भारतीय एसएसबी र आईटिबिपीका भरिया यार्सागुम्बा टिप्न त्रिदेशीय सीमा ब्यासतिर

सुदूरपश्चिमको उत्तरी त्रिदेशीय महत्वपूर्ण सीमा दार्चुलाको ब्यासमा कोही नभएको मौका छोपी भारतीय सुरक्षा वल एसएसबी (शसस्त्र सीमा बल) र आईटिबिपी (ईण्डो तिब्बत बोर्डर पुलिस) का समान बोक्ने नेपाली भरियाहरू यार्सागुम्बा खोज्न ब्यास क्षेत्र पसेका छन्।

भारतसँगका परम्परागत नाका बन्द भएको अवस्थामा कुनै पनि सरकारी अवस्थिति नभएको सितापुल नाकाबाट सयौं नेपाली व्यास पुगेको स्थानीय जगत बहादुर ऐतवालले बिएल नेपाली सेवालाई जानकारी दिए।

यो क्षेत्रमा भारततीर  ठूलो संख्यामा रहेका चीन लक्षीत भारतीय सुरक्षा फौजलाई अनेकौ आवश्यक सामाग्री पुर्‍याउने नेपाली मजदुरलाई फर्किँदा सितापुलबाट नेपाल पसाउन थाले पछि ब्यासमा भीड भाड बढेको ऐतवालले बताए।

भारतीय सुरक्षाकर्मीले लक डाउनका कारण भारत तिर फसेका नेपाली मजदुरलाई पनि भारतमा बस्न नदिएर  ब्यासको सितापुल नाका देखाउने गरेका छन्। उनीहरूलाई आकर्षित गर्न यार्सागुम्बा समेत पाईने लोभ दिने गरिएको छ। अहिले ब्यासका महत्वपूर्ण क्षेत्र अपि, नाम्पा, बुदीपोला, कुन्तिसौ र  दुँहु गाउपालिकाको फारा र पासु क्षेत्रमा रुकुम, रोल्पा, हुम्ला, जुम्ला र मुगुका नेपाली यार्साको खोजीमा पुगेको स्थानीयले बताएका छन् ।

ब्यासमा नेपालका दुई महत्वपूर्ण गाउँ छांग्रु र तिंकरमा बस्ने स्थानीय सौका समुदाय कोरोना संन्त्रासका कारण सदरमुकाम खलंगामै फसे पछि व्यासमा उनीहरुको चहल पहल बढेको हो ।

नेपालका प्रमुख जनजातीमा सामेल सौका समुदाय हरेक वर्ष ब्यासमा चिसो बढेपछि असोजमा सदरमुकाम खलंगा झर्छन् भने वैशाखमा फेरि व्यास फर्किन्छन्। यो सदरमुकाम झर्ने र फर्किने परम्परालाई उनीहरुको भाषामा कुंचा सर्ने भनिन्छ ।

कोरोनाले अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा सौका समुदाय ब्यास फर्किन पाएका छैनन् भने नेपाल तिरको पैदल बाटो जोखीमपूर्ण छ। ब्यास पुग्न दुई दिन कालीका तिरैतिर भारतीय भूमिमा उत्तर हिँडनु पर्ने हुँदा  सौका समुदायलाई भारतको धार्चुला प्रशासनले  भारतमा हिँडन पासको व्यवस्था गरेको हुन्छ ।

ब्यासमा कालीमाथि स्थानीयले बनाएको भारत जोड्ने महत्वपूर्ण सीतापुल नाका र तिब्बत र जोडने तिंकर नाका रहेको छ भने विवादीत कालीको मुहान लिम्पियाधुरा र जबरजस्ती कालीको मुहान बनाईएको कालापानी यसै क्षेत्रमा पर्छ।

जैविक विविधताको खानी ब्यास क्षेत्र अपि नाम्पा संरक्षण क्षेत्रका नाममा संरक्षीत मुलकको कान्छो संरक्षण क्षेत्र भए पनि यहाँ राज्यको उपस्थिति विरलै हुन्छ। संरक्षण क्षेत्रको प्रमुख कार्यालय पनि सदरमुकाम खलंगामै छ।

भारतसँगको नाका छांग्रुमा सीतापुल भन्सार र नाम मात्रको अस्थायी नीर्जीव प्रहरी चौकी छ भने तिब्बती नाका तिंकरमा  पनि भन्सार र प्रहरी चौकीका भत्किएका संरचना मात्र छन्।

जहिले अन्तर्राष्ट्रिय सीमा विवादमा चर्चामा आईरहे पनि सरकारको ब्यासमा शसस्त्र प्रहरी गुल्म राख्ने योजना हरेक वर्ष कागजमा सिमीत हुँदै आएको छ।

ब्यासको ठिक पारी भारततिर छियालेक, गुंजी, नाभी  र कुटी  कालापानी हुँदै लिपुलेकसम्म हजारौंको संख्यामा रहेका  भारतीय एसएसबी र आईटिबीपीका चीन लक्षीत सयौं अत्याधुनिक क्याम्पहरू छन्।

ब्यासबाट नेपाली सदरमुकाम झरे पछि भारतीय सुरक्षा फौज पनि हरेक वर्ष ब्यास पसेर प्राकृतिक दोहन गर्दै आएका छन्।  ब्यास पारी भारतीय क्षेत्र छियालेक छोडेर सबैतिर सुख्खा हिमाली मरूभूमि जस्तो वातावरण छ भने नेपाल तिर  हिमाली वनस्पति र वन्यजीवनको अलौकिक हराभरा संसार छ।

दक्षीण एसियाबाट हिन्दु र बौद्ध धर्मावलम्बीको तिब्बतस्थित पवित्र साझा तिर्थस्थल कैलाश मानससरोवर जोडने सबैभन्दा छोटो पैदल बाटो पनि ब्यास भएर नै जान्छ। दार्चुला सदरमुकाम खलंगाबाट चार दिन हिँडदा तिब्बती पठारको मानसरोवर र  कैलाश पर्वत चुम्न सकिन्छ।

प्रकाशित मिति: : 2020-05-13 11:41:22

प्रतिकृया दिनुहोस्