमा कोरोना फैलाउन नियोजित षड्यन्त्र गरेको आरोप लागेको छ।

मरकजका मुखिया शाद अहिलेसम्म फरार छन्। उनीविरुद्ध विभिन्न अरोपमा मुद्दा समेत चलाइएको छ। यो जमात सम्बद्ध १९ जना नेपाली  मुसलमान पनि थिए। सीमाका छिमेकी भारतीय राज्यको आईतबार सम्मको आँकडा हेर्ने हो भने स्थिति नियन्त्रणमा ल्याउन समय लाग्ने देखिएको छ। बाक्लै नेपाली रहने दिल्लीमा सोमबार सम्म १ हजार १ सय ५४ जना संक्रमित भेटिएका छन्  २४ को मृत्यु भईसकेको छ । 

सुदूरको छिमेकी तथा अधिकांश मध्य र सुदूरका नेपालीको रोजगार केन्द्र मानिने उत्तराखण्डमा सोमबारसम्म ३५ जना संक्रमित भेटिएका छन्। याद रहोस धनगढी आईसोलेशनमा रहेका ईन्द्र बहादुर बिक उत्तराखण्ड र राज कोली उत्तरप्रदेशबाट नेपाल पसेका थिए।

सोमबारसम्म ४ सय ८३ संक्रमित भेटिएको उत्तर प्रदेशमा ५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। पश्चिम बंगाल पनि कोरोना संक्रमित दौडमा अघि नै छ, यहाँ आईतबार सम्म १ सय २९ जना संक्रमित सूचीमा समावेश भइसके भने ७ जनाको मृत्यु भएको छ। बंगालमा १६ जना ठिक हुनेहरु पनि छन् । तुलनात्मक रुपमा बिहारमा ६४ जना संक्रमितको पहिचान भएको छ भने १ जनाको मृत्यु र २२ जना उपचारपछि घर फर्किएका छन्।

सुदूरतिर एउटा थेगाे नै छ– बम्बई अछामीको, बझाङीको बेङलोर। अछामी लगायत अधिकांश नेपाली रहेको महाराष्ट्रको मुम्बई अहिले भारतमा काेराेनाबाट सबैभन्दा पिडित राज्य हाे। सोमबारसम्म यहाँ १ हजार ९ सय ८५ संक्रमित पुगेका छन् भने भारतमा कोरोनाका कारण सबैभन्दा बढी १ सय ४९ जनाको मृत्यु पनि यही भएको छ।

सम्पूर्ण बलिउड ठप्प छ। यो शहरमा रहेको एशियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती धारावीलाई सील गरेर उद्धव ठाकरेको नयाँ सरकार कोरोना संक्रमित खोजिरहँदा २ सय ८ जनाले कोरोना माथि विजय पनि पाएका छन्। धारावीको २ वर्ग किलोमिटरमा ७ लाख जनसंख्या छ, यहाँ भेटिएका ४९ संक्रमितमध्ये ५ को मृत्यु भइसकेको छ। यही शहरमा भेटिएका अछामका खडका परिवारका सबै ८ जनामा कोरोना संक्रमण देखिएपछि आईसोलेट गरिएको छ। ठाकरे सरकारले यहाँ अप्रिल अन्तसम्म लकडाउन समेत बढाइसकेको छ।

मुम्बईपछि कोरोनाको उद्गम स्थल दिल्ली मानिए पनि सम्पुर्ण भारतमा यो नराम्ररी फैलिसकेको छ। नेपालीकाे रोजगार गन्तव्य रहेका भारतीय राज्यमध्ये तमिलनाडुमा १ हजार ४५, राजस्थानमा ८ सय ४ सय,मध्य प्रदेशमा ५ सय २७, गुजरातमा ५ सय १६, आन्ध्र प्रदेशमा ४ सय ८१, जम्मु कश्मिरमा २ सय ७, पञ्जावमा १ सय ५१ र हिमाञ्चलमा ३२ कोरोना संक्रमित भेटिइसकेका छन्। 

भारतीय प्रधानमन्त्री मोदीले शनिबार आफ्ना मुख्यमन्त्रीसँग भिडिओ कन्फ्रेन्स गर्दै सबलाई आग्रह गरेका छन्– मलाई ज्यान र जमीन दुबै बचाउनु छ।

भारतमा कोरोना कहरको नेतृत्व सम्हालेका मोदी दिनहुँ आफ्ना मुख्यमन्त्री  र जनताको सम्पर्कमा छन्। उनीहरुको आत्मबल बढाइरहेका छन्। भारतमा बलिउड लगायत धनाढ्य र मनकारी परिवारले सकेसम्मको साथ पनि मोदीलाई दिएका छन्।

हामीकहाँ ठिक उल्टो छ, यहाँका ठूलादेखि छोटे शाषकहरु जनताको सम्पर्कमा आउनै चाहन्न र आए पनि आफ्नालाई चोखाउन धम्किपूर्ण सम्बोधन गर्छन। यहाँ धनाढ्यको चाला पनि देखिएकै अवस्था हो। गाँउतिरका तलबवाला छोटे राजाहरु लुकेर बसेका छन्। देखिएकामध्येको ताल त समाजिक सञ्जालमा छताछुल्ल छ। 

यस्तो समयमा कमिशनको खेलमा अल्झिएको केपी ओली सरकारसँग सावधानी बाहेक कुनै विकल्प छैन। उत्तम उपाय हो– लकडाउनलाई अप्रिल भरी बढाउने र सीमामा शसस्त्र प्रहरीलाई थप सक्रिय गराउन उनीहरुकाे मनोबल र आत्मविश्वास बढाएर पठाउने नकि कोरोना संन्त्रासको अग्रपंक्तिमा रहेका प्रहरीको तलब काट्ने।

सबै कुरामा भारतलाई पछ्याउने नेपालका शाषकले यति बेला भारतीय मोडल नपछ्याए उनीहरुको भागमा आउनसक्ने त्रासदीपूर्ण समयको कल्पनासम्म गर्न डराउनु पर्नेछ। त्यसैले यो आपतमा मोदीबाट नेतृत्व र जनता प्रतिको अपनत्व सिखौं।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबाट राहत कसरी आवश्यक भएका सामु पुर्‍याउने र स्वास्थ्यकर्मीको मनोबल कसरी उच्चाे पार्ने याे सिख्दा पनि हुन्छ। यस्तै मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानसँग सिख्दा पनि हुन्छ, ईच्छा भए एक्लो मान्छेले पनि जे पनि गर्न सक्छ। भर्खर मुख्यमन्त्री भएका चौहानले मन्त्रीमण्डल विस्तार गर्न नपाउदै कोरोना भारत पसेपछि विशाल मध्यप्रदेशलाई एक्लै हाँकीरहेका छन्। ३६ जनाको कोरोनाबाट मृत्यु भए पनि जहाँ समस्या छ, उनी पुगेकै छन। यस्तो महामारीमा पनि हाम्रा शाषक सुध्रेनन् भने यिनीहरु कुनैदिन सुध्रेलान भन्ने आशा गर्नु ठूलाे भूल हुनेछ।
 

प्रकाशित मिति: : 2020-04-13 14:26:51

प्रतिकृया दिनुहोस्