मधेसी दिदीबहिनीलाई प्रहरी सेवामा आउन प्रेरित गर्छु– एसपी गंगा पन्त

प्रहरी उपरीक्षक गंगा पन्त पर्साको प्रहरी प्रमुख भएर वीरगञ्ज आएको करीब एक महिना पुग्यो। तत्कालिन् प्रहरी प्रमुख सोमेन्द्र राठोरको स्थानमा काठमाडौंबाट वीरगञ्ज आएकी पन्तलाई सुरूमा चितवन खटाइएको थियो। तर, विशेष कारणले उनी चितवन नगएर पर्सा आइन्।

तराईमा पहिलोपटक प्रहरी प्रमुखको रूपमा महिला एसपी आउँदा यहाँका जनता निकै उत्साहित छन्। छोरी चेलीलाई घुम्टो भित्र बस्नुपर्ने पुरातन सोच भएको समुदायमा प्रहरी प्रमुखको रूपमा एसपी पन्त आउँदा यहाँको समुदायको लागि उदाहरणीय पात्र बनेकी छन्। भारतीय सीमाको मुख्य नाका वीरगञ्जमा शान्ति सुरक्षाको काम चूनौतीपूर्ण विषय छ। 

यसै सन्दर्भमा उनको आगामी योजना र वीरगञ्ज क्षेत्रको समग्र सुरक्षा सेरोफेरोमा रहेर एसपी पन्तसँग बिमला गुप्ताले गरेको संवादको सम्पादीत अंश।

पर्सामा पहिलोपटक महिला प्रहरी प्रमुखको रूपमा आउनुभएकोमा कस्तो अनुभूति गर्दै हुनुहुन्छ?

मैले यसलाई सामान्य रूपमा लिएकी छु। म यहाँ आएपछि यहाँका दिदीबहिनीहरू बढी उत्साहित भएको पाएको छु। 

प्रहरी सेवामा कहिले प्रवेश गर्नुभयो? 

मेरो जन्म तनहुँमा भएको हो। विद्यालय जीवन त्यहीँ बिताएँ। त्यसपछि पद्मकन्या क्याम्पस, काठमाडौंमा स्नातक गरेर २०५६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको हुँ। 

अहिलेसम्म तपाईँले हल गर्नुभएको सम्झनलायक घटना वा मुद्दाहरू के–के हुन्र? 

विशेष गरी, म तीन वर्षसम्म अपराध अनुसन्धान शाखामा बसेँ। त्यस क्रममा राष्ट्रिय वाणिज्य बैंकमा २ करोड २० लाखको एउटा चोरी भएको थियो। त्यसको प्रमुख अनुसन्धानकर्ता मैं थिएँ। द्वन्द्वकालमा काठमाडौंमा थुप्रै लुटपाटका घटना घटे। त्यसमध्ये धेरैजसो मुद्दाहरू मैलेनै हल गरेकी थिएँ। त्यसपछि म जहाँ–जहाँ गएँ, त्यहाँको अपराध घटेको अवस्था छ। पर्सामा भने हेर्न बाँकी छ। 

तपाईँको सरूवा चितवन भए पनि त्यहाँ पठाइएन। पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश लिनुभन्दा अघि तपाईँलाई पर्सा पठाइयो, यसलाई कुन रूपमा लिनुहुन्छ?

यसलाई मैले सामान्य रूपमा लिएकी छु। विशेष कारणबस् म चितवन जान पाइनँ। आदरणीय पूर्वआइजिपी सा’बले मलाई चूनौतीपूर्ण जिल्ला पर्साको कमाण्ड सम्हाल्ने मौका दिनुभएको छ। यसलाई मैले आफूले विगतमा नेपाल प्रहरीमा दिएको योगदानको मूल्याङ्कन गर्दै दिएको अवसरको रूपमा लिएको छु।

तपाईँले प्रहरीलाई कसरी परिभाषित गर्नुहुन्छ? र तपाईँको कार्यशैली कस्तो हुनेछ? 

प्रहरीको मुख्य काम शान्ति सुरक्षा र समाजमा अमनचयन कायम गर्ने हो। त्यस अतिरिक्त प्रहरीका थुप्रै काम हुन्छन्। हरेक काम शान्ति सुरक्षासँग जोडिएको हुन्छ। समाजलाई सही दिशामा लैजान प्रहरीको मुख्य भूमिका हुन्छ।

मैले पनि प्रहरीलाई शान्ति सुरक्षासँगै जोडेर हेर्छु। प्रहरी एउटा सेवामुलुक र राज्यको महत्वपूर्ण अंग हो। 

भारतको विहारसँग सीमा जोडिएको पर्सामा खुला सीमानाका कारण हुने आपराधिक गतिविधि चुनौतिपूर्ण भइरेको अवस्थामा तपाईँले यसलाई कुन रूपमा लिनुहुन्छ?

