बहराइनमा नेपालीलाई उपचारमा कुनै समस्या छैनः राजदूत पदम सुन्दास (अन्तर्वार्ता)

मनीषा अवस्थी

काठमाडाैं

कोरोना भाइरसका कारण यति बेला संसारभरका मानिस त्रसित छन्। अधिकांश देश भाइरसबाट संक्रमित बनिरहेको छ। भाइरसबाट लाखौंले ज्यान गुमाइसकेका छन् भने संक्रमितको अवस्था झन् भयावह छ। दिनानुदिन संक्रमण बढिरहेका छन्। विभिन्न कारण आफ्नो देश छाडेर परदेशिएका मानिस झनै बढी त्रासमा बाँचिरहेका छन्। पढाई र रोजगारीका सिलसिलामा विदेशिएका नेपाली पनि अधिकांश देशमा ‘लकडाउन’ मा परेका छन्। रोजगारीका सिलसिलामा बहराइन पुगेका ३५ हजार नेपालीमध्ये ४९ जनामा संक्रमण भइसकेकाे छ। नेपालीको अवस्था, सम्भावित जोखिमबाट बचाउन भइरहेका प्रयासबारे बहराइनस्थित नेपाली राजदूत पदम सुन्दाससँग बिएल नेपाली सेवाका लागि मनीषा अवस्थीले गरेको कुराकानीः 

कोरोना भाइरसका कारण बहराइनको समग्र अवस्था कस्तो छ?

बहराइनमा कोरोना भाइसको संक्रमण फैलिएको २ महिना बित्न लागेको छ। पहिलोपटक फेब्रुअरी २१ मा देखिएको थियो। सुरु सुरुमा यहाँ इरानबाट आउनेलाई मात्रै संक्रमण भएको थियो। अहिलेसम्म बहराइनमा कूल १८ सय ७३ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये ७ सय ५९ जना निको भएर घर फर्किसकेका छन् भने ११ सय ७ जना उपचारार्थ छन्।  

सुरुमा यहाँ तीर्थाटनका लागि इरान गएकाले भाइरस बोकेर आएका थिए। अहिले पनि अधिकांश इरानबाटै आउने र उनीहरूको सम्पर्कमा रहने मानिस संक्रमित भेटिदै छन्। 

यहाँको उपचार प्रक्रिया, अस्पतालको अवस्था एकदमै राम्रो छ। विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर उपचार भइरहेको छ। उपचार निको भएर घर फर्किनेको प्रतिशत हेर्दा  चीनपछि दोस्रो नम्बरमा बहराइन छ। यहाँ कोरोना संक्रमण चेकजाँच गर्न एउटा मोबाइल टिम नै बनाइएको छ। सूचना पाउने वित्तिकै त्यो टिम सक्रिय भइहाल्छ। यसैगरि यहाँ ५ हजार बहराइनी स्वयम सेवकका रुपमा खटिएका छन्। उनीहरूले घरघरमा गएर मानिलाई सचेत गराउने र शंका लागेमा तत्काल खबर गरिदिने काम गरिरहेका छन्।  

त्यहाँ रहेका नेपालीको अवस्था के छ?

बहराइनमा अहिले सरकारी तथ्यांकअनुसार करिब ३५ हजार नेपाली छन्। यहाँ रहेका नेपालीमध्ये हालसम्म ४९ जनामा कोरोेना भाइरस संक्रमण फेला परेको छ। मार्च २२ देखि नेपालीमा सर्न सुरु भएको हो। पहिलो पटक ३ जना नेपालीमा संक्रमण देखिएको थियो।  त्यसपछि अप्रिल २ मा अरु ९ जनामा देखियो। अप्रिल ८ मा फेरि १० जना थपिएर २२ पुगे। अहिले २७ जना थपिएर ४९ पुगेकाे छ। उहाँहरूलाई विभिन्न ३ वटा स्थानका अस्पतालमा उपचार गरिदै छ। 

यहाँ कानूनी ढंगले काम गरिरहेका नेपालीलाई अहिलेसम्म खान बस्नको समस्या परिहालेको छैन। काम रोकिए पनि पहिला कमाएको कामबाट खाइरहेका छन्। अधिकांशका सम्बन्धित कम्पनीले जिम्मा लिएका छन्।  

बहराइनमा केही नेपाली अबैध बसिरहेका छन् भन्ने सुन्नमा आएको छ। त्यस्ता व्यक्तिको अवस्था केहि बुझ्नुभएको छ?

यहाँ अबैधानिक रुपमा नेपाली करिब अढाई सयजति होलान भन्ने अनुमानित तथ्याङ्क छ।  उनीहरु कम्पनी छाडेर गैरकानूनी ढंगले बसेका हुन्। उनीहरुमध्ये केहि स्थानीय रुपमा ‘फ्लेक्सी पर्मिट’ भनेर अरु कुनै पनि कम्पनीको मातहतमा नबसेर आफै विभिन्न प्राविधिक क्षेत्रमा काम गरिरहेका छन्। त्यस्ता व्यक्तिको निश्चित काम हुँदैन, जसले जहाँ बोलायो उतै गएर काम गरिरहेका हुन्छन्। उनीहरु भने अहिले बेरोजगार भएर बसेका छन्।

त्यसबाहेक केही व्यक्ति लामो समयदेखि यहाँ बस्दै आएका छन्। जस्तो एक जना व्यक्ति बिगत ३५ वर्षदेखि बहराइनमा बस्दै आएका थिए।उनलाई हामीले नेपाल फर्काउन पहल गरेका थियौं। तर भिषाको समस्याका कारण फर्काउन सकिएन। 

तर भर्खरै यहाँको सरकारले एउटा निर्णय गरेको छ। आगामी डिसेम्बरसम्म यहाँ गैरकानूनी ढंगले बसेका गैरबहराइनीलाई कुनै पनि कारबाही नहुने र त्यो अवधिमा आफ्नो देश फर्किनसक्ने निर्णय गरेको छ। त्यसकारण अब खुलेपछि त्यस्ता गैरकानूनी ढंगले तथा ‘फ्लेक्सी पर्मिट’ मा बसेकालाई घर फर्काउन सकिन्छ। 

दुतावासमा नेपालीले आफ्ना समस्या लिएर फोन गर्छन् कि गर्दैनन्, कस्ता खाले समस्या आउँछन्?

