कठिन परिस्थितिमा मनाइँदै ईद

मुस्लिम समुदायको महान पर्व ईदुल–उल–फित्‌र (ईद) सोमबार मनाइँदैछ। इस्लामी (अरबी) पात्रोको नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखेपछि ३० दिनको रोजा अर्थात् उपवास सम्पन्न भएको भोलिपल्ट ईद पर्व मनाइन्छ।

हरेक वर्ष नयाँ वस्त्र धारण गरेर नजिकको ईदगाह वा मस्जिदमा भेला भएर सामूहिक ‘विशेष नवाज’ पढेर मिठो परिकारको स्वादसँगै उत्साहका साथ मनाइने यो पर्व यस वर्ष कोरोनाको कहर तथा लकडाउनले गर्दा कठिन परिस्थितिमा मनाइँदैछ।

हरेक धर्मालम्बीले मनाउने पर्वको आ–आफ्नो विषेशता हुन्छ। ईस्लाम धर्मालम्बीको पनि ठूलो चाडको रुपमा मनाइने ईद पर्वमा सामूहिक नमाज पढ्ने, एकअर्कालाई अंगालो मारेर ‘ईद मुवारक’ को आदानप्रदान गर्ने, ठूलाबडासँग आशीर्वाद लिने र साथीभाइसँग जमघट गरी सेवई, खीर र मीठाइ खाने/खुवाउने यो पर्वको विशेषता हो।

तर चीनबाट सुरू भएर विश्वभर फैलिएको कोरोना महामारीका कारण संसारका अधिकांश देश लकडाउनमा छन्। यहो बेला मुस्लिम समुदायले कसरी ईद मनाउँदैछन् भन्ने विषयमा बिएल नेपाली सेवाका लागि बिमला गुप्ताले मुस्लिम समुदायबाट विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूसँग गरेको कुराकानी।

पर्सा धोबिनी गाउँपालिकाका तबरेज अहमद विगत लामो समयदेखि सामाजिक कार्यसँगै राजनीतिमा सामेल छन्।

समाजवादि पार्टीका जिल्ला सचिवसमेत रहेका अहमदले आफ्नो जीवनकालमा अहिलेको जस्तो कठिन परीस्थितिमा कहिल्यै ईद नमनाएको बताउँछन्।

‘इस्लाम धर्मालम्बीले ईदलाई निकै पवित्र पर्वका रूपमा मान्ने गर्छन्। गरिबलाई दान गर्नु तथा आपसी सद्भाव अभिवृद्धि गर्न तथा भाइचारा बढाउन एकआपसमा मिलेर नमाज पढ्नु पर्वको मुख्य विशेषता हो’, तर अहिलेको समयमा एकातिर कोरोना त्रास र अर्कोतिर इद पर्वको नमाज पढेर पर्व मनाउनैपर्ने भएकाले निकै बाध्यात्मक कठिनाई श्रृजना भएको छ।’

उनले यस्तो अवस्थामा ईदमा आवश्यक खाद्यान्न पनि अभाव भएको बताए। ईदमा अनिवार्य बनाइनुपर्ने सेवाइ तथा दुधसमेत पाउन गाह्रो भएको उनले गुनासो गरे।

छिमेकी पालिका छिपहरमाई गाउँपालिकाको मिर्जापुर गाउँ जिल्लामै एक मात्र दुध उत्पादन हुने केन्द्रको रुपमा परिचित छ। तर सो गाउँपालिकामा कोरोना संक्रमित भेटिएसँगै गाउँ शिल गरिएको छ।

यस्तो विसम परिस्थितिमा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको निर्देशनमा रहेर ईद मनाउन लागेको उनले बताए। ‘घरमै बसेर फोनमार्फत मौलानाको सम्पर्कमा रहेर ईदको नमाजको तयारी गर्‍यौ। गरिब परीवारमा ईदको लागि गाउँपालिकाको समन्वयमा सक्दो सहयोग जुटायौं। अहिले यस वर्ष संक्रमणको समयमा समुदायलाई जोगाउनु पनि हाम्रो कर्तव्य हो’, अहमदले भने।

पर्साको पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन मुस्लिम समुदायकी जनप्रतिनिधि हुन्। रमजानको महिना मुस्लिम धर्मावलम्बिका लागि पवित्र महिनाको रुपमा मानिन्छ। यसबेला विपन्नलाई दान गर्दा पुण्य कमाइने जनविश्वास छ।

