अश्लिल चलचित्र बनाउनेलाई सामान्य मुद्दा, प्रहरी प्रशासनकै मिलेमतोको आशंका

वीरगञ्जको आदर्शनगरस्थित चित्रलेखा फोटो स्टुडियोमा नाबालिका प्रयोग गरी अश्लिल चलचित्र बनाउँदै गरेको अवस्थामा सोमबार स्पेशल टास्कफोर्सले छापा मार्‍यो।

स्थानीय जनताले दिएको विशेष सूचना र गुनासोका आधारमा टास्कफोर्सले स्टुडियोमा छापा मारेको थियो। छापा मार्ने क्रममा बालिका प्रयोग गरि अवैध गतिविधि गर्नेलाई प्रहरीले रंगेहात पक्राउ गर्‍यो। पक्राउ पर्नेमा स्टुडियो सञ्चालक बैजु प्रजापति उनका सहयोगी बादल जैसवाल र मनिष मिश्रा छन्।

प्रहरीले छापा मार्न आउँदा बैजु र उनका सहयोगीले दुई बालिकालाई स्टुडियोकै भित्तामा राखिएको फल्स वटममा लुकाएका थिए। प्रहरीले खानतलासी गर्ने क्रममा उनीहरूलाई त्यहाँबाट उद्धार गरेको भिडियो बिएल नेपाली सेवालाई सोही दिन प्राप्त भएको थियो।

स्रोतका अनुसार बालिकाको उद्धार हुँदैगर्दा बब्लु भन्ने बैजुका अर्का सहयोगी फरार भए। उनको खोजी अझै जारी रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा आएका दुई बालिका रानीघाट बस्ने ११ र १३ वर्षका छन्। उनीहरू अरूको घरमा गएर काम गर्ने परिवारका सदस्य भएको उच्च स्रोतले बतायो।

प्रहरीले स्टुडियोबाट उद्धार गरेको २ बालिकालाई महिला सेलको संरक्षणमा राखेको छ।

सामान्य चोरीका सामान समात्दासमेत पत्रकार सम्मेलन गरेर काम देखाउने पर्सा प्रहरी यसपटक बालिकालाई स्टुडियोमै राखेर अश्लिल चलचित्र बनाउने गिरोह पक्राउ गर्दासमेत खबर गुपचुप राख्यो।

यो पटक न कुनै पत्रकार सम्मेलन गरियो न कुनै आधिकारिक विज्ञप्ति नै निकालियो। जुवातास, मदिरा लगायत सानातिना छिटपुट घटनाका समाचारका लागि पत्रकारको नाम खोजी खोजी पठाउने प्रहरीले यो समाचारबारे केही जानकारी दिएन।

तर, यो घटना मिडियाको आँखाबाट छुपेन। घटना थाहा हुने पत्रकारलाई अप्रेशनमा खटिएका प्रहरीले आफ्नो नाम नबताउने शर्तमा सोही दिन सूचना प्रवाह गर्‍यो। उनीहरूले सूचना दिनु आफ्नो कर्तव्य ठाने। तर कोड भने दिन मानेनन्। ‘अहिले हामीले केही बोल्न मिल्दैन। तपाईँहरूले भिडियो हेरेर थाहा पाउनुभएको छ। यो भन्दा धेरै नबोलम् होला,’ एक अधिकारीले बिएल नेपाली सेवालाई भने।

यद्यपी आधिकारीक स्रोतबाट स्पष्ट सूचना जारी नहुँदा पनि सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेपछि प्रहरी प्रशासन पक्कै पनि केही हदसम्म हच्कियो।

पक्राउ परेकालाई एसटीफका सई सूर्य चौधरीले जिल्ला प्रहरी कार्यालय पर्सालाई जिम्मा लगाए। तर जिम्मा लगाएकाको स्वास्थ्य परीक्षणसमेत नगरी पर्सा प्रहरीले मंगलबार सार्वजनिक मुद्दा अन्तर्गत म्याद थपेको छ। यता बालिकाहरूको पनि स्वास्थ्य परीक्षण नगरिएको स्रोतले बताएको छ।

सोमबार पक्राउ परेकालाई मंगलबार गुपचुप तरिकाले जिल्ला अदालत पर्सामा अभद्र व्यवहारमा सामान्य मुद्दा दायर गर्‍यो र थप छानबिनको लागि म्याद माग्यो। तर कति दिन म्याद थप गरियो पनि प्रहरीले खुलाउन चाहेन।

