काेभिड अस्पताल:

जहाँ जीवनकाे आशा जगाइन्छ (भिडियाे)

यहाँ सधै मृत्युको त्रास हुन्छ। 
कुन बेला के हुने हो ? यसै भन्न सकिन्न। 

डाक्टर राउण्डमा आइदिए मात्रै पनि ठूलो राहत मिल्छ। त्यसैले त भयभित आँखाहरु डाक्टर आउने बाटोतिरै ओच्छ्याई बस्छन्। अक्सिजन मास्कको अनुहार भरि गोलो घेरा बनेर डोब बसिसकेको छ बिरामीको। निधार भरि चिट्चिट् पसिना काढी रहेका बिरामी डाक्टरलाई देख्ने बित्तिकै सकि नसकी हाँस्ने यत्न गर्छन्। उनीहरुको प्रयास धेरै बेर टिक्न पाएको होइन। सास फुलि हाल्छ।

हो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको कोभिड अस्पतालको आइसोलेसन कक्षको अवस्था यस्तै छ। बाहिर, कोभिड निमिट्यान्न भए झैं देखिन्छ। तर, कोभिड के हो ? उनीहरुलाई भन्दा बढी कसलाई थाहा होला ?

डा.शरद बरालको भर्खरै राउण्ड सकियो। डा.शिशिर क्षेत्रीको अल्लि अघि। कोभिड–१९ रोकथाममा अहोरात्र लागि परेका यि दुई डाक्टरसँग कुराकानीका लागि समय लिएका थियौं।

आँखैअघि बिरामी मृत्यु हुँदा कस्तो महसुस हुन्छ ?

कोभिड– १९ को धेरै बिरामी सिकार हुनु परेकाले पनि हामीले सोध्यौं। स्वास्थ्यकर्मीले धेरै पटक मृत्युको साक्षात्कार गर्ने भएकाले पनि यो सोध्नु बाञ्छनिय थिएन।

‘सम्पन्न मुलुकका स्तरीय स्वास्थ्य अवस्था हुँदा पनि व्यवस्थापन गर्न गाह्रो भई रहेको अवस्था छ। हाम्रो जस्तो मुलुकमा महामारीसँग जुँध्न स्वास्थ्यकर्मीलाई एकदमै चुनौती छ। हामीले बाहिरबाट जसरी हेछौं। हेरेको जस्तो सहज छैन,’ डाक्टर शरदले सुनाए। जटिल खालको रोग भएकाले धेरै बिरामीको मृत्यु भएको हुने उनको भनाई छ। ‘त्यसमाथि हाम्रो जस्तो संरचनामा ढिला गरी आउने हुनाले पूरा मात्रामा अक्सिजन दिँदा दिँदै पनि अन्तिम अवस्थामा छटपटाहट हुन्छ। त्यो  देख्दा कहिलेकाही मन विकराल भएर, स्वास्थ्यको पेशा नै छोडौं कि झैं पनि लाग्छ,’ उनले भने, ‘तथापि बिरामीकाे अन्तिम सास रहँदा सम्म बचाउन हाम्रो टिम दिनरात मेहेनत गर्छ। सँगसँगै अर्को बिरामी भएको बेडमा जानुपर्छ। त्यो आएको भावलाई कन्ट्रोल गरेर उत्तिकै हसिलो मुहार बनाएर जानुपर्छ।’

यो बल कसरी आउछ ? 

हाम्रो दोस्रो प्रश्न। 

स्वास्थ्यकर्मीमा अदृश्य शक्ति हुन्छ कि ! डाक्टर शरदको अनुमान। 

स्वास्थ्य पेशमा लागेपछि सबैथोक बिर्सिएर मनोबल उचो राख्नुपर्छ स्वास्थ्यकर्मीलाई। स्वास्थ्यकर्मीमा भए जस्तो मनोबल अन्य पेशाकर्मीमा हुँदैन कि जस्तो लाग्छ रे! उनलाई। एकातिर बिरामीको छटपटाहटसँग जुँध्नु परेको छ। अर्को बिरामी कहाँ जाँदा उत्तिकै उच्च मनोबल, त्यो भावलाई बिर्सिएर अर्कोतिर जानुपर्ने हुन्छ।

