महाकालीमा आफैं पुल बनाई घर पुगे कालापानीका गाउँले (भिडियाे)

श्याम भट्ट

कञ्चनपुर

कोरोना र लकडाउनका कारण समयभन्दा डेढ महिना पछि दार्चुला सदरमुकाम खलंगाबाट उत्तर हिँडेका ब्यासका सौका समुदाय महाकालीमा आफैं पुल बनाई  घर पुगेका छन्।

तम्बाकु खोला नजिकै कालीमा बनाएको काठे पुल बगेपछि सौकाहरू मिलेर नयाँ पुल बनाई ब्यासका दुई गाँउका तीन सय महिला/पुरूष दुई दिन ढिलो गरि ब्यास पुगेका हुन्।

उनीहरू आएपछि ब्यासमा छुट्टै रौनक छ। पश्चिमउत्तरमा  तिब्बत नाकामा रहेको अन्तिम गाँउ तिंकर र भारतीय सीमा रहेको पहिलो गाँउ छांग्रुमा सात महिना बन्द घरहरूको ढोका अहिले खुलेका छन्। नुनिलो चिया निरन्तर छ।

काली बगरमा रहेको खलंगाको गर्मी सम्झेर सौकासँगै ब्यास पुगेका चौरी र झुपु (याक) मात्र होइन भोटे कुकुर पनि रमाएका छन्। अब असोजसम्म सौकाहरू हिमाली हरित उपत्यका ब्यासमा रमाएर फेरि खलंगा फर्किने छन्।

वर्षको आधा ब्यास र आधा खलंगा बस्ने उनीहरूको परम्परागत रिति नै हो। यसरी आउने जाने यो चलनलाई कुञ्चा सर्ने भनिन्छ। हुन त भदौबाटै हिँउ पर्छ ब्यासमा।

यसपाली ब्यास पुग्दा उनीहरूको गाँउमा अहिलेसम्म नभएको परिवर्तन देखे। भारतसँगको  सितापुल नाकामा नेपाल प्रहरी र सशस्त्रको शुसज्जित पहरा छ जहाँबाट विवादीत कालापानी १२ किलोमीटर उत्तर छ।

अब बाह्रै महिना यहाँ नेपाली सुरक्षा हुनेछ। ब्यासीहरू अब असोजमा ढुक्क भएर घरमा ताला मारी सदरमुकाम झर्नेछन्। दार्चुला शसस्त्र प्रहरी प्रमुख डम्बर बहादुर विष्ट भन्छन्,‘करीब एक वर्षका लागि हुने गरी सीमामा खडा गरिएको बोर्डर आउट पोष्टलाई सम्पूर्ण बन्दोबस्तीका समाग्री पठाईएको छ।’

कोरोनाका कारण दुबै अन्तर्राष्ट्रिय सीमामा पहिले जस्तो अहिले चहल पहल भने छैन। हिन्दु र बौद्ध समुदायको साझा तिर्थस्थल तिब्बतको मानसरोबर जाने दक्षिण एशियाको छोटो पैदल बाटो उनीहरुकै गाँउ भएर हो। मानसरोवरको धार्मिक यात्राका कारण नेपाल र भारत दुबै तिर छुट्टै रमाईलो हुन्थ्यो यतिबेला।

वैशाखबाटै चहलपहल हुने ब्यासमा पोहोर साल तिब्बतबाट तिंकरमा अमेरिकी वियर वडवाईजर पुगिसकेको थियो। तिब्बतसँगको व्यपारमा भर पर्दै आएका सौकाका चौरी र झुपुले नै १८ हजार फिट उचाईको तिंकर भञ्ज्याङको बाटो ताक्लाकोट जान खोली सकेका हुन्थे यति बेलासम्म त । तर कोरोनाले यो पश्चिमउत्तरी नाकाको जन जीवनलाई समेत प्रभावित गर्न भ्यायो यसपाली।

भारतले जबरजस्ती नेपाली भूमिमा बाटो बनाउनुको एक प्रमुख कारण यो पनि हो। तिंकरबाट  एक विहानको हिँडाई पछि पुगीने तिब्बतको ज्यूँ ज्यूँ खोलाबाट चिनियाँ गाडीमा एक घण्टामा पुराङ काउण्टी अन्तर्गत चीनको विकासशील शहर र मानसरोवरको प्रमुख द्वार मानिने शहर ताक्लाकोट पुगिन्छ। जहाँबाट तिब्बति पठारमा बनेको  चार लेन सडकमा पश्चिम उत्तर मान सरोवर पुगिन्छ।

यो पनि हेर्नुहोस्

ब्याँसी शौका जातिकै कारण जोगिएको हाम्रो राष्ट्रियता! (भिडियो)

‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

लिपुलेकमा पहिलो सर्वे गर्ने श्रीदेव शर्मा भन्छन्– नेपाल एकीकरण भन्दाअघिको नक्सा चिनियाँसँग सुरक्षित छ (भिडियाेसहित)

प्रकाशित मिति: : 2020-05-29 16:00:35

प्रतिकृया दिनुहोस्