नाबालिका प्रयोग गरी यसरी जघन्य अपराध गर्दासमेत प्रहरीले सामान्य मुद्दा दायर गर्नुले पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तको कार्यशैलीमा समेत प्रश्न उठेको छ।

महिला तथा बालबालिको मुद्दामा आफू कठोर भएर लाग्ने बताउँदै आएकी एसपी पन्तले यस्तो जघन्य अपराधलाई सामान्य रूपमा लिँदा स्थानीयमा शंका उब्जिएको छ।

शंका उब्जनुको अर्को कारण सामान्य झैझगडा हुँदा पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउँदै आएको छ। तर, बालिकासहित रंगेहात पक्राउ परेकालाई सामान्य रूपमा मुद्दा दायर गरिनु हो।

यद्यपी यो घटनाका विषयमा उनको आधिकारिक धारणा अझै सार्वजनिक भएको छैन। तर घटनाको बारेमा अनुसन्धान जारी रहेको एसपी पन्तले बिएल नेपाली सेवालाई जानकारी दिइन्।

‘घटनाको अनुसन्धान हुँदैछ, पक्राउ परेकालाई अहिले अभद्र व्यवाहारमा मुद्दा दायर गरिएको छ,’ एसपी पन्तले भनिन्। तर प्रहरीको प्रशासनको इतिहासमा यस्तो घटनामा पक्राउ परेकालाई अहिलेसम्म अभद्र व्यवहारमा मुद्दा चलाएको थाहा छैन। अश्लिल चलचित्र बनाउनेलाई सामान्य मुद्दा चलाउनुले दुई प्रश्र उठाउँछ। १‍. उनको कार्यशैली, २. उनी आफैंले स्थापना गरेको नजिर।

तर नियम कानुनमा भने नजिर आफैंले स्थापना गर्न नपाउने व्यवस्था गरिएको छ। नजिर आफैंले उत्पादन गर्ने हक अदालतको हुन्छ। तर कार्यशैली भने उनले तय गर्ने हो। तर यसरी उनी अपराधिक व्यक्तिमाथि नरम तरिकाले उपस्थित हुनुले कतै मिलेमतो त छैन भन्ने शंका उत्पन्न हुनु सामान्य हो।

यता स्रोतका अनुसार एक जना जनप्रतिनिधिले पक्राउ परेका युवकलाई कारबाही नगर्न पर्सा प्रहरीलाई निरन्तर दबाब दिँदै आएका छन्। राजनीतिक नेतासँगको उठबसका कारण प्रभावशाली युवकको पक्षमा प्रहरी नरम देखिएको छ। यता सामान्य परिवारका बालिका भएकैले ठूलो दवाव नपरेका कारण प्रभावशाली युवाको पक्षमा प्रहरी नरम देखिएको स्रोतले बताएको छ।

के छ कानुनी व्यवस्था?

चित्रलेखा स्टुडियोको अवस्था र त्यहाँबाट पक्राउ व्यक्तिका विषयमा हामीलाई प्राप्त भिडियो फुटेज हेर्दा मात्रै पनि घटनामा अन्य ऐनहरुसँग आकर्षित गर्ने देखिन्छन्। 

श्रोतका अनुसार पक्राउ परेका युवामध्ये केहीले ती नाबालिकलाई आफूहरूले समातेसम्मको बयान दिएका छन्। समातेसम्मले पनि ‘बलात्कार प्रयास हुने’ भएकोले यो मुद्दामा मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अन्तर्गत करणी सम्बन्धी कसुरमा पर्छ, यो दफाको २१९ मा १८ वर्ष भन्दा मुनीका बालिकालाई सहमतिमा पनि शारीरिक सम्बन्ध राखे पनि जर्बरजस्ती करणी गरेको मानिने उल्लेख छ।

सोही दफाको ३ ‘ख’ मा १० वर्ष भन्दा माथि १४ वर्षभन्दा तलकाका बालिका भएमा १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरिएको छ। करणी सम्बन्धी कसुरको दफा २२५ अन्तर्गत ३ को धारा दुईमा कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन दुर्व्यवहार गरे वा बाल यौन दुरूपयोग भएको हुने स्पष्ट उल्लेख छ। जस अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरीवाना उल्लेख छ ।