अर्का डाक्टर शिशिर क्षेत्री दुई महिनादेखि आइसोलेसनमा खटिएका छन्। राउण्डमा जाँदा एउटा बिरामी बित्छ। सास फेर्न गाह्रो भएर छटपछिन्छ। यो सबै घटना आँखै अघि भई रहेको हुन्छ। ‘उसलाई हेरेर भ्याए पछि फेरि अर्को बिरामीलाई पनि हेर्नुपर्छ। त्यो बेला अर्को बिरामीलाई के भनेर जवाफ दिने भनेर अलि गाह्रो हुन्छ,’ डाक्टर शिशिर सुनाउँछन्।

जाने त गै हाल्यो। उसलाई हाइसञ्चो भयो। निको हुने आश लिएर बसेका बिरामीलाई के भन्ने? यस्तो अवस्थामा सबैभन्दा गाह्रो हुन्छ रे! स्वास्थ्यकर्मीलाई। ‘आफन्तलाई के भनेर सम्झाउने जस्तो हुन्छ। आडैमा बितेको बिरामीलाई सम्झाउन एकदमै गाह्रो हुन्छ। किनकी आडैमा बिरामी बित्दा ऊ आफैं आत्तिन सुरु गर्छ। मन दह्रो बनाएर। रुन मन लाग्छ। तर, के गर्ने ?’ डाक्टर शिशिर भन्छन्, ‘मन दरो बनाएर काउन्सिलिङको काम गछौं।’

मृत्यु सत्य हो। जन्मेपछि मर्नु त पर्छ नै! स्वास्थ्यकर्मीहरु त सबैलाई निको पारेर घर पठाउन चाहन्छन्। बिरामीको मृत्युपछि कही कतै गल्ति भयो कि! आफ्नै समीक्षा थाल्छन् रे ! उनीहरु।

त्यो कोभिड, यो कोभिड

अहिले बरु, सामान्य आँक्न थालेका छन् कोभिड। पहिलो लहरमा त नाम सुन्दै आङ जिरिंग हुन्थ्यो। नयाँ रोग भएकाले पनि सबैमा त्रास थियो। पहिलो लहरको कोभिडमा वीर अस्पतालमा थिए रे ! डाक्टर शरद। त्यो बेला उनकै नेतृत्वमा ३५ जनाको मेडिकल टिम सुुदुरपश्चिमका ९ जिल्ला पुगेको रहेछ। ‘स्वास्थ्य मन्त्रालयले खटाएको थियो। त्यो टिमलाई लिड गरेर हामी अघि बढेका थियौं। एकदम कडा लकडाउन थियो,’ उनले सुनाए, ‘स्वास्थ्य मन्त्रालयले प्लेन नै चार्टड गरेर पठाएर सुदुर पश्चिमका एकदमै विकट जिल्ला अछाम, बाजुरा डोटीसम्मका जिल्लामा हाम्रो समग्र टोलीले कोभिड १९ महामारी नियन्त्रणमा ठूलो भुमिका खेलेको थियो।’

दोस्रो लहर आईसक्दा त रोगबारे बृहत बुझाई भयो। बुझदै, सावधानी अपनाउदै बिरामीलाई गुणस्तरिय सेवा दिई रहेका छन्, स्वास्थ्यकर्मीहरु। ‘आफू पनि सुरक्षीत रहन सकिने रहेछ भनेर त्यो सिद्धान्तलाई लिएर अघि बढी रहेका छौं। अहिले एकदम सहज स्थिति छ,’ उनले अघि सुनाए, ‘नर्मल बिरामी हेरेको जस्तो, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट गाउन लगाउछौं। लगाएपछि बिरामीसँग सँगै बसेर एकदम धेरै कुराकानी गर्ने। बिरामीका कुराकानी सुन्ने बिरामीलाई गाह्रो परेको बेला तुरुन्त जाने, दिनको दुई तीन पटकसम्म राउण्ड गर्ने गरेका छौं। यसले पनि बिरामीको निको हुने दर बढी रहेको छ।’

