कविता

म रुन्न आमा

सुनिल राई

अमेरिका

आमा शब्द महशुस हुनासाथ र सुन्नासाथ
यी मोतिका दाना जस्ता देखिने,
शितका थोपा रुपी आँशु,
मलाई नै नसोधि बगिदिन्छ,
तर म रुन्न आमा।

जीवनभर एक क्षण पर हुन खोजिन,
नियति अर्कै बनिदियो मेरो,
आमालाई सम्झेर आत्तिरहन्छ मन,
तर म रुन्न आमा।

नजिक हुँदाको प्रत्येक स्पर्शमा खुशी अनुभुति गरे झैँ
टाढा रहँदाको पिडाले पनि उत्तिकै छटपट्टिएको छु,
दुवै कुराको अन्तरद्वन्द माझ
म जलिरहेको छु,
तर म रुन्न आमा।

चेतन र अवचेतन मनलाई राम्रोसँग थाहा छ,
आमासँग छुटिएर बिताएका पलहरु,
मैले कहिले पाउँदिन अब यो जीवनमा,
सम्झेर उदास बन्छु,
तर म रुन्न आमा ।

मैले ती बिताएका जीवनका अति महत्वपूर्ण समय ,
आमा नजिक नहुनुको आत्माबोध सँगै,
हिनता र ग्लानीले एकै पटक छोप्छ मलाई ,
र म डराउँछु,
अनि पोखिन्छु साउनेझरि झैँ जताततै ,
तर म रुन्न आमा 

म रुन्न– रुन्न भन्दै सम्झाउँछु आफैलाई ,
तर चुपचाप आमा सम्झेर एक स्पर्श पाउन ,
हतारिएका मेरा यी इच्छाहरु,
आँशु बनि भिजाईरहन्छन यी आँखाहरु,
बस त्यति हो,
तर म रुन्न आमा।

प्रकाशित मिति: : 2021-05-08 16:13:00

प्रतिकृया दिनुहोस्

    Very sweet 💗

    • 2 महिना अगाडि
    • Dil Patel