झाँक्रीलाई मदन भण्डारीकी छोरीको जवाफ 

‘आमाको रातो साडी र  हाम्रो ड्याडी फिर्ता ल्याइदिनुस्, हामीलाई नाफा भएको के छ– लिएर जानुस्’

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा (प्रचण्ड) पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफ्नी आमा राष्ट्रपति भण्डारीको सेतो साडीबारे दिएको अभिव्यक्तिलाई लिएर दुस्ख व्यक्त गरेकी छन् ।

नेतृ झाँक्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘१० गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ २० गलत चुनाव लडाउनु होईन, उहाँमाथि त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो– अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ– सोध्‍नुहोस् गएर ? ’

‘मेरो ममको बारेमा तथानाम भन्न थालेको लगभग २०५२–५३ देखि हो– यो शुरू गर्ने पत्रकार अहिले रिटायर्ड वरिष्ठ पत्रकार र ठूलो नागरिक अगुवा भइसके। उनीहरूका नयाँ र लभय अवतार अहिले छन्’, उनले लेखेकी छिन्, ‘म त्योबेला ११ वर्ष जति थिए, ममले फोनमा भन्नु हुँदैथियो– म किन अभियानमा ननिस्किनु ? किन घरमा लुक्नु ? उनीहरुले यही चाहेर यो सब गर्दैछन– म भाग्दिनँ। मलाई त्यो दिनदेखि नै हिम्मत प्राप्त भयो। ममले हामीलाई आफ्नो साहस र दृदताबाट शिक्षित गर्नुभएको छ।’

२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा तत्कालीन नेकपा महासचिव मदन भण्डारीको मृत्यु भए । त्यसबेला उनकी जेठी छोरी उषाकिरण नौ वर्षकी मात्र थिइन् । त्यसै वर्ष माघ २५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेले स्व. मदन भण्डारीकी पत्नी विद्यालाई रिक्त भएको क्षेत्र काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनाएको थियो । उक्त चुनावमा विद्या भण्‍डारी आशोच बारेको सेतो वस्त्रमै चुनाव लडेकी थिइन् । कांग्रेस उम्मेद्वार शन्तनेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् ।

पिताको निधनपछिको अवस्था स्मरण गर्दै उषाले झाँक्रीलाई सोधेकी लेखेकी छिन्, ‘तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतैभित्ता थिए– उहाँले ड्याडीलाई मनपर्ने खानार अचार बनाउन छोडनुभयो । उहाँका स–साना छोरीहरू हामीले प्रश्न उठाएनौँ,  तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ? हामी ९–१० वर्षकोले बुझ्यौँ उहाँ ट्रेजेडीसँग Cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थ्यो, तपाईं महिला, ठुलो मान्छे भएर यति बुझनुभएन ?? ’
स्वर्गीय मदन भण्डारी र राष्ट्रपति भण्डारीकी छोरी उषाले भनेकी छिन्, ‘तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टीका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनुभयो– राष्ट्र प्रमुखको निधार खाली हुनुहुँदैन भन्ने मान्यताले गर्दा, उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नुभएन जमरा मात्रै हातमा दिँदा, तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो ?? Tragedy Cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ, जुन बाटो स्वयम त्यो व्यक्तिले पनि भोलुन्टरिली रोज़ेको होइन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिँदैन।’

‘यदि तपाईंलाई लाग्छ– आफ्नो माया आफ्नो जीवनसाथीभन्दा माथि करिअरको महत्वाकांक्षा हो भने, ठाउँ साटौँ, तपाईं उहाँको सिन्दूर पोते रातो सारी,  हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ, लिएर जानुस् ।  झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनू ।’

झाँक्रीले एउटा भाषणमा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन् । साथै उनले विधवा बनेपछि भण्डारीले सेतो सारी लगाएको विषयमा पनि टिप्पणी गरेकी थिइन् ।

प्रकाशित मिति: : 2021-02-01 13:47:00

प्रतिकृया दिनुहोस्