प्रहरीले जथाभाबि पिटेको भन्दै मेयरकोमा डेलिगेसन

लकडाउन बढिरहेका बेला धनुषाको ढल्केबरमा ड्युटीमा रहेका प्रहरीले जथाभाबि कुटपिट गरेको भन्दै स्थानीयवासी मेयरकोमा डेलिगेसन नै आउन थालेका छन्।

ढल्केबर बजार र गाउँघरमा छिरेर प्रहरीले अन्धाधुन्ध सर्वसाधारणलाई लौरो र पाईपले पिटेको गुनासो लिएर आईतबार स्थानीय युवाको एक समूह मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोकोमा डेलिगेसन लिएर आएका थिए।

ढल्केबरस्थित मिथिला नगरपालिकाको कार्यालयमा डेलिगेसन आएका उनिहरूले मेयर महतोलाई कार्याकक्षमै भेटेर धेरैबेर सम्म प्रहरीको दुर्व्यवहारबारे गुनासो पोखेका थिए। 

मेयर महतोसमक्ष युवा अगुवा सर्वनाथ महतोले प्रहरीले ढल्केबर बजारमा औषधी किन्न आएका र हरियो सागपात र तरकारी बेच्न आएका किसान महिलालाई समेत अन्धाधुन्ध कुटपिट गरेकाले मेयरकोमा डेलिगेसन आउन बाध्य भएको बताए ।

डेलिगेसन आएका अर्का युवा तथा ढल्केबरका युवा ब्यापारी सन्तोष साहले बजारमा किनमेल गर्न बिहान अथवा बेलुकी कुनै एक निश्चित समय बजार खुल्ला गर्नुपर्ने माग आफूहरुको रहेको र ड्युटीमा रहेका प्रहरीहरुले अन्धाधुन्ध कुटपिट गरेकोमा भत्सर्ना गर्दै प्रहरीले बानीब्यवहार सुधार्नु पर्ने माग पनि आफूहरुको रहेको बताए ।

पीडितको गुनासो सुनिसकेपछि मेयर महतोले ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज प्रहरी निरिक्षक तिर्थ बहादुर कार्कीलाई मोबाईलबाट प्रहरी दुर्व्यवहारबारे जानकारी गराउँदै ड्युटीमा हिँडेका प्रहरीलाई सचेत बनाउन आग्रह गरेका थिए। प्रहरीलाई जथाभावि कुटपिट नगर्न आफूले सुझाएको जानकारी दिदै मेयर महतो भन्दै थिए ,‘स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर कुनै एक निश्चित समयको लागि अत्याबस्यक सामाग्री किनमेल गर्न ढल्केबर बजार खुल्ला गर्ने योजना छ।’

तर यसअघि स्थानीय बजार, संघ, नगरपालिका र ईलाका प्रहरी कार्यालय ढल्केबरको पहलमा बिहान एक समय सामाजिक दुरी कायम गरेर तरकारी बजार खोल्ने निर्णय गरे पनि निर्णय बिपरित बजारमा अश्वाभाविक भीड लाग्न थालेपछि बजार बसाल्न रोक लगाईएको थियो ।

ढल्केबर चोकको तरभुजाको ब्यापार कोरोनाको लागि चुनौती भएको बताउँदै युवा ब्यापारी सन्तोष साह मेयरलाई सुझाउँदै थिए , ‘तरकारी किसानहरुको समस्या बुझेर कुनै एक समय छुट्याएर तरकारी बजार खुल्ला गर्न पहल गरिदिनु पर्यो मेयर साब।’

ईलाका प्रहरी कार्यालय ढल्केबरका ईञ्चार्ज प्रहरी निरीक्षक तिर्थ बहादुर कार्कीले ड्युटीमा रहेका प्रहरीले जथाभाबि कुटपिट गरेको भन्ने गुनासो आएको बताउँदै जथाभाबि कुटपिट नगर्न आफूले निर्देशन दिएको बताए। 

बजार खोल्दा अश्वभाबिक भिड जम्मा हुने भएकाले स्थिती नियन्त्रण बाहिर जाने देखिएकाले तत्काललाई ढल्केबर बजार नखोल्ने बताउँदै प्रनि कार्कीले भने, ‘कोरोनाको चुनौती बढेकाले कोरोनाको सम्भावित संक्रमण रोक्न सबै एकजुट हुनुपर्ने बेला हो यो।’

कोरोना संक्रमित भेटिएपछि नगरबासी आतकिंत

धनुषाको मिथिला नगरपालिका १० लालगढ माझी टोलका एक जनामा कोरोना सक्रमण देखिएपछि नगरबासी आतकिंत बनेका छन् । कोरोना संक्रमित  भेटिएपछि मिथिला नगरपालिकाका ११ वटै वडामा सवेंदनशिलता अपनाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डगोंलले बताए।

प्रमुख प्रशासकीय अधिकृत डगोंलले भने , ‘कोरोना सक्रंमण देखिएको ठाउँ लालगढको माझि टोलमा शिल गरिएको र सक्रंमितको परिवारलाई नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ।’ 

नगरपालिकाको कार्यालयमा पनि आवश्यक कर्मचारीलाई मात्रै उपस्थित गराईएको प्रमुख प्रशासकीय अधिकृत डंगोलले बताए। उनले भने, ‘अहिले मिथिला नगरपालिमा लकडाउन पनि कडाई गरिएको छ।’

प्रकाशित मिति: : 2020-05-19 09:08:59

प्रतिकृया दिनुहोस्