यो जिल्लाको प्रमुख चूनौती भनेकै खुला सीमा हो। त्यसमा पनि मुलुककै प्रमुख व्यापारिक नाका र औद्योगिक करिडोर भएकोले आर्थिक अपराधका घटना बढी हुन्छन्। त्यस्ता घटना हुन नदिने मेरो पहिलो प्राथमिकता हुनेछ।

भएका घटनालाई उचित हिसाबले अनुसन्धान गर्दै समाधान गर्ने लक्ष्य लिएकी छु। 

पर्सा आएको एक महिना भयो। यसबीचमा तपाईँले आफू मातहतका चौकीलाई कस्तो निर्देशन दिनुभएको छ? कसैलाई दण्डित गरियो कि गरिएन? 

मलाई कस्तो लाग्छ भने जिल्लाको मुख्य व्यक्ति कसरी चल्छ, त्यसरी नै ऊ मातहतका कर्मचारीहरू चल्ने हो। कमिकमजोरी छदै छैन भन्ने म मान्दिनँ। आफूले फेयर पोलिसिङ गर्ने गराउने मेरो नीति हुनेछ।

भर्खरै एउटा हुन्डी कारोबारीसँगको मिलोमतोमा ३ जना सुरक्षाकर्मीमाथि कारबाही अघि बढाएको छु। 

दण्डित नै गर्नुपर्ने अवस्था नआओस् भन्ने पनि चाहन्छु। मैले स्पष्ट रूपमा आफ्नो लाइन बताएकी छु। त्यो अनुशरण नगर्नेलाई दण्डित अवश्य गर्नेछु। 
मधेसमा सामाजिक विकृतिको रूपमा बालविवाह, दाइजो प्रथा, बहुविवाह, घरेलु हिंसा, लागूऔषध, मद्यपान, धुम्रपानलगायतले समाज बिग्रिँदै छ। यसतर्फ तपाईँको योजना के छ?

अघिल्लो वर्षदेखि प्रहरी–समुदाय साझेदारी कार्यक्रम सञ्चालनमा छ। यसले व्यवस्थित रूपमा केन्द्रदेखि वडास्तरसम्म काम गर्ने सम्झौता भइसकेको छ। समाजमा नराम्रो प्रभाव पार्ने गतिविधि र तत्वलाई पहिचान गरी त्यसको न्यूनीकरणको लागि मैले केही योजना बनाएकी छु। 

कुनै पनि आपराधिक घटनामा यहाँका राजनीतिक अगुवाहरू अग्रसर हुने, सामान र मान्छे छुटाउन दबाब दिने गरिएको पाइन्छ। वीरगञ्जको यो ट्रेन्डलाई कसरी लिनुहुन्छ?

यो पर्साको मात्र समस्या होइन। हरेक ठाउँको समस्या हो। समाजमा कुनै घटना घट्छ भने सबैभन्दा पहिले समाजका अगुवा र नेतासमक्ष यो कुरा पुग्छ। त्यसकारण उनीहरूले चासो राख्छन्। 

यो स्वभाविक कुरा हो। तर, रह्यो कुरा समाज सुधार र विकासको लागि जिम्मेवार व्यक्तिले आफूले कतै गलत कामलाई साथ त दिएको छैन भन्ने विचार गर्नुपर्छु। म यो जिल्लाको प्रमुख भएपछि यहाँका ठीक–बेठीक छुट्याएर त्यहीअनुरूप उहाँहरूसित डिल गर्छु र कानूनीरूपमा त्यस्ता समस्या समाधान गर्छु। 

मधेसका चेलीबेटी प्रहरी सेवामा जान डराउँछन् अथवा प्रतिस्पर्धा गर्न चाहँदैनन्। तपाईँ महिला भएर पर्सा प्रहरी प्रमुखको रूपमा आउनु भएको छ। ती दिदीबहिनीलाई के सन्देश दिन चाहनुहुन्छ?

मैले ठ्याक्कै विश्लेषण गरेकी छैन। तर, कमै हुनुहुन्छ। यस जिल्लाबाट कुल महिला सङ्ख्यामा मधेसी मूलबाट कमै हुनुहुन्छ र यसो हुनुमा कुनै पनि समुदायको रीतिरिवाज र संस्कारले पनि असर पारेको हुन्छ।

अधिकारको क्षेत्रमा काम गर्ने सङ्घसंस्था र यहाँका नागरिक समाजसँग पनि मधेसी चेलीबेटीलाई प्रहरी सेवामा आवेदन गरी राष्ट्रसेवा गर्न म अभिप्रेरणा जगाउनेछु।


 

प्रकाशित मिति: : 2020-03-22 19:57:14

प्रतिकृया दिनुहोस्