प्रतिष्ठानको कोभिड अस्पतालले काठमाडौंमा भन्दा कुनै हिसाबले कमजोर सेवा नदिएको दाबी छ डाक्टर शरदको। राम्रो व्यवस्थापनले दिनरात खटिएर गुणस्तरिय सेवा दिई रहेको उनी बताउँछन्।

असोज मध्यतिर सरुवा भएर यो अस्पताल आएका डाक्टर बराल अहिले कोभिड आइसोलेसन हेर्छन्। डाक्टर क्षेत्री ओ.पि.डी.मा खटिन्छन्।

पहिलो लहरमा सिकेका अभ्यास र भोगाईहरुलाई दोस्रो लहरमा धेरै मात्रामा लगाएका छन् दुवैले। ‘बिरामीलाई सन्तुष्ट पार्न सकेका छौं। एकदमै आफूलाई आत्म सुन्तुष्टि मिल्ने गरेको छ,’ उनीहरु भन्छन्।

जतिबेला कोभिड महामारी आएकै थिएन। त्यतिबेला नामै सुन्दा पनि डर हुन्थ्यो। सामान्य मानिसलाई मात्र होइन। स्वास्थ्यकर्मी चिकित्सक पनि नाम सुनेर डराउथे। डाक्टर बराललाई पनि यस्तै भएको थियो रे ! ‘म त्यतिबेला बीर अस्पतालमा थिएँ, बिरामीलाई त्यो कोठामा राखेको छ रे! भन्दा ओहो त्यहाँ त जाने कसरी हो ? 'ब्याक अफ द माइण्ड'मा हुन्थ्यो,’ उनले सुनाए, ‘तथापि म त आवासीय चिकित्सक, रेजिडेण्ट थिएँ। मेडिसिनको थर्ड इयर रेजिडेण्ट काम गर्ने पथ्र्यो। डराई डराई भए पनि बिरामीलाई नछोएर पनि टाढैबाट गफ गरेर पनि व्यवस्थापन गरेको याद छ।’

डा.शिशिर भर्खर सुरुवाती चरणामै थिए। पहिलो लहरको बिचतिर जब डाकटर बराल सरुवा भएर आए। उनी पनि त्यति नै बेला प्रतिष्ठानको कोभिड अस्पतालमा भित्रिए। ‘मेरो फस्र्ट आइसोलेसन ड्युटी पर्याे। सरले भित्र जानुपर्छ भन्नु भयो। मैले ठिकै छ, म भित्र छिरेर बिरामी हेर्दा यो बिरामीलाई कोभिड लागेको मैले छुन हुन्न भन्ने भएन,’ उनले आइसोलेसन छिर्दाको अनुभव सुनाए, ‘सरले मलाई मोटिभेट गर्नु भयो। त्यही भएर मैले उहाँलाई मेरो आइडल पनि भन्छु।’ अहिले त बानी परि सक्यो। मास्क लगाएकै भरमा उनी बिरामीको हालचाल सोध्न पुग्छन्।

बिरामीलाई छुँदैमा कोभिड हुँदैन। तर, सावधानी अपनाउनुपर्छ। डाक्टर आई रहेको छ भनेपछि बिरामीलाई पनि मनोबल एकदम बलियो भएको अनुभव गरेका छन् उनीहरुले।

पहिलो महामारीदेखि कोभिड रोकथामको अग्रपंक्तिमा खटिएका डाक्टर बरालले अहिलेसम्म १५ सय बढी संक्रमित बिरामीलाई जाँचेका छन्। आफू एक्लैको प्रयासले मा नभई सम्पूर्ण टिम अहोरात्र खटिएर यो सब सम्भव भएको उनी बताउँछन्।

पहिलो लहरमा काेराेना संक्रमणा दर जतिबेला चरम उत्कर्षमा थियो। आइसोलेसनमा ड्युटी गर्नेलाई होटल क्वारेन्टिन व्यवस्था गरेको थियो। काम गर्दा १४ दिन होटलमा बसेपछि एक हप्ता पिसिआर चेक गर्न कुर्नुपथ्र्यो। ‘पिसिआर नेगेटिभ आई सकेपछि बल्ल हामी घर जान पाउथ्यौं। त्यति अप्ठ्यारो महसुस त भएन। दोस्रो लहरमा त अभ्यस्त भई सक्यौं,’ डाक्टर बराल ति दिन सम्झिन्छन्, ‘कोभिड र ननकोभिड बिरामी एउटै एउटै जस्तो लाग्न थालि सक्यो। हाम्रो व्यवहारमा खासै परिवर्तन भएको छैन।’

