बारामा नेपाली र भारतीयबीच झडप, केही नेपाली घाइते

बाराको बिश्रामपुर गाउँपालिका वडा नं‍. ४ बलिरामपुरमा नेपाली र भारतीयबीच झडप भएको छ। मंगलबार बिहान भएको झडपमा केही नेपाली घाइते भएका छन् । 

झडपमा अशोक कुमार साह, कमलेश शर्मा, हिरालाल शर्मा, दीपक शर्मा, छोटेलाल साह, मदन साह लगायत घाइते छन्। अशोकको टाउकोमा चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मदन प्रसाद यादवले जानकारी दिए। 

नेपाल भारत सिमा क्षेत्र नजिकै दशगजासँग जोडिएको इलाकामा बलिरामपुरका स्थानीय छोटेलाल साहलाई भारतीय एसएसबीले अनाहकमा कुटपिट गरेको विषयलाई लिएर झडप भएकाे हाे।

'पानी परिरहेकाले खेत जोत्नका लागि योग्य छ कि छैन भनेर हेर्न गएको बेला मलाई भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका जवानले कुटपीट गरे,उनले भने,'आफूलाई कुटपिट गरेपछि घटनाको बारेमा गाउँमा जानकारी गराएसँगै दोहोरो झडप भएको हाे।'

एसएसबीविरुद्ध नेपालीहरु जाइलागेपछि भारतीय पनि लाठी/भाटा लिएर आएपछि सिमा क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो। पछि दुवै तर्फका सुरक्षाकर्मीले स्थानीयलाई सम्झाइबुझाइ गरेर स्थिति सामान्य पारेको  बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए । 

'दुवै तर्फका प्रहरीहरुको सुझबुझका कारण अवस्था तत्काल नियन्त्रणमा लिएका छै,उनले भने, अहिले स्थिति अहिले सामान्य छ।' लकडाउनलाई कडाइ गर्न बारा, पर्साका सीमा क्षेत्रमा अहिले थप सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरिएको छ ।

यता भारतीय एसएसवी फोर्सले भने सोमबार बेलुकी बलिरामपुरका केही युवाले तस्करी गर्न नपाएको झोकमा एसएसबीका एक जवानलाई कुटपिट गरेको दावी गरेको छ।

प्रकाशित मिति: : 2020-05-05 15:22:11

प्रतिकृया दिनुहोस्