‘रमजानको ब्रत हरेक वर्गका व्यक्तिले बस्नैपर्ने धार्मिक नियम भएकाले गरिबको भोक के हुन्छ धनीले भोकै बसेर महशुस गर्छन्। जसकारण धनीमा गरीबप्रति सहयोग गर्ने भाव उत्पन्न भइ मानवताको विकास भएको देखिन्छ। यही कारण हरेक मुस्लिमले आफ्नो कमाईको केहि भाग दान गर्ने गर्छन्। र मैले पनि अति विपन्न परिवारलाई जकातको रकम सहयोग गरेँ, उनले बिएल नेपाली सेवासँग भनिन्।

एक महिना लामो समयसम्म ब्रत बसेकी उनले जनप्रतिनिधिको रूपमा कुशल जिम्मेवारीसमेत बहन गरिन्। ‘मैले यस वर्ष एक महिनासम्म ब्रत बसे पनि जनप्रतिनिधिको जिम्मेवारी वहन गर्दै आफ्नो क्षेत्रमा परेका समस्यालाई समाधान गर्ने कोशिश गरिरहेँ,’ उनले भनिन्।

यसैबित नगरपालिकाका तर्फबाट एक विज्ञप्ति जारी गर्दै लकडाउनको पूर्ण पालना गरेर सामाजिक दूरी कायम गर्दै ईदको खरीदारी गर्न र नमाज घरमै पढ्न नगरवासीलाई उनले अनुरोध गरेकी छन्।

‘ज्यान रहे ईद त फेरि पनि मनाइन्छ। यस्तो अवस्थामा समुदाय र परिवारलाई संक्रमणबाट बचाउनु ठूलो कर्तव्य हो’,उनले भनिन्।

नयाँ लुगा लगाउनै पर्ने ईदको मान्यता भए पनि उनले यस वर्ष आफूसहित दुई वर्षे छोरालाई पनि पुरानै लुगामा ईद मनाउने विचार गरेकी छन्।

पर्साको विश्रामपुरका सञ्चारकर्मी अलि असगर देवान लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन्।

काठमाडौं बसेर हिमालयन टेलिभिजनमा कार्यरत उनी सधैको वर्षझै यस वर्ष पनि ईद मनाउन गाउँ आएका छन्।

कोरोनाको माहामारीको समयमा परेको ईद उनका लागि निकै कठीन भएको छ। ‘अहिले लकडाउनको समयमा गाउँघरमा निकै कठिनाई भएको छ। गाउँघरमा मानिसलाई एकछाकको खाना कसरी व्यवस्था गर्ने भन्ने समस्या परिरहेको बेला महान चाड ईद परेको छ। करीब २ महिनाको लकडाउनमा हुने खाने वर्गमा पनि आर्थिक समस्या उत्पन्न हुन थालेको बेला केही नहुने गरिबको अवस्था झनै बिग्रदो छ’, उनले भने।

यस्तो कठिन अवस्थामा परेको ईदमा आवश्यक सामग्रीहरू खरिदका लागि र मुस्लिम धर्मावलम्बीले दिने जकात (दान) को लागि उनले आफ्नै पहलमा पैसा जुटाएर गरीब परिवारको पहिचान गरी आवश्यक्ता अनुसार वितरण गर्ने तयारीमा लागेका छन्।

स्थानीय पालिकाले राहत सामग्री वितरण गरे पनि पर्वको बेलामा गरिब नागरीकका लागि चाहिने सामग्री अभाव हुँदा यसबारे पालिकाले कुनै चासो नदेखाएको उनको गुनासो छ। दुई महीनाभन्दा लामोसमयदेखि जारी लकडाउनले दैनिक ज्यालादारी गर्ने मुस्लिम मजदुर थप पीडित भएको भन्दै उनीहरूको यो ईद अहिलेसम्ममकै कठिन भएको उनले बताए।

विगतमा वर्षमा वर्ष नयाँ लुगा लगाएर मस्जिदमा नमाज पढ्न जाने र साथीभाइसँग इद मनाउने उनी यसपाली घरभित्रै ईद मनाउने भएका छन्।

