(स्रग्धरा छन्द)

ढुङ्गाका पाइला हुन् रविकुल मणिका वीरका शौर्य साक्षी
ढुङ्गाका पाइला हुन् वचन सुगतका मेदिनी सौर्य साक्षी
ढुङ्गाका पाइला हुन् सुमति गुणवती शील सौन्दर्य साक्षी
ढुङ्गाका पाइला हुन् सुमत सुजनका आर्ष-ऐश्वर्य साक्षी।  
**

ढुङ्गाका पाइला हुन्  शपथ सुपथमा हिँड्न जो खाइएका
ढुङ्गाका पाइला हुन्  सगर शिखरमा चढ्न जो चालिएका
ढुङ्गाका पाइला हुन् अघि अघि रणमा बढ्न जो हौसिएका
ढुङ्गाका पाइला हुन् पछिपछि यिनका लाग्न जो तम्सिएका।
**

ढुङ्गाका पाइला हुन् गलत कुलतका गौण बाटा नटेक्ने
ढुङ्गाका पाइला हुन् बल कसरतले स्वस्थ सौभाग्य लेख्ने
ढुङ्गाका पाइला हुन् निज विपद सही लोक-दुर्भाग्य छेक्ने
ढुङ्गाका पाइला हुन् करुण नजरले बन्धुका दर्द देख्ने ।
**

ढुङ्गाका पाइला हुन् नुन गुन मनमा सम्झना नित्य राख्ने
ढुङ्गाका पाइला हुन् पर ऋण नतिरे भोक निद्रा नलाग्ने
ढुङ्गाका पाइला हुन् पछितिर नहटी सर्वथा लक्ष्य ताक्ने
ढुङ्गाका पाइला हुन्  समरकन जिती जीत-पीयूष चाख्ने ।
**

ढुङ्गाका  पाइला हुन् सललल  जल झैँ  मार्ग  खोजेर  बग्ने
ढुङ्गाका पाइला  हुन्  खललल  पसिना खेत उद्यान सिँच्ने
ढुङ्गाका पाइला हुन् झललल बिजुली झल्किई छाप छोड्ने
ढुङ्गाका पाइला हुन् टललल हिम झैँ टल्किई ताप तोड्ने ।
**

ढुङ्गाका पाइला हुन् युग युग रहने चिह्न प्राचीनताका
ढुङ्गाका पाइला हुन् मगमग उड़ने बासना वाटिकाका
ढुङ्गाका पाइला हुन् तिमिर हरिलिने सूर्य झैँ संहिताका
ढुङ्गाका पाइला हुन् शरद छरिदिने चन्द्रिका चन्द्रमाका ।
**
- अन्तर्राष्ट्रिय छन्दकवि सम्मेलनको पहिलो शृङ्खलामा वाचन गरिएको कविता-

प्रकाशित मिति: : 2020-05-30 17:49:00

प्रतिकृया दिनुहोस्