माधव नेपालले भने– प्रचण्डजी र मेरो सहयात्रा जारी हुन्छ

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफू र अध्यक्ष प्रचण्डबीचको सहयात्रा जारी हुने बताएका छन् । प्रचण्डसँग आइतबार खुमलटारमा गएर भेटघाट गरेपछि नेता नेपालले आफूनिकट स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यलाई यस्तो बताएका हुन् ।

नेपालसँग भेट गरेका उनीनिकट स्थायी कमिटी सदस्य रघुजी पन्तले बिएल नेपालीसेवासँग भने, ‘ हिजो मैले माधवजीसँग कुरा गरेको थिएँ । प्रचण्डजी र माधवजीको एकै ठाउँमा हुनुहुन्छ, उहाँहरुबीचको सहयात्रा जारी हुन्छ ।’

नेकपा सचिवालयमा शनिवार नाटकीय ढंगले नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्मालोचना गर्दै विवाद अन्त्यको घोषणापछि नेता नेपालले आफूलाई धोका भएको हो कि भनी आशंका व्यक्त गरेका थिए । यसबारे उनले आइतबार अपरान्ह प्रचण्डसँग करिब दुई घन्टा छलफल गरेका थिए । 

सचिवालय बैठकमै नेता नेपालले  भनेका थिए, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जाने कुरा पनि ठीक छ तर दुई जनाको चोचोमोचो चाँहि मानिन्न ।’

नेकपा सचिवालयको शनिबारको बैठकअघि अध्यक्षद्वयले करिब पौने घन्टा एक्लाएक्लै छलफल गरेपछि दुई अध्यक्ष सहमतिमा पुगेका थिए । यसबाट पार्टीभित्रका तेस्रो शक्तिशाली नेता नेपालनिकट नेताहरू पनि सशंकित भएका थिए । आफ्नाे जानकारीबिना नै प्रचण्डले केपी ओलीसँग सहमति गरेपछि नेता नेपाल  निकै गम्भीर भएका  थिए ।

यसैबार छलफल गर्न वरिष्ठ नेता नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई आइतबार ३ बजे र स्थायी कमिटी सदस्यहरूलाई ४ बजे आफ्नो निवासमा डाकेका थिए । केन्द्रीय सदस्यलाई ३ बजे बोलाएको भए पनि नेता नेपाल प्रचण्डलाई भेट्न खुमलटार गएकाले त्यहाँ छलफल लम्बिएपछि ४ बजेमात्र निवास फर्केका थिए । 

अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाएको भनिए पनि ढिला भएकाले नेपालले आफूनिकट केन्द्रीय सदस्यको कुरा सुन्न भ्याएनन् । स्थायी कमिटी सदस्यहरू आइसकेकाले उनले केन्द्रीय सदस्यहरुलाई परिस्थितिको सामान्य ‘ब्रिफिङ’ गरेका थिए ।

नेपाल निवासमा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुजी पन्छ, बेदुराम भुसाल गएका थिए । गत महाधिवेशनमा नेपाल प्यानलबाट जितेका साविक एमालेका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईलाई भने डाकिएको थिएन । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा भुसाल कृषिमन्त्री र भट्टराई पर्यटन मन्त्री रहेका छन् ।

प्रचन्डलाई भेटेर फर्केपछि नेपाल तनाबमुक्त देखिएका थिए । ‘म भर्खरै प्रचण्डजीलाई भेटेर आउँदैछु । प्रचण्डजीले ओलीसँगको छलफल लगत्तै सचिवलय बैठक बसिहालेकाले बैठकअघि तपाईंलाई त्यो समझदारीबारे बताउन नपाएको हु भन्नुभो’, नेपालले भनेका थिए, ‘जे हाम्रो हिजोको समझदारी र योजना थियो, त्यसैअनुसार अघि बढ्ने हो । पार्टीलाई विधि र प्रक्रियामा अघि बढाउनुपर्छ, त्यसमा कुनै सम्झौता हुँदैन ।’

नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई दिएको जानकारीअनुसार, तीन दिनपछि बैशाख २५ गते डाकिएको स्थायी कमिटी बैठकमा दुवै पक्ष मिलेर प्रस्तुत हुने बताइएको छ । ओलीसँग भएका सहमतिका विषय स्थायी कमिटी बैठकबाट निर्णय गराएर कार्यान्वयनमा लाने समझदारी भएको प्रचण्डले जानकारी दिएका थिए ।

ओली र प्रचण्डबीच भएको भनिएको समझदारी आगामी बैशाख २५ गते स्थायी कमिटीमा ठोस प्रस्ताव ल्याउने समझदारी भएको पनि उनले जानकारी दिएका थिए । ओली र प्रचण्डबीच भएका यसअघिका सहमति कार्यान्वयन गरेर जाने, प्रधानमन्त्री ओलीलाई पार्टीले सहयोग गर्ने, प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टी सञ्चालन गर्ने, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललाई सम्मानजनक जिम्मेवारी दिने र वामदेव गौतमलाई प्रतिनिधिसभामा लिएर सम्मानजनक भूमिका दिनेबारे सहमति भएको स्रोतको दाबी छ । 

त्यसैगरी, प्रधानमन्त्री ओलीले वर्तमान सरकारका केही मन्त्रीहरु हेरफेर गर्ने प्रतिबद्धता जनाएका छन् । दोहोरो जिम्मेवारी भएका मुख्यमन्त्रीको दोहोरो जिम्मेवारी झिक्ने क्रममा एक–दुई जना मुख्यमन्त्री पनि सन्तुलनका लागि फेरिन सक्ने स्रोतको दाबी छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकबाट पार्टीका जिम्मेवारी पनि हेरफेर गरी सन्तुलन मिलाएर जानेबारे प्रधानमन्त्री ओलीसँग सहमति भएको ‘ब्रिफिङ’ नेता नेपाललाई जानकारी दिएको पनि स्रोतको दाबी छ । 

प्रकाशित मिति: : 2020-05-04 11:27:53

प्रतिकृया दिनुहोस्