प्रशासनकाे पासलाई प्रहरीले नमान्दा मानव सेवा आश्रमलाई समस्या

वीरगञ्ज मानवसेवा आश्रमलाई जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासलाई प्रहरीहरुले मान्यता नदिँदा समस्या उत्पन्न भएको छ।

आश्रममा आश्रीत असहायहरुका लागि चाहिने दैनिक उपभोग्य सामान खरिद गर्न जिल्ला प्रशासन कार्यालय पर्साले पास उपलब्ध गराएपनि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टाेलीले आवश्यक समन्वयन नगर्दा समस्या उत्पन्न भएको हो।

अहिले सो पास लिएर मोटरसाइकलमा किनमेलको लागि जाँदा गस्तिमा खटिएका प्रहरीले अनवआवस्यक दु:ख दिने गरेकाे आश्रमका संयोजक देवेश गुप्ताले बताए। 

‘आश्रममा अहिले ४० जना आश्रीत छन्। ग्यास तथा दैनिक ५ देखी ६ किलो तरकारी किन्न बजार जानु पर्ने हुन्छ,’ संयोजक गुप्ताले बिएल नेपाली सेवासँग भने ‘ अति आवश्यक औषधिलगायतका सामान खरिदका लागि मोटरसाइकल लिएर बजार जानुपर्ने हुन्छ। प्रहरीले यी सबै सामान पैदल लिएर आउँ भन्छ।’ 

उनले आवश्यक सामान खरिदका लागि जाँदा मोटरसाइकल समेत खोसिदिएको समेत गुनासो गरे।

संयोजक गुप्ताले भने,‘यस्तो आपतकालिन अवस्थामा मानसिक सन्तुलन गुमाएका र बृद्धबृद्धाहरुको उपचारको लागि लिएर जाँदासमेत पासको मान्यता दिदैँनन्। महानगरपालिकाले दिएकाे चामल, दाल, तेल जस्ता खाद्यान्न सामग्री काँचै खाने कुरापनि त आउँदैन नि?’

उनका अनुसार दिनहुँ ४० जनाको लागि खाध्यान, तरकारी, औषधी किन्नु पर्ने हुन्छ।  उक्त सामान किन्न बजार जाँदा बिचबाटो बाटै फर्काइने भएपछि आश्रम चलाउन अहिले समस्या परेको संयोजक गुप्ता बताउछन्। 

‘हामीलाई जान दिँदैनन्। कि त जिल्ला प्रहरीले, जिल्ला प्रसाशनले गाडीमा वा कसैसँग आश्रममै पठाइदिने बातावरण मिलाई दिनुपर्यो। कि त पासलाई मान्यता दिनुपर्‍यो,’उनी भन्छन्। उनले याे  समस्या  प्रहरी प्रमुख गंगा पन्तलाई समेत सुनाएकाे बताए।

यता जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पास तथा आफ्नो कार्यक्षेत्रको  परिचय पत्रसमेत जिल्ला प्रहरी कार्यालयबाट खटिएका टाेलीले नबुझिदिँदा अहिले वीरगञ्जका औषधि व्यवसायी आक्रोसित भएका छन्। मनपरी तरीकाले प्रहरीले मोटरसाइकललाई जान नदिँदा शनिबार बिर्तालगायत नगरका कतिपय स्थानका औषधि पसलसमेत बन्द भएका छन्।
 

प्रकाशित मिति: : 2020-04-18 18:07:40

प्रतिकृया दिनुहोस्