नवरात्री महिमा

दशैँको पहिलो दिनकी देवी– शैलपुत्री

Breaknlinks
Breaknlinks

नेपालको राष्ट्रिय चाड दशैँ वास्तवमा साधारण चाड़–पर्व मात्र नभई ठूलो धार्मिक अनुष्ठानको रुपमा पनि स्थापित रहेको छ। 

पहाडी प्रदेशमा दशैँलार्ई रमाइलो चाड़को रूपमा मनाइन्छ भने तराई प्रदेशमा दशैँलाई माता भगवतीको तपश्चर्यपूर्वक अराधनाको रूपमा मनाइने परम्परा चलिआएको देखिन्छ। हिजोआज के पहाड, के तराई ! दुवैतिर शक्ति पूजाको प्रयोजनको लागि घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवरात्र व्रत बस्ने धार्मिक विश्वास भएका मनिसको संख्या दिनानुदिन बढ्दो छ। 

नौ दिनसम्म नवरात्र व्रत बस्न किन आवश्यक छ भने शक्ति स्वरुपिणी दुर्गा माताका नौ वटा रूपहरू मार्कण्डेय पुराणमा वर्णित छ।  जसअनुसार, ‘प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयम् चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकं।। पञ्चमम् स्कन्दमातेति षष्ठम् कात्यायनीति च। सप्तमम् कालरात्रीति महागौरीति चाष्टमम्।। नवम् सिद्धिदात्री च नव दुर्गा प्रकीर्तिताः।’ नवरात्रको पहिलो दिन भगवतीको शैलपुत्री रुपको अराधना हुन्छ भने दोश्रो दिन ब्रह्मचारिणी, तेश्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पा“चौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी तथा नवौ दिन सिद्धिदात्रीको रुपको अराधना हुन्छ। 

नौ दिनहरूमा भगवतीको नौवटा रूपहरूको अराधना गर्नुपर्ने भएको हुनाले नै नौ दिनको नवरात्र व्रतको सङ्कल्प हुने गर्दछ। ‘वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्। वृषारुढां शूलधरां शैलपुत्री यशस्विनीम्।।’ माता दुर्गा आफ्नो पहिलो स्वरुपमा शैलपुत्रीको नामले प्रसिद्ध छिन्। पर्वतराज हिमालयको घरमा उनको पुत्रीको रुपमा उत्पन्न भएकी हुनाले यिनको नाम शैलपुत्री रहन गएको हो। 

वृषभमाथि आरुढ शैलपुत्रीको दाहिने हातमा त्रिशूल तथा देब्रे हातमा कमल–पुष्प शुशोभित रहेका हुन्छन्। नवदुर्गाहरूमा प्रथम शैलपुत्रीको महत्व तथा शक्ति अनन्त छ। नवरात्रको प्रथम दिन भक्तहरूले अत्यन्त आस्था तथा भक्तिपूर्वक माता शैलपुत्रीको अराधना गर्ने गर्दछन्।
शक्ति पूजा गर्ने व्रतालूहरूले घटास्थापनाको दिन बिहानै नित्य क्रियापछि नदी–पोखरीको पवित्र जलमा स्नान गरेर नदी पोखरीको बालुवा ल्याई पूजा कोठामा बेदी बनाएर विधिवत् घटस्थापना गरी नौ दिनको व्रतको थालनी गर्दछन्। 

त्यस प्रकारले बनाइएको बेदीमाथि जौको दाना छरेर जमरा उमार्ने गर्दछन्। व्रतालूहरू दिनभरि निराहार बसेर बेलुकाको पूजा समापनपछि फलाहार गर्दछन्। कोही–कोही व्रतालूले अलिनो अन्न पनि खाएर व्रत बस्दछन्। 

यस प्रकारले शक्ति पूजा गर्ने व्रतालूहरू नौ दिनसम्म पूर्ण संयम तथा ब्रह्मचर्यको पालना गर्नुपर्ने आवश्यक हुन्छ। अझ भूमि शयन, वल्कल वस्त्र तथा पूर्ण उदासिन अवस्थामा रहनुपर्ने अनिवार्य हुन्छ। घटास्थापनाको दिनदेखि नै व्रतालूहरूले कपाल दाह«ी तथा नङ काट्न पूर्णरुपेण निषेधित हुन्छ। घटस्थापना भएको ठाउँमा नौ दिनसम्म अहोरात्र अखण्ड ज्योति बालिराख्नुपर्दछ। 

यस प्रकारले पूजा अराधना गर्दै जाँदा नवौँ दिनमा दशमांस मार्जन, दशमांस तर्पण तथा  पूर्णाहुति गरेर यस शक्ति पूजाको समापन हुने गर्दछ। दशौँ दिनमा जमरा काटेर विभिन्न देवी–देवताहरूलाई अर्पण गरेर स्वयम्ले धारण गरी दशैँ पूजाको समापन हुन्छ। 

यस शक्ति पूजाको सम्बन्धमा राजा सुरथसित महर्षि मेधा ऋषिले भनेका थिए–‘तामुपैहि महाराज शरणं परमेश्वरीम्। आराधिता सैव नृणां भोगस्वर्गापवर्गदा’।। महाराज तपाईंले तीनै भगवती परमेश्वरीको शरण ग्रहण गर्नुहोस्। उनी आराधनाबाट प्रशन्न भएर मानिसहरू लाई भोग, स्वर्ग र अपुनरावर्ती मोक्ष प्रदान गर्नुहुनेछ। 

यसै अनुसार, अराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएका थिए भने वैराग्यवान समाधि वैश्यले दुर्लभ ज्ञानद्वारा मोक्ष प्राप्त गरेका थिए। यदि वास्तवमा पूर्ण निष्ठा, सम्यक विधि विधान तथा श्रद्धापूर्वक भगवतीको नवरात्र अराधना गर्ने हो भने साधकले – यम् यम् चिन्तयते कामम् तम् तम् प्राप्नोति निश्चितम्। जे–जे चिताउँछ, त्यो अभिष्ट वस्तु निश्चय नै प्राप्त गर्न सफल हुन्छ। जीवेद् वर्षशतम् साग्रमपमृत्युविवर्जितः। 

शक्ति पूजा गर्ने साधक अपमृत्यु (अकाल मृत्यु यथा आगो, पानी, बिजुली तथा सर्पदंश आदिद्वारा हुने मृत्युलाई अपमृत्यु भन्दछन् ) बाट रहित भएर एक सय वर्षसम्म बा“चिरहन्छ। दशैँको यस पुनीत् अवसरमा हामी माता भगवतीसित यही प्रार्थना गरौँ– देवि प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोेऽखिलस्य। प्रसीद विश्वेश्वरी पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य।।

प्रकाशित मिति: : 2021-10-07 20:29:00

प्रतिकृया दिनुहोस्