कोरोना के हो ?

मधुसूदन भट्टराई

(म्यान्मार, हाल बनारस)

कोरोना के हो?

देव हो कि, दानव?

खै के मानौं म

देव भनौं पनि कसरी

जसमा कुनै दया छैन

कुनै भावना छैन

सहानुभूति छैन, समवेदना छैन

कुनै व्यक्ति विशेषको भाषा सुन्दैन

कसैको अभिलाषा सुन्दैन

बस! निष्ठुरता पूर्वक

सारा विश्वमा आफ्नो आधिपत्य जमाउन

हृदय विदारक चुनौती दिइ रहेको छ

रातोदिन आक्रमण गरिरहेको छ

एक पछि अर्कोलाई लाचार बनाइरहेको छ।

 

दानव भनौं पनि कसरी

वेदनाग्रस्त मातृ तुल्य प्रकृतिको पुकारबाट

जागेको छ ऊ

तँ भन्दा म के कम्ती भन्ने

शक्तिप्रदर्शनको प्रतियोगिताले

पीडित प्रकृति प्रति

अभद्र व्यवहार गर्नेलाई

चुनी चुनी बदला लिन

लागेको छ ऊ

मानवलाई मानवताको

शिक्षा दिइ रहेको छ

के गर्नु पर्ने थियो

के गरियो

अब के गर्ने हो भन्ने

विवेकीय समिक्षा दिइ रहेको छ।

 

यो कोरोना वास्तवमा

न देव हो न दानव हो ?

वास्तवमा यो मानव कै कर्मको प्रतिफल हो

यो मानव कै प्रतिरूप हो

यो विषय ग्राहीले ओकलेको विष हो

हन्तकालीहरूको लागि अन्तकाली हो

काल की अर्धाङ्गी महाकाली हो

तर जे होस्

अब तर्क - वितर्क - कुतर्क गर्नु भन्दा

सतर्क हुन आवश्यक छ

अब

आरोपित दोषमा भन्दा

उत्तेजित जोशमा भन्दा

अाक्राेषित रोषमा भन्दा

सुशान्त सभ्य र सदाचारमयको

आफ्नै होशमा हुन आवश्यक छ।

प्रकाशित मिति: : 2020-05-02 16:15:00

प्रतिकृया दिनुहोस्