माडी गाउँपालिका, राेल्पा

बाउ–बाजेको विरासत फर्काउने दाउँमा घर्तीगाउँका विजय

माधवकुमार ओली

माडी, रोल्पा

‘तिमी, हामी मिलौं, घर्तीगाउँ पेलौं’– कुनै बेला रोल्पाको राजनीतिमा घर्तीगाउँको ठूलो प्रभाव थियो।

...त्यसैले पनि जिल्लाको राजनीतिमा घर्तीगाउँको चर्चा चल्दै आएको थियो। तर देशमा राजनीतिक परिवर्तन आएसँगै घर्तीगाउँका नेताहरूको प्रभाव विस्तारै कमजोर हुँदै गएको पाइन्छ।

त्याे गर्वलाग्दाे ऐतिहासिक रापतापलाई फर्काउन जिल्ला विकास समितिका तत्कालिन सभापति अमृतबहादुर घर्तीमगरका छोराहरू कृष्णबहादुर घर्तीमगर र विजय कुमार घर्तीमगर प्रयासरत छन्। यसै क्रममा आसन्न स्थानीय तहको निर्वाचनमा बाउ–बाजेको विरासतलाई फर्काउन तत्कालीन घर्तीगाउँ हालको माडी गाउँपालिकामा विजय कुमार घर्तीमगरको चर्चा सुरू भएको छ। नेकपा (एमाले)को तर्फबाट माडी गाउँपालिकाको अध्यक्षमा घर्तीको उम्मेदवारीले त्यहाँको राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ।

यस्तो छ विजयको राजनीतिक यात्रा

२०४६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा होमिएका विजय तत्कालिन जनमोर्चा निकट मानिने अनेरास्वयूमा आवद्ध भएका हुन्। त्यसपछि २०४८ सालमा काँग्रेस निकटको नेविसंघको राजनीति गरेका विजय २०५३–५४ मा शिक्षण पेशामा समेत आवद्ध भएका थिए। दुई वर्षको शिक्षण पेशा पछि व्यापार व्यवसायमा लागेका उनी २०५७ सालदेखि माओवादीको भूमिगत राजनीतिमा होमिएका थिए।

देशमा हुने वेथितिको विरूद्धमा उभिने शक्तिमा लाग्दै आएका विजय तत्कालीन माओवादीको जिल्ला कमिटी सदस्य भएर काम गरेका थिए। लगतै माओवादीको विकल्पमा रहेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको महाधिवेशन आयोजक समिति सदस्य बने। त्यसपछि फेरि माओवादी हुँदै एमालेसँगको एकता–ताकाे नेकपाको जिल्ला सदस्य भएका विजय हाल एमाले जिल्ला कमिटी रोल्पाको उपाध्यक्ष छन्।

यस्ता छन् जित्ने आधार

विगत २०–२२ वर्षदेखिको निस्वार्थ राजनीतिमा लागेका विजयले हालसम्म कुनै पनि लाभको पद लिएका छैनन्। उनी मात्र नभई सिङ्गो बाउ–बाजे र दाजुहरू पनि निस्वार्थ राजनीतिमा रहेकाले पनि सबैले रूचाउने गरेका छन्।

उनी गाउँपालिकाको अध्यक्षमा लड्ने भएपछि कांग्रेस र विप्लवले पनि साथ दिने उनको भनाई छ। ‘माओवादी केन्द्रबाट फुटेर अहिले हामीले आफ्नो संगठन पनि राम्रो बनाएका छौं,’ उनले भने ‘अधिकांश इमान्दार कार्यकर्ताहरू हामीसँगै छन्।’ माओवादीहरूको वेथिति, अनैतिक कार्य प्रति जनताको वितृष्णा भएकाले पनि उनीहरूको विकल्पको रूपमा आफू उभिएको विजयको भनाई छ।

एमाले–कांग्रेसको गठबन्धन

अघिल्लो निर्वाचनमा एमाले र काँग्रेसको गठबन्धन भएको माडी गाउँपालिकामा फेरि पनि सोही गठबन्धन हुने सम्भावना देखिएको छ।

अघिल्लो पटक कांग्रेसका गोपाल घर्ती अध्यक्ष र एमालेका प्रेम घर्ती उपाध्यक्षमा लडेका थिए। यस पटक पनि एमालेलाई अध्यक्ष दिएर कांग्रसले उपाध्यक्ष लिने गरी गठबन्धन गर्ने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: : 2022-04-25 10:45:00

प्रतिकृया दिनुहोस्