‘यस वर्ष घरभित्रको तयारी पुरा भए पनि रौनकता छैन। ईदमा हरेक वर्ष सबै धर्म समुदायका व्यक्तिलाई बोलाएर भाइचारको सद्भाव बढाउँथ्यौं। तर यस वर्ष महामारीको रुपमा रहेको कोरोनाको संक्रमणबाट जोगिन नेपाल सरकारले लगाएको लकडाउन पालना गर्दैछौं। फोनबाटै साथीभाइलाई शुभकामना दिएर सेवाई खान चाहने इच्छुक साथीभाइलाई कोशेलीको रूपमा घरमै पुर्‍याइदिने व्यवस्था गरेको छु। तर यस वर्ष कसैलाई आफ्नो घरमा बोलाएको छैन’, उनले भने।

वीरगंज मुर्ली १२ का मत अली चित्रकार हुनुका साथै गीत संगीतमा पनि छुट्टै पहिचान बनाएका व्यक्ति हुन्।

‘अन्य वर्षजस्तो यस वर्ष ईदको कुनै रौनक छैन। साथीभाइसँग भेटेपछिको हर्षोउल्लास यस वर्ष नभए पनि ३० दिनको रोजापछि आएको ईदको खुशीयाली छ’, उनले भने, ‘बजार सिमित खुला भएकाले अन्य वर्षको जस्तो सामान किन्न सकिएन। सेवाई किन्नै गाह्रो पर्‍यो। यसवर्ष  छिमेकीले घरमै पिठोबाट सेवई तयार गरे। पहिले पहिले मनाइने खुसियालीको अभाव महसुस भएको छ।’

कोरोना महामारीको समयमा लकडाउनको पालना गर्दै उनले घर भित्रै परिवारका सदस्यसँगै नवाज पढ्ने व्यवस्था मिलाएका छन्।

‘महामारीको समयमा ईदगाह अथवा मस्जिद मै गएर नमाज पढनुपर्छ भन्ने छैन,’ उनले भने, ‘घरमै इदको नमाज पढ्न सबै व्यवस्था मिलाएका छौँ। ज्यान रहे पर्व त हरेक वर्ष मनाउन सकिन्छ नि।’

खास गरी रोजाको समयमा हुने तराबीह र जुम्माको नमाजमा बढी भन्दा बढ़ी नमाजी एकत्रित भएर पढ़ने गरिन्छ। तर यसपाली  त्यसो हुन नसकेको भन्दै उनले यसलाई ईबादतमा कमी भएको भन्न नमिल्ने बताए। ईस्लाममा यस्तो महामारी, भूकम्प हुरि, बतासजस्ता आपतकालिन अवस्थामा मस्जिदमा नगई आफूलाई र अरूलाई नोक्सान नहोस् भनि घरमै ईवादत गर्न मोहम्मद सल्लल्लाहु अलैही वसल्लमले भनेका उनले स्मरण गरे।

बाराको सिम्रौनगढ निवासी बी खातुन रेडियोकी कार्यक्रम संचालिका तथा प्रस्तोता हुन्।

‘ईद हाम्रो लागि विशेष र खुशीको चाड हो तर यस वर्ष नरमाइलो लाग्दैछ। किनकि सारा संसार दुःखी छ यसमा आफू कसरी खुशी हुने?’, उनले भनिन्, ‘छिमेकिको आर्थिक अवस्था कमजोर छ यस्तो बेलामा त नयाँ लुगा पनि कसरी लगाउने त्यही भएर पुरानै लुगामा ईद मनाउँदैछु।’

२१ जना सदस्य रहेको परीवारमा कसैले नयाँ लुगा खरिद नगरेको उनले बताइन्। ‘गरीब विपन्न भोकभोकै दिन विताएको समयमा उनीहरूलाई खुशी दिनु नै ईद हो’, उनले भनीन्।

बारामा लगातार संक्रमित संख्या बढिरहँदा अहिले दैनिक मजदुरी गर्ने गरिबको अवस्था निकै कठिन भएको भन्दै उनले आफूसँग पैसा भएर पनि ईदलाई खासै उल्लासको रुपमा नमनाउने बताइन्।

बिहान ७ बजे देखि १० बजेसम्ममात्र केही सिमित खाद्यान्न पसल खुल्ने भएकाले सामान पाउनमसेत कठीन भएको अवस्थामा विभिन्न परिकार बनाएर रमाइलो गर्न नसकिने उनले बताइन्।

ईदको शुभकामना।

प्रकाशित मिति: : 2020-05-25 07:21:00

प्रतिकृया दिनुहोस्