पहिलो लहर ताका डा.शिशिर भने भर्खर बिहे बन्धनमा बाँधिएका थिए। उनी होटल क्वारेन्टिनमा बसेनन्। घरकै छुट्टै कोठामा बसे। उनकी श्रीमती पनि डाक्टर हुन्।

‘उनी प्रेगनेन्ट थिइन्। हामी झ्यालबाट हाई हेल्लो गथ्र्यौ। भर्खर छोरी जन्मेकी छिन्,’ उनले भने। छोरी पेटमा थिइन्। होसियारी अपनाउदा अपनाउदै श्रीमान, श्रीमती दुवै जना कोभिड संक्रमित हुन पुगे। ति दिन सम्झिदै उनले भन, ‘मनिपालमा अप्रेशन गरियो। अपरेशनको ४ दिनपछि पोजेटिभ आयो कोभिड। कोभिड जटिल भयो। अक्सिजनको सेचुरियसन पनि अलमस्ट ६५ प्रसेन्टमा झरेको थियो। सरले एकदम मनोबल बढाएर राती पनि राउण्डमा आएर हाम्रो लागि सबै बिरामीको लागि म डाक्टर भएर होइन कि सबै बिरामी हेर्न। त्यही कुराले नै म उहाँप्रति इम्प्रेस्ड छु।’

अहिले छुट्टाछुट्टै ब्लकमा पर सिफ्ट बनाएर बिरामीको सेवामा खटिई रहेका छन्। एक सिफ्टमा एक जना डाक्टर, ३ जना नर्सिङ स्टाफ २ जना कार्यालय सहयोगी। लगायत पर्दापछाडी अक्सिजनमा खटिने सुरक्षा गार्डको टिम रहेको हुन्छ।

अहिले कोभिड संक्रमण कम देखियो भन्दैमा यसलाई कमजोर आँक्न हुँदैन। जनस्वास्थ्यका मापदण्ड खोप लगाएपछि एकदम सुरक्षित भयौं भन्ने सोच्न नहुने डाक्टर बराल सुनाउँछन्। ‘खोप लगायौं भन्दैमा बच्ने होइन रोगबाट बच्यौं भन्ने होइन। रोगका जटिलताबाट बचाउने हो। अस्पताल भर्ना भएर अत्यधिक अक्सिजन आवश्यक पर्ने जस्ता समस्याबाट बचाउने हो,’ उनले भने, ‘खोप लगायौं। सुरक्षित भयौं भनेर जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दा अहिले दिनानुदिन बिरामीको संख्या बढ्न आँटेको महशुस गरेका छौं। जनस्वास्थ्यका मापदण्ड फस्र्टपूर्ण रुपमा पालना गर्नुपर्ने हुन्छ। कोभिड सकियो भनेर हुलमुल गरेर हिड्न सकिने बेला अब छैन।’

विश्वका विभिन्न तथ्यांक हेर्दा पनि नियन्त्रणमा आएको रोग पनि फेरि बढेको देखिएको उनले सुनाए। पूर्ण रुपमा रोग निर्मुल नभएसम्म हामी एकदम सुरक्षित छौं भनेर खुलम तरिकाले हिड्न सक्ने अवस्था नहुने उनले बताए।

पहिलो महामारी भाेगी सकेका हामी दोस्रो पनि ब्यहोर्‍याैँ। तेस्रो पनि ब्यहोर्नु पर्न सक्छ। पहिलो लहर आउदा नयाँ थियो। तयारी केही भएन। नयाँ भएकाले। दोस्रो लहर आई सक्दा पनि नियति उही रह्यो। तयारी शून्य।

