कोरोनालाई जितेका कञ्चनपुरका बिक भन्छन्– ‘नआत्तिनुस्! सावधान रहन आवश्यक छ’

कोरोना भाइरसको संक्रमणलाई जितेर बुधबार घर फर्किएका कञ्चनपुरका इन्द्रबहादुर बिकले यो महामारीसँग नअतालिन सबैसँग आग्रह गरेका छन्। 

धनगढीको सेती प्रादेशीक अस्पतालबाट दिउँसो पूर्णरुपमा निको भइ बाहिरिएका बिकले भने, ‘कोरोनासँग आत्तिनु पर्ने केही छैन। यसलाई जित्न सकिन्छ। खाली सावधानी अपनाउन जरुरी छ।’

भारतको उत्तराखण्डमा मजदुरी गर्न गएका बिक भारतले ‘लकडाउन’ को घोषणा गरेपछि महेन्द्रनगरकाे गड्डाचाैकी नाकाबाट नेपाल प्रवेश गरेका थिए। उनलाई पछि कोरोना संक्रमणको पुष्टी भएको थियो। 

करिब तीन साता सेती अस्पतालको क्वारेन्टाइनमा बसेर उपचार गराएका बिक बुधबार बाहिर निस्किँदा निकै खुसी देखिन्थे। 


सेती अस्पतालमा कोरोना संक्रमणको उपचार गराइरहेका ५ जनामध्ये तीन जना ठिक भएर बाहिरिएका छन्। अब दुई जना बाँकी रहेको अस्पतालले बताएको छ। उनीहरूको अवस्था पनि सुधारोन्मुख रहेको र केही दिनमै डिस्चार्ज हुन सक्ने चिकित्सकहरूले बताएका छन्।

   
 

प्रकाशित मिति: : 2020-04-22 18:34:00

प्रतिकृया दिनुहोस्