घटनाक्रमलाई अध्ययन गर्दा यो घटना कुनै हिसाबले पनि सार्वजनिक अपराध अन्तर्गत नपर्ने मानव अधिकार क्षेत्रमा काम गरिरहेका इन्सेक पर्साका प्रतिनिधि तथा पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले बताए।

‘यो घटना जसरी आएको छ। यो जघन्य अपराध भित्र पर्छ। त्यसैले प्रहरीले सत्यतथ्य छानबिन गरेर घटना बाहिर ल्याउनुपर्छ। कुनै दवाव, प्रभावमा प्रहरी बिक्यो भने न्यायप्रति विश्वास उड्छ,’ उनले बिएल नेपाली सेवासँग भने।

एक वर्ष नपुग्दै फेरियो बोली

एसपी पन्त आफैंमा नराम्रो पृष्ठभूमि बहन गरेको प्रहरी भने पक्कै होइनन्। उनी पर्सा पुग्नु अगाडि चितवन सरूवा गरिएको थियो। तर राजनीतिक कारणले उनलाई त्यहाँबाट करिब एक महिनापछि पर्सा पठाइयो। पन्तलाई चितवन पठाउन नसकेपछि प्रहरी हेडक्वार्टरले पर्साको जिम्मेवारी दिएकाे हाे। फेसबुकमा लेखेको कमेन्टका कारण विवादमा आएपनि उनी प्रहरीभित्र व्यवसायिक अधिकृत मानिन्छिन्।

पर्सामा रहेका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको थियाे। उनी अपराध अनुसन्धानमा पोख्त अधिकृत हुन्। राठौरसँग यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखामा काम गरेको अनुभव छ। उनले पर्सामा पनि राम्राे नाम र चर्चा कमाए।

पर्सा पुगेपछि एसपी पन्तले बिएल नेपाली सेवामा विशेष अन्तर्वार्ता दिँदै हरेक जिल्लाको भौगोलिक बनावट तथा सामाजिक परिवेश फरक हुने भएकाले घटनाका प्रकृतिको आधारमा स्थानीय सरकारसँग सहकार्य गर्दै शान्ति सुरक्षा कायम गर्ने प्रतिवद्धता जनाएकी थिइन्।

त्यति मात्रै होइन उनले प्रहरी कार्यालयमा अधिकांश मुद्दा सामाजिक अपराध कै हुने भएकाले यस्ता घटना न्यूनिकरणका लागि स्थानीय सरकारको अहम् भूमिका हुने बताएकी थिइन्। ‘प्रहरी र स्थानीय सरकारको सहकार्यले आगामी दिनमा लैगिंक हिंशाका घटनामा पनि कमि आउनेछ’, उनले भनेकी थिइन्।

यस्तै उनले आफ्नो उद्देश्य सधै थुनुवा कक्ष खाली राख्ने भएको भन्दै समाजमा दबिएका अपराधका घटनालाई आफ्नो कार्यकालमा उजागर गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन्।

उनले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारले सधै प्रहरी प्रशासनलाई सचेत गराईरहेको हुँदा आगामी दिनमा अझ शशक्त रुपमा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा जोड दिएकी थिइन्। तर, यो पछिलो घटनाले उनलाई झुट साबित गराएको छ।

अहिलेको अवस्थामा सेवाग्राही एक्लै प्रहरी समक्ष आउन डर मान्ने भएकाले समुदाय र प्रहरीबिचको सम्बन्ध नजिक गर्ने वातावरण निमार्ण गर्न मिडियाको अहम् भूमिका हुन्छ खासमा यो कार्यान्वनमा भने आउन अझै सकेको छैन।

प्रहरी र सञ्चार माध्यममा समन्वन नभए सूचना गलत तरिकाले प्रवाह हुन्छ। उनी आफैंले यो कुरा स्वीकारेकी छन्। ‘प्रहरी प्रशासनको बारेमा गलत समाचार सम्प्रेषण हुँदा आम नागरिकमा डर र त्रास फैलिने छ,’  उनले भनेकी थिइन्, ‘यस्तो कुरामा विचार पुर्‍याउन हामी सँगसँगै हिँडनुपर्छ।’

प्रकाशित मिति: : 2020-05-20 22:17:09

प्रतिकृया दिनुहोस्