यहाँ रहेका सबै नेपाली कुनै न कुनै संघसंस्थासँग आवद्ध छन्। तिनै संघसंस्थाले आवश्यक समन्वय गरिरहेको छ। त्यसकारण कोरोनाको प्रभाव यहाँ देखिसकेपछि भने त्यति धेरै फोन आउने गरेको छैन। आइहाल्यो भने पनि कहिले खुल्छ होला भन्नेजस्ता प्रश्न आउने गरेका छन्। 
बरु यसअघि कोरोना भाइरसको हल्लाको बेला फोन आउने गथ्र्यो। त्यो बेला नेपाल जान पाउँ, हामीलाई कम्पनीले पैसा दिएन भन्नेजस्ता कुरा आउँथे। 

त्यहाँ रहेका सबै नेपाली कामदारको अवस्थाबारे केही जानकारी छ?

अहिले त्यस्ता सबै स्थानमा दूरी कायम गरिएको छ। विश्व स्वास्थ्य संगठनले भनेजस्तै सुरक्षा सजगताका उपाय अपनाउने हरदम प्रयास यहाँ पनि गरिएको छ। एउटा कुनै क्याम्पमा एउटा मात्रैलाई पनि सरेको थाहा पाइयो भने सिंगै क्याम्पको मानिसलाई लगेर क्वारेन्टाइनमा राख्ने र चेकजाँच गर्ने गरिएको छ। 

यसैगरी अहिले काममा जानेलाई पनि बिहान ज्वरो नापेर पठाउने र बेलुका फर्किदा पनि नापेर भित्र पस्न दिने गरिएको छ। मास्क अनिवार्य लगाउने व्यवस्था गरिएको छ भने पाँचभन्दा बढी मानिस एकै ठाउँमा बस्न पाउँदैनन्। त्यसैले नेपाल पनि सुरक्षित छन् ।

त्यहाँ रहेका नेपाली  परिवारसँग छुट्टिएर बस्नु पर्दा त्रासमा होलान्। दुतावासले मनोपरामर्श के कस्तो दिने गरेको छ?
दुतावासले अहिले प्रत्येक दिन सूचना दिने गरेको छ। प्रत्येक दिनको सूचनामा हामी धैर्य गरेर आफ्नो मनोबल उच्च राख्न आग्रह गरिरहेका छौं। नयाँ वर्ष बैशाख १ गते बिहानै पनि मैले धैर्यधारण राख्न र मनोबल उच्च राख्दै यहाँका सरकारले दिएका निर्देशन पालना गर्न आगह गरेको थिए।  

यहाँ रहेका नेपालीलाई समस्या परे दुतावासले सहयोग गरिहाल्छ। अन्य संघसंस्था पनि अत्यन्तै सकारात्मक छन्। दुतावास र संघसंस्थाको एउटा समन्वय समिति पनि छ। त्यो समिति दुतावाससँग सबै किसिमको समन्वय गर्न तयार छ। 

त्यहाँ संंक्रमणको अवस्था बढेर नेपाली अफ्ठेरोमा परे भने त्यस्तो अवस्थाको सामनाका लागि के कस्तो तयारी भइरहेको छ?
गत हप्ता मात्रै यहाँका प्रधानमन्त्री र हाम्रा प्रधानमन्त्रीबीच टेलीफोन वार्ता भएको थियो।  जसमा यहाँका प्रधानमन्त्रीले बहराइनवासीलाई गरिएजस्तै नेपालीको उपचार तथा हेरचाह गरिने प्रतबिद्धता जनाउनुभएको छ। त्यसकारण यहाँ त्यति अफ्ठेरो पर्दैन भन्ने हामीलाई विश्वास छ। जतिसुकै संकट आए पनि यहाँका अस्पताल तथा उपचार सेवा उच्च श्रेणीको भएकाले हामीले ल्याएर क्वारेन्टाइनमा राखे पनि प्रभावकारी हुँदैन। बरु यहाँको सरकारसँगै निरन्तर समन्वय गरेर नेपालीको हेरचाह तथा उपचारका लागि समन्वय गर्नु उपयुक्त हुन्छ। हामी आत्तिहाल्नुपर्ने अवस्था छैन।  

अन्त्यमा, बहराइनमा रहेका नेपाली समुदायलाई के भन्नुहुन्छ? 

अहिले यहाँ बहराइन सरकारले जे निर्देशन दिएको छ। त्यसको अनुशासित भएर पालना गरौंं। यसैगरी सुरक्षाका सबै उपाय पनि प्रभावकारी रुपमा पालना गर्ने, आफ्नो ज्यानका लागि आफू नै सचेत होऔं भन्न चाहन्छु।  

यो भन्दा अर्को प्रभावशाली विकल्प छैन। त्यस्तो केही समस्या परिहाल्यो भने यहाँको सरकारको नम्बर दिइएको छ। हाम्रो दुतावासको नम्बर दिएका छौं। त्यसमा फोन गर्नुहोस् हामी जसरी हुन्छ सहयोग गर्नेछौं। 

प्रकाशित मिति: : 2020-04-19 19:06:00

प्रतिकृया दिनुहोस्