स्थानीय निकायकाे उपेक्षाले अपाङ्ग, वृद्धवृद्धा तथा एकल महिलाले भत्ता पाएनन्

जीवन बनिया

रुपन्देही

कोरोना भाइरसकाे संक्रमणका त्रासमा स्थानीय निकाय राम्राेसँग सञ्चालन नहुँदा एकल महिलादेखि बृद्धबृद्धासम्म प्रभावित बन्न थालेका छन्। सरकारले सामाजिक सुरक्षा भत्ता समयमा उपलब्ध गराउन नसक्दा प्रदेश नम्बर– ५  स्थित रुपन्देहीको मायादेवी गाउँपालिकामा रहेका एकल महिलादेखि बृद्धबृद्धा प्रभावित बनेका हुन्। 

सरकारले उपलब्ध गराउँदै आएकाे सामाजिक सुरक्षा भत्ता यहाँका जनताले फागुन महिनाकाे अन्त्यसम्म पाइसक्नु पर्ने थियाे। तर अहिलेसम्म पाएका छैनन्। डेढ महिनासम्म भत्ता नपाउँदा घर चलाउन समस्या भएकाे मायादेवी गाउँपालिका–४ रमवापुरकी एकल महिला काेइली काेहाँरले बिएल नेपाली सेवालाई जानकारी दिइन। 

‘भत्ता नपाउँदा हाम्राे बिजाेग भएकाे छ। बन्दले अहिले तरकारीकाे मूल्य आकासिएकाे छ। घरमा किन्न पैसा छैन,’ उनले भनिन्। उनी राेजमर्राकाे कुरामा स्थानीय निकायलाई गम्भीर बनिदिन आग्रह गर्छिन्। काेहलीका ४ छाेरा र १ छाेरी छन्। यसमध्ये दुई छाेराकाे बिहे भइसकेकाे छ भने उनी माइलाे छाेरासँग बसाेबास गर्दै आइरहेकी छिन्। 

काेइलीकाे श्रीमानकाे १० वर्षअघि बिरामीका कारण निधन भएकाे थियाे। यिनी एक उदाहरण मात्र हुन्, सामाजिक भत्ता नपाउँदा अरु पनि थुप्रै अन्याैलमा परेका छन्। 

मायादेवी गाउँपालिका अध्यक्ष ध्रुबनारायण चाैधरी काेराेना भाइरसकाे कारण भत्ता वितरण गर्न कठिनाई भएकाे बताउँछन्। उनले बिएल नेपाली सेवासँगकाे कुराकानीमा अब केही दिनमै भत्ता उपलब्ध गराउने बताउँछन्। ‘कर्मचारीले टेर्दै टेर्दैनन्। सम्पर्क गर्नै गाह्राे भइरहेकाे छ,’ उनले आफ्नै गुनासाे सुनाए। 

उनले वडा सचिवहरुसँग अपाङ्गता भएका व्यक्ति, बृद्धबृद्धा र एकल महिलाको घरघरमा पुगेर भत्ता कसरी वितरण गर्ने विषयमा छलफल भइरहेकाे बताए। उनले चाैतर्फी दबाबपछि भत्ता छिटाे उपलब्ध गराउने व्यवस्था मिलाउन लागेकाे स्विकार गरे। 

प्रकाशित मिति: : 2020-04-27 18:34:00

प्रतिकृया दिनुहोस्