तेस्रो लहरमा पनि उही हाल त होला ? हामीले सोध्यौं ‘केही न केही तयारी गरेका छौं। सिस्टम नै कमजोरी लङ टर्म प्लानिङ गर्ने। बाहिरी मुलुकमा फेरि आउन सक्छ है भनेर पहिले नै व्यवस्थापन हुन्छ। वर्कअप हुन्छ,’ डाक्टर बराल भन्छन्, ‘यो हुँदाहुँदै पनि तेस्रो लहरका लागि अक्सिजन प्लान्ट एउटा त स्थापित भईसक्यो। सुरु भईसक्यो। अर्को पनि केही दिनभित्र हुन्छ। अक्सिजनको हकमा ढुक्क हुन सक्ने अवस्था छ।’ 

स्वास्थ्यकर्मी कोभिडसँग लड्न तम्तयार रहेको उनी बताउँछन्। स्वास्थ्यकर्मी मोटिभेटेड भई सकेपछि जस्तोसुकै चुनौती पनि सामना गर्न सक्ने मनोबल बढेको उनी बताउँछन्। ‘यो पनि ठूलो तयारी हो। भौतिक संरचनामा नवनिर्मित भवनमा पनि राखेको। पूराना बिल्डिङ मर्मतको कारण आए गाह्रो त हुने। सबै प्रकारका रोगीको उपचार हुन्छ। देशकै ठूलो असपतालको संरचना बनेको छ,’ उनी अघि सुनाउँछन्, ‘तेस्रो लहर आयो भने यो यो कोठामा राखौंला भनेर अक्सिजन पाइपिङ गरेको अवस्था छ। स्वास्थ्यकर्मी पनि चाहिएको छ। पदपुर्ति गर्ने काम पनि गरि रहेका छौं। यसैलाई तयारीको रुपमा लिन सकिन्छ।’

कोभिडलाई सामान्य आट्नु हुन्न। जसलाई परेको छ उसले बुझ्छ। सामान्य रोग ठान्नुहुन्न।  धेरैजसोलाई बिना लक्षण निको हुन्छ। कसलाई कस्तो असर गर्छ थाहै हुन्न। गम्भीर रोग हो। होसियार हुन जरुरी छ।

खाेप लाए मेडिकलमा गएर औषधी खाए ठिक हुन्छ भन्ने ठान्नु गलत हो। डा. शिशिर भन्छन्, ‘तर, एउटा निश्चित समय हुन्छ। त्यो समयमा उपचार गरी हाल्नुपर्छ। बरु, सामान्य ज्वरो नै किन नहोस्। हामीकहाँ आउनुस्। परामर्श लिनुस्। खाने औषधी त छदै छ।’

काेराेना संक्रमित आए एक्स–रे पनि नगरिदिने स्थिति पार गर्दै डेडिकेटेड ओ.पी.डी. सञ्चालनमा आउनु ठूलो कुरा हो। डा.शिशिरले त्यसको नेतृत्व गर्छन्। दैनिक २० देखि ३० कहिलेकाही ४०, ५० बिरामीले सेवा लिई रहेका छन् यो अस्पतालबाट। ‘दिनरात खटेर सेवा परामर्श दिनु भएको छ। त्यसलाई पनि तयारीको रुपमा लिएका छौं। यस अस्पतालमा सुरु गरेका छौं। जनशक्तिको अभाव। एउटै जनशक्तिलाई नयाँ रोग पनि सामना गर्नुपर्ने। पूराना रोग पनि गर्नुपर्ने छ,’ डाक्टर बरालले भने, ‘त्यसलाई व्यवस्थापन गर्न व्यवस्थापन लागि परेको छ। आगामी दिनमा व्यवस्थापन हुने छ। तेस्रो लहर आए पनि सामना गर्न सक्छौं।’

कोभिडलाई सामान्य नठान्न दुवै डाक्टरको सुझाव छ। कोभिडका बिरामीले धेरै औषधि खानु नपर्ने उनीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘हामी कहाँ २४ घण्टा खुल्ला छ। नि:शुल्क परामर्श लिन सक्नुहुनेछ। आउनुस्।’

गण्डकी क्षेत्रमा फेरि फैलियो सेतो पुतली आतङ्क (भिडियो)


 

प्रकाशित मिति: : 2021-09-16 21:02:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