बलिउड नायक आमिर खानको बिषयमा केही दिन यता सामाजिक संजालमा एउटा खबर फैलिएको छ। कोरोना महामारीका पीडित मजदुरहरुलाई आमिरले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरे।
यस्तै आमिरले नयाँ तरिकाबाट गरेको सहयोगको बारेमा टिकटकहरु बनाइयो। नेपाली सामाजिक संजालमा समेत उक्त काम आमिर खानले गरेका हुन् भन्दै आमिरको प्रशंसा भइरहेको छ।
भिडियोका अनुसार आमिरले अप्रिल २३ मा दिल्लीको एक क्षेत्रमा एक ट्रकभरी गहुँको पिठो वितरण गर्नका लागि पठाए। एक परिवारले एक किलोको पिठो पाउने भनिएको थियो। तर धेरैजसो केवल एक किलो पिठो मात्र भन्दै पिठो लिन मानेनन्।
तर, केहिले भने उक्त सहयोग स्वीकार गरे। टिकटक भिडियोका अनुसार हरेक गरिब परिवार जसले एक किलोको पिठो लिएर घर गएका थिए,ती हर प्याकेटमा १५ हजार भारतीय रुपैयाँ पनि थियो।
वास्तविक गरिबहरुले सहयोग पाउन् भन्ने उद्धेश्यका साथ यो योजना आमिर खानले बनाएको भिडियोमा दाबी गरिएको थियो।
तर,आमिरले यो बिषयमा स्पष्टिकरण दिएका छन्। उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो। यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन। धेरै धेरै माया छ।’
नायक आमिर खानले लक डाउनपछि विभिन्न तरिकाले सेवा गरिरहेका छन्। उनले भारत सरकारको कोरोना नियन्त्रण कोषका साथै चलचित्र क्षेत्रका दैनिक ज्याला मजदुरी गर्नेहरुलाई पनि सहयोग गरेका छन्।
आमिर हाल आफ्ना परिवारसँग क्वारेन्टाइनमा छन्। उनी पछिल्लो पटक अभिनेता ऋषि कपुरको अन्त्येष्टिमा देखिएका थिए।