गण्डकीको नीति कार्यक्रममा कृषि : एक पालिका एक उत्पादन

गण्डकी प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषितर्फ ‘एक पालिका एक उत्पादन’ कार्यक्रममा जोड दिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले सभामा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि नीति तथा गुरुयोजना तर्जुमा गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य उत्पादनमा आत्मनिर्भर बन्न उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाईं विस्तार गर्ने उल्लेख छ ।

नमूना कृषि गाउँ कार्यक्रम प्रभावकारी बनाउने, कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, एक सहकारी एक उत्पादन, खेतीयोग्य जमीनमा वर्षभरि नै सिँचाइ सुविधा, पशु रोग नियन्त्रणका लागि खोप बैंक, प्रदेश र स्थानीय तहको सहकार्यमा खाद्य बैंक स्थापना तथा जमीन चक्लाबन्दी कार्यक्रम सरकारको प्राथमिकतामा परेका छन् ।

एक पालिका एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका ८५ वटै स्थानीय तहमा एक/एक नमूना कृषि उत्पादनका लागि विभिन्न बाली, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गर्ने सरकारको योजना छ । (रासस)

प्रकाशित मिति: : 2020-06-01 08:39:02

प्रतिकृया